बैंकिङ खबर । बैंकरहरु नै लोभ लालचमा फस्ता बैंकिङ कसुरका घटना अत्याधिक बढ्न थालेका छन् । सीईओ जस्तो गरिमामय र जिम्मेवारीपूर्ण पदमा पुगेको मान्छे समेत सानो लोभका कारण बैंकिङ कसुर जस्तो जघन्य अपराध गर्न पुगेका छन् । कसैले, यो काम गरेवापत अतिरिक्त पैसा दिन्छु भनेपछि कानुन, मापदण्ड र पदीय मर्यादा समेत नाघेर यस्ता अपराधजन्य कार्य गरेका थुप्रै घटनाहरु धमाधम सार्वजनिक भइरहेका छन् ।
नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली धितोमा कर्जा दिएको तथा अति कमजोर खोलाको जग्गा धितोमा पाँच करोड कर्जाका लागि स्वीकृति दिएको अभियोग लगाएको छ । उक्त रकम स्वीकृत भएका बेला श्रेष्ठ सीईओ थिए । यही विषयको थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
बैंकिङ कसुरमा सीईओ पक्राउ परेको यो पहिलो घटना हैन । यसअघि किष्ट बैंकका सीईओ कमल ज्ञवाली कार्यकालकै अवधिमा पक्राउ परेका थिए । तल्कालीन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई भने सीआईबीले पक्राउ गरिसकेको छ । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरेका थिए । उनको मुद्दा उच्च अदालत पाटनमा अझै चलिरहेको छ ।
छोटो समयमा धेरै कमाउने लालचमा साना कर्मचारी त फस्छन् नै, ठूलाठूला पदमा पुगेका व्यक्तिहरु समेत यसबाट अछुतो रहन सकेका छैनन् । घरजग्गा दलालदेखि बैंकर एवम् मन्त्रीहरुसमेत यसमा मुछिन थालेका छन् । हालै मात्र कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा पक्राउ परे । उनी पदबाट पनि बरखास्त भए । अदालतले मन्त्री खत्री सहित अरु ५ जनालाई पक्राउ आदेश दिएको थियो । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको अभियोग लागेको हो । उनी अहिले प्रहरी हिरासतमा छन् ।
काठमाडौँ उपत्यकामा बढी बैंकिङ कसुर
सबैभन्दा बढी बैंकिङ कसुरका घटना काठमाडौँ उपत्यकामा देखिएको छ । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ५६६ विरुद्द बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा ३ र भक्तपुरमा ३ ओटा कार्यालयबाट मुद्दा चल्दै आएको छ । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ । मुलुकभर आर्थिक वर्ष २०७५।०७६ मा २ हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको छ ।
प्रायः बैंकिङ कसुरका घटनामा बैंकका कर्मचारीकै संलग्नता हुने गरेको पाइएको छ । गत वर्ष ऋण दुरुपयोग गरेको आरोपमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान, सञ्चालक बटुकृष्ण कार्की र तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्वयम्भू राम जोशी पक्राउ परेका थिए । बैंकिङ कसुरको आरोपमा कृषि विकास बैंकका कर्मचारीहरु पनि केही समयअघि पक्राउ परेका थिए । यस्ता थुप्रै घटना छन्, जसमा बैंकका कर्मचारी मात्रै नभएर संचालक एवम् व्यवस्थापकीय टिमकै संलग्नता पाइएको छ ।
ठूलो पदमा पुगेपछि शक्तिको दुरुपयोग गर्ने र पैसा दिएपछि कानुनबाट पनि बचिन्छ भन्ने मानिसिकताका कारण बैंकिङ कसुरका घटनाहरु बढिरहेका छन् । बैंकिङ कसुरका अभियुक्तहरू धमाधम पक्राउ परे पनि बैंक नै डुबाउने गरी अनियमितता गर्नेहरू भने अझै पक्राउ पर्न सकेका छैनन् । ती अभियुक्त विभिन्न विदेशमा लुकेर बसेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको हो । लुकेर बसेका व्यक्तिले आफू बस्दै आएको मुलुकको कानुनी कागजात बनाइसक्ने भएकाले पनि अभियुक्तलाई पक्राउ गर्न ढिलाइ भइरहेको सीआईबी बताउँछ ।