Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बुढेसकालका बैंकर्स : जीवनभरी जागीर गर्ने रहर

२०७६ भाद्र १७ गते

बैंकिङ खबर । केही समयअघि नेपाल राष्ट्र बैंकले बैंक संचालक र सीईओको उमेरहद तोकेपछि बैंकिङ क्षेत्रमा ठूलो हलचल पैदा भयो । राष्ट्र बैंकले संचालकका लागि ७० वर्ष र सीईओका लागि ६५ वर्ष उमेर हद तोकेको थियो । उक्त निर्देशन लागू भएको भए नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ तत्काल पदमुक्त हुने थिए । प्राइम बैंकका सीईओ नारायणदास मानन्धरको जागीर पनि जाने अवस्थामा थियो । तर, मानन्धरले राष्ट्र बैंकको निर्देशन नमानी निर्णयमाथि नै सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले तत्कालका लागि उमेर हदको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिएपछि केही समयका लागि उमेर नाघेका बैंकरहरुको जागीर बचेको छ ।

यद्यपि, वाफिया कार्यान्वयनमा आएसँगै उमेरहदको व्यवस्था लागू हुनेछ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेको वाफियामा संचालक र सीईओको उमेरहद सम्बन्धी व्यवस्था रहेको छ । त्यसैले, तत्कालका लागि सर्वोच्चका कारण जोगिएको संचालक र सीईओको जागीर वाफिया कार्यान्वयनमा आएसँगै जानेछ । सर्बोच्चले अन्तरिम आदेशमा बैंक तथा वित्तीय संस्थाको सीइओ पदमा उमेर हद तोक्नु संविधान विपरित भएको तथा राष्ट्र बैंकलाई कानून बनाएर मात्र उमेर हद तोक्न सक्ने अधिकार दिएपछि अब वाफियामार्फत नै उमेद हदसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने राष्ट्र बैंकको तयारी छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया)मा बैंकरको उमेर हदका साथमा शैक्षिक योग्यता समेत तोकिएको छ ।

बैंकरहरु उमेर हदसम्बन्धी व्यवस्थाको विरुद्धमा लागेपनि राष्ट्र बैंक आफ्नो अडानमा छ । गभर्नर डा. चिरंजीबि नेपाल विश्वव्यापी मान्यताको आधारमा उमेर हद तोकेको बताउँछन् । वाणिज्य बैंकमा ९४ वर्षको अध्यक्ष र ८० वर्षको सीईओ कुनै पनि देशमा नहुने उनको भनाई छ । बुढो मान्छेले बैंक चलाउन नसक्ने भएकाले उमेर हद तोकेको उनी बताउँछन् ।सरकारी सेवामा ६० बर्ष उमेर हद तोकीएको उल्लेख गर्दै उनले जनताको पैसाको संरक्षण गर्ने बैंक जस्तो ठाउँमा ६५ बर्ष उमेर हद तोकिनु गतल नहुने दाबी गरेका छन् ।

Ad