July 17th, 2019

राष्ट्र बैंकको ग्रामिण स्वाबलम्बन कोष साना किसान लघुवित्तलाई हस्तान्तरण

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामिण स्वावलम्बन कोष काठमाडौंको तिनकुनेस्थित साना किसान लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेको छ । यससँगै राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग ग्रामिण स्वावलम्बन कोषको नामबाट राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता साना किसान लघुवित्तको नामबाट सञ्चालन हुने भएको छ । कोषबाट प्रवाह भएको कर्जाको शर्त, सुविधा, सहुलियत, भुक्तानी भाखा र अन्य ब्यवस्थाहरु कोष नियमावली अनुसार नै हुनेछ ।

सहकारी तथा गैरसरकारी संस्थाहरु मार्फत ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्न वर्गका जनतालाई आय एवं स्वरोजगारमूलक कर्जा कार्यक्रममा सहयोग पुर्याउनका लागि २०४७ फागुन १७ गते मन्त्रीपरिषद्को निर्णयबाट कोष स्थापना गरिएको थियो । कोषबाट सरकार, नेपाल राष्ट्र बैंकलगायत अन्य दातृ राष्ट्र वा संस्थाहरुबाट प्राप्त बीज पूँजी एवं रकमको परिचालन हुँदै आएको थियो । दीर्घकालीन पूँजीको आवश्यकता पर्ने व्यवसायहरु चिया, अलैंची, कोल्डस्टोर आदिमा लगानी गर्न कृषि विकास बैंक र विपन्न वर्गमा कर्जा प्रवाह गर्नका लागि लघुवित्त सम्बन्धी कार्यहरु गर्ने ‘घ’ वर्गका इजाजतपत्र प्राप्त वित्तीय संस्थालाई थोक कर्जा उपलब्ध गराउने उद्देश्यले कोषको स्थापना गरिएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषबाट गैरसरकारी संस्था, सहकारी संस्था र कृषि विकास बैंक गरी कुल १२ सय १७ संस्थालाई २ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह भएको छ । कोषबाट ७२ जिल्लाका ६२ हजार ७४४ जना घरपरिवार लाभान्वित छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]