September 19th, 2019

मर्जरपछि नाम निशाना मेटिएका नेपालका नामी बैंकहरु

बैंकिङ खबर । मर्जर तथा एक्विजिसन नीतिको प्रभाव सबैभन्दा धेरै विकास बैंकमा परेको छ । फाइनान्सहरु पनि धेरै संख्यामा घटेका छन् भने वाणिज्य बैंकको संख्यामा खासै फरक आउन सकेको छैन । विकास बैंकको संख्या ८६ बाट २९ मा झरेको छ भने अझै झर्ने क्रममा छ । वाणिज्य बैंकको संख्या २९बाट २८ भएको छ ।

पुँजीवृद्धिको नीतिपछि वाणिज्य बैंकहरुमध्ये, लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेका थिए । पछि नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू नै राखियो र लुम्बिनी बैंकको नाम निशाना मेटिन पुग्यो ।

वाणिज्य बैंकमा खासै प्रभाव नपरेपनि थुप्रै विकास बैंकहरु विलय हुन पुगेका छन् । राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् ।

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा विलय यो भने एनआईडीसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा मिसियो । ग्लोबल आईएमई बैंकमा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंक मिसिए । नेपाल इन्भेष्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंकको विलय भयो । जनता बैंकमा राष्ट्रिय स्तरकै त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिए । कुमारी बैंकमा राष्ट्रिय स्तरको काष्टमण्डप डेभलपमेन्ट बैंक गाभियो । लक्ष्मी बैंकमा राष्ट्रिय स्तरको प्रोफेशनल दियालो विकास बैंक विलये भयो ।

भिबोर सोसाईटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एकआपसमा गाभिएर लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेपछि भिबोर र सोसाइटी मिलेर बनेको भिबोर सोसाइटीको नाम निशाना मेटियो । यता, राष्ट्रिय स्तरको फेवा विकास बैंक क्षेत्रीय स्तरको गण्डकी विकास बैंकसँग मर्ज भयो, जसबाट फेवाको नाम विलय भई नयाँ बैंकको नाम गण्डकी विकास बैंक राखियो । राष्ट्रिय स्तरकै दुई विकास बैंकहरु महालक्ष्मी र यती एकआपसमा गाभिएर महालक्ष्मी विकास बैंक बनेपछि यति डेभलपमेन्ट बैंकको नाम निशाना हरायो ।

विलयको क्रम अझै जारी
राष्ट्र बैंकले ल्याएको बीग मर्जरको नीतिका कारण अब विकास बैंक मात्र नभएर वाणिज्य बैंकको संख्यामा पनि कटौति भई १४।१५ मा झर्ने छ । कमजोर बैंकहरुलाई सबल बैंकमा मर्जर गराउनका लागि राष्ट्र बैंकले कमजोर बैंकहरुकाृ लिष्ट तयार गरिसकेको अवस्था छ । यसबाट आधाभन्दा बढी वाणिज्य बैंकहरुको नाम निशाना मेटिने देखिन्छ । २८ वटा वाणिज्य बैंकमध्ये जनता बैंक र ग्लोबल आईएमई बैंकले एकाआपसमा गाभिने प्रक्रिया अघि बढाइसकेका छन् ।

त्यस्तै, अहिले राष्ट्रिय स्तरका ११ वटा बैंक मात्रै संचालनमा छन् । मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, ओम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंक हुन् । यसमध्ये, कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिँदैछ भने ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा गाभिन लागेको छ ।
क्षेत्रीय स्तरका बैंकहरुको संख्यामा सबैभन्दा धेरै कटौति हुन पुग्यो । अब झन् संघीयताअनुसार, प्रदेश स्तरका स्तरोन्नति हुनुपर्ने भएपछि थुप्रै साना बैंकहरु विलयको संघारमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]