Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गड्डीमा कम नोट राखेको घटनामा छानबिन गर्न राष्ट्र बैंकको निर्देशन

२०७३ जेष्ठ २१ गते

nepal rastra bankभुक्तानी लिँदा बैंकले बनाएको एक लाखको प्याकेट (गड्डी)मा कम नोट प्राप्त भएको भन्ने घटनाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक धनगढीलाई निर्देशन दिइएको छ । राष्ट्रिय वाणिज्य बैंक धनगढी शाखाबाट केही दिनअघि भुक्तानी लिँदा बैंकले बनाएको एक लाखको प्याकेटमा हजार दरका पाँच नोट कम प्राप्त भएको गुनासोसहित स्थानीय सेवाग्राही फूलकुमारी चौधरीले उजुरी दिएपछि सत्यतथ्य छानबिनका लागि बिहीबार उक्त निर्देशन दिइएको राष्ट्र बैंक धनगढीका निमित्त प्रबन्धक डिलाराम सुवेदीले बताए ।

उक्त बैंकबाट कुल २ लाख ५० हजार रुपैँया भुक्तानी लिनुपर्नेमा एक÷एक लाखका दुई प्याकेट र ५० हजार रुपैँयाको एकसहित तीन प्याकेट भुक्तानी लिइएकोमा एक लाख रुपैँयाको एक प्याकेटमा हजार दरका पाँच नोट कम निस्केकाले आफू मर्कामा परेको चौधरीद्वारा दिइएको उजुरीमा उल्लेख छ । भुक्तानी दिँदा नोटको प्याकेटमा आफ्नो बैंकको छाप, भुक्तानीको मिति र भुक्तानी दिने कर्मचारीको दस्तखत हुनुपर्नेमा चौधरीले भुक्तानी लिएको नोटको प्याकेटमा यस्तो नदेखिएकाले बैंकबाट लापरबाही भएको पाइएको सुवेदीले बताए ।

यसै बीच नेपाल राष्ट्र बैंकले गएको बैशाख महिनादेखि सफा नोट प्रचलनमा ल्याउने बारेमा बनाईएको नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो ‘स्लीप‘ लगाएर पठाउनु पर्ने, अयोग्य नोटको प्याकेटमा रातो रङ्गको ‘स्लीप‘ लगाएर बजारमा नपठाई नष्ट गर्नु पर्ने, नोटको प्याकेटमा अहिलेसम्म ‘स्टिज‘ लगाउने गरिएकोमा अब देखि ‘स्टिज‘ लगाउन नपाइने नयाँ नीति बनेको निमित्त प्रबन्धक सुवेदीले जानकारी दिए । रासस