September 20th, 2019

एससीटी कार्डले ‘कन्ट्याक्ट लेस’ कार्ड भित्राउने, चिनको युनियन पेसँग सहकार्य

बैंकिङ खबर । स्मार्ट च्वाइस टेक्नोलोजि (एससीटी) नयाँ व्यवस्थापनसँगै अत्याधुनिक प्रविधिे ‘कन्ट्याक्ट लेस’ कार्डमा प्रवेश गरेको छ । अब नेपालीले ‘कन्ट्याक्ट लेस’ कार्ड बोक्न पाउने छन् । विदेशमा पनि सजिलोसँग चल्ने सो कार्ड एससीटीले चिनको युनियन पे इन्टरनेशनसँगको सहकार्यमा अघि बढाउने छ । स्मार्ट च्वाइस टेक्नोलोजि (एससीटी) को नयाँ व्यबस्थापन समूहले चिनको युनियन पे इन्टरनेशनसँग सहकार्य सुरु गरि अत्याधुनिक ‘कन्ट्याक्ट लेस’ कार्डको लञ्चिङ गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले प्रविधिको विकाससँगै यसले व्यवसायमा सहजता ल्याउने बताए । उनले नेपाली कार्ड तर अत्याधुनिक कार्ड (एससीटी) प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गर्दै नयाँ प्रविधिमा आधारित यसले धेरै राम्रो बजार ओगट्ने अपेक्षा राखे । प्रविधिको विकाससँगै प्रविधिजन्य जोखिमहरु बढेको भन्दै उनले जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।
एससिटीमा प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बनेको नयाँ समुहले व्यबस्थापनको जिम्मेवारी लिएको छ । जसमा प्रभु समुहसँगै, आइएमइ समुह र हिमालयन बैंकले लगानी गरेका छन्।

कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजि (एससीटी) का अध्यक्ष तथा प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले एससीटी नेपाली कार्ड भएकोले यसलाई अगाडि बढाउन कम्पनीले राष्ट्र बैंकलाई पनि सेयर विक्रि गर्ने जानकारी गराए । उनले कम्पनी आम नागरिकको बनाउन सर्वसाधारणलाई समेत सेयर बेच्ने योजनामा रहेको उल्लेख गरे । स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) ले सर्वसाधारणलाई पनि शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर बाँडेर चुक्ता पूँजी बढाउने र त्यसपछि सर्वसाधारणलाई शेयर दिने योजना उक्त कम्पनीको छ।
कम्पनीले चीनको युनियन पेसँग सहकार्य सुरु गरेको छ । नेपालमा पहिलोपटक कार्ड भित्र्याउने कम्पनीका रुपमा परिचित एससिटीले १६ बर्षदेखि कार्ड सेवा संचालन गरीरहेको छ । एससिटीमा नयाँ व्यबस्थापन आएसँगै यो कार्ड नेपालको सर्बाधिक विक्रि हुने कार्डका रुपमा अग्रसर हुने अपेक्षा गरिएको छ ।

युनियन पेसँगको सहकार्यसँगै अघि बढेको एससिटीले अब कन्ट्याक्ट लेस कार्डहरु जारी गर्ने छ। कन्ट्याक्ट लेसु कार्ड चिप कार्ड भन्दा धेरै सुरक्षित र आधुनिक भएको बताइएको छ । अब एससिटीले प्रभुपे र आइएमइपे कार्ड पनि नयाँ टेक्नोलोजीमा भित्राउने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]