June 2nd, 2016

यस्ता छन्, सुनचाँदी धितोमा बैँकिङ लगानी घट्नुका कारणहरु

goldसुनचाँदी धितोमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैँकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ को चैतसम्ममा सुनचाँदी धितोमा बैँक तथा वित्तीय संस्थाको २९ अर्ब ६४ करोड रुपैँया लगानी भएको छ । गत आवको सोही अवधिमा यस्तो लगानी ३१ अर्ब ३२ करोड रुपैँया थियो । 

बजारभाउको आधारमा धितो मूल्यांकन गरी ७० प्रतिशतसम्म कर्जा दिने बैँकहरुले सुनको भाउ घट्दै गएपछि लगानी घटाएका हुन् । गत वर्ष प्रतितोला ६० हजार रुपैँयाको हाराहारीमा रहेको सुनको भाउ लामो समयदेखि ५४ हजार रुपैँयाको हाराहारीमा छ । दुई महिनाअघि सुनको भाउ ५० हजार रुपैँयाभन्दा तल झरेको थियो । एक वर्षमा यो साढे ५ प्रतिशतको गिरावट हो । सुनको मूल्य घट्दा धेरै जोखिम भएकाले बैँकले लगानी घटाएको हो । 

बैँकहरुले ग्राहकले सुन ल्याएको समयको बजार मूल्यका आधारमा मूल्यांकन गरी लगानी गर्ने गर्छन् । उनीहरुले ग्राहकको अन्य आयस्रोत हेरेर मुल्यांकनको ५०–७० प्रतिशत कर्जा दिने गरेका छन् । सर्वसाधारणमा बचतका रुपमा सुन किन्ने र आफूलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ । ऋण लिने प्रक्रिष छिटो र सरल हुनुका साथै व्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो हुने भएकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणमा लोकप्रिय भएको हो । सुनचाँदी व्यवसायीले ३६ प्रतिशतसम्म व्याज लिने गरेका छन् भने बैँकहरुले १० देखि १३ प्रतिशत व्याजदरमा लगानी गर्दै आएका छन् ।

सुन वा चाँदीको धितोमा कर्जा दिंदा शुद्दता अनिवार्य परीक्षण गर्नुपर्ने र एकै थैलीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । शुद्धता परीक्षण नगरी सुन चाँदी धितोमा कर्जा दिएमा शत प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सुनको नाममा पित्तल धितो राखेर कर्जा लिने र ऋणी फरार हुने घटना भएपछि नेपाल राष्ट्र बैँकलेसुनचाँदी कर्जा दिने बैंकले अनिवार्य जाँचकी राख्नुपर्ने व्यवस्था गरेको थियो ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]