August 18th, 2019

३२ मेगावाटको जलविद्युत् आयोजनाबाट इन्फ्रास्ट्रक्चर बैंकले सुरु गर्यो लगानी

बैंकिङ खबर । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात गरेको छ । कास्की जिल्लाको माछापूच्छ्रे र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट बैंकले आफ्नो लगानी सुरु गरेको हो ।

बैंकले सुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सह अगुवाई र सानीमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनामा लगानी गरेको छ । कुल परियोजना लागत पाँच अर्ब ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी चार अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह हुनेछ ।

देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]