२०७६ आश्विन ६ गते

लघुवित्त क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा : कारण र समाधानका उपायहरु

श्रीराम पोखरेल । नेपालको क्षेत्रफल र भौगोलिक अवस्था हेर्दा लघुवित्त वित्तीय संस्थाहरुको सख्या धेरै भएको छ । यसकारण अस्वस्थ प्रतिष्पर्धा बढिरहेको महशूस हुन थालेको छ । लघुवित्तको संख्या एक सयको हाराहारीमा छ भने अझै थपिने क्रममा रहेको सुनिन्छ । एकातिर संस्थाहरु धेरै भए भनिरहेको राष्ट्र बैंकले अर्कातिर लाइसेन्स वितरण गरिरहेको छ । पछिल्लो ४ बर्षलाई फर्केर हेर्ने हो भने औषतमा बार्षिक करीब १५ वटा संस्थाहरु थपिएका छन् । गर्भाधारण नहुँदै गर्भपतन गर्न प्रोत्साहन गर्नु वा बाल विवाह गर्न प्रोत्साहन गर्नु भन्दा समयमा नै परिवार नियोजन गर्नु उचित हुन्छ । केन्द्रीय बैंकले पनि सन्तान जन्मिई सकेपछि पालन पोषण र उचित प्रवन्ध गर्न सक्नुपर्दछ ।

प्रतिष्पर्धा जुनसुकै बजारमा पनि आवश्यक हुन्छ । तर, असन्तुलित एवम् अस्वस्थ प्रतिष्पर्धाले समग्र क्षेत्रलाई नै धराशायी बनाउँछ । जहाँ आपूर्तिको क्षेत्र एकैचोटी बढ्छ त्यहाँ बजारीकरण गर्नका लागि अनेकौँ उपायहरु खोजिन्छ । यो स्वभाविक हो । वर्तमान अवस्थामा नेपालका ७७ वटै जिल्लाहरुमा लघुवित्तहरुले शाखा सञ्जाल विस्तार गरिसकेका छन् । अहिले कारोबार गरिरहेका संस्थाहरु अब नयाँ सम्भावित स्थानको खोजीमा लागेका छन् । पहिले जिल्लालाई लक्षित गर्ने गरिएकोमा अब स्थानीय तहलाई टार्गेट गरेर सेवा विस्तार गर्न थालिएको छ । एकै स्थानमा धेरै लघुवित्तका शाखा हुनुले अस्वस्थ प्रतिष्पर्धा बढाएको छ । वित्तीय पहुँच नपुगेको स्थान राष्ट्र बैंक र स्थानीय निकायले पहिचान गरिदिने हो भने त्यहाँ सेवा विस्तार गर्न लघुवित्तहरु तयार छन् ।

नेपालको वित्तीय क्षेत्रमा बर्षभरी नै तरलता अभावका कारण आएको तरलता संकुचनले गर्दा बैंकहरुको आधार ब्याजदर बढ्न गएको देखिन्छ, । लघुवित्तहरुको मुख्य लगानीको स्रोत नै बैंकहरुबाट प्रवाह हुने विपन्न वर्ग कर्जा हो । लघुवित्तहरुले बंैकबाट लिएको सापटिको ब्याजदर निकै बृद्धि भएको कारण लघुवित्तहरुको कस्ट अफ फण्ड बढ्न गई ब्याजदर कम हुँदा पनि हालसालै स्थापना भएका संस्थाहरु आफू बाँच्नको लागि पनि आक्रामक व्यापार योजनाहरु ल्याउन बाध्य भएका छन् । यसले पनि अस्वस्थ प्रतिष्पर्धालाई बढावा दिएको छ ।

संचालन खर्च र कोषको लागत अनुसार व्याजदर निर्धारण गरिन्छ । लघुवित्त वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रमा गई घरदैलोमा नै वित्तीय सेवा प्रदान गर्ने भएकाले यसको संचालन लागत उच्च हुन जान्छ । त्यस्तै लगानीयोग्य वित्तीय स्रोतको लागि अन्य बैक तथा वित्तीय संस्थाहरुसँग परनिर्भर हुने हुँदा अहिलेको अवस्थामा यसको कोषको लागत पनि बढी देखिन्छ । हालको अवस्थामा बंैक तथा वित्तीय संस्थाहरुले पनि लघुवित्त वित्तीय संस्थाहरुलाई दिने डिएसएल कर्जालाई पनि उच्चतम प्रतिफल दिने ब्यवसायको रुपमा लिएका छन् । कर्जा दिँदा संस्थाको बेस रेटलाई आधार मानी केहि प्रतिशत मात्र प्रिमियम थप गरेर दिने अनि केहि समय नबित्दै ब्याज तिर्न नसक्ने गरि बृद्धि गरिदिने प्रचलन देखिएको छ ।

बैंकहरुले पनि यो कस्तो क्षेत्रमा लगानी गरिएको कर्जा हो भन्ने विषय विश्लेषण नगर्ने र विपन्न वर्गको अर्थ नबुझ्दा लघुवित्तहरु मारमा परेका छन् । अहिले लघुवित्तहरुले प्रदान गर्ने कर्जाको ब्याजदर सरदर १८।१९ प्रतिशत रहेको छ भने बैंकहरुवाट थोक कर्जा लिँदा १३।१४ प्रतिशतसम्म लिनु परेको छ । यस आधारमा लघुवित्तले लिने व्याज महँगो छैन । लघुवित्त संस्थाहरु वित्तीय सेवा प्रदान गर्ने मात्र नभई सदस्यहरुको ब्यावसाय विस्तारको लागि सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, सदस्यहरु बीच समसामयिक विषयमा अन्तरक्रिया, विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु मार्फत सदस्यहरुको संरक्षणमा समेत केन्द्रित हुने भएकाले यी सबै खर्चको हिसाव विश्लेषण गर्ने हो भने लघुवित्तहरुको ब्याजदर सामान्य हो भन्ने लाग्दछ । (जनउत्थान सामुदायिक लघुवित्तका सीईओ पोखरेलसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)