Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२० अर्बको पूर्वाधार विकास बैंक संचालनमा आउँदै, के काम गर्छ बैंकले ?

२०७५ माघ ८ गते

बैंकिङ खबर। २० अर्ब चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकले संचालनको अनुमति माग गरेको छ। नेपालमा पहिलो पटक स्थापना भएको यो पूर्वाधार विकास बैंकलाई अनुमति दिनेसम्बन्धी कार्यविधि राष्ट्र बैंकले करिब तयार पारिसकेको छ। 

राष्ट्र बैंकले कार्यविधि बनाएपछि बैंकले संचालनको अनुमति पाउने छ। हालै पूर्वाधार विकास बैंकमा नयाँ अध्यक्ष चयन भएका छन्। बिमल कोइरालालाई अध्यक्षबाट अटाएर संचालक समितिले नयाँ अध्यक्षमा अनुज अग्रवाललाई छनौट गरेको छ।

सुरुआतदेखि नै बैंकले राजनीतिक दवाव झेलेको छ। राजनीतिक दवावकैबीच बैंक संचालन हुन नपाउँदै कोइरालालाई हटाएर अग्रवाललाई नयाँ अध्यक्षमा नियुक्त गरिएको छ। 

 बैंकले मंसिरमा अनिल ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ। सार्वजनिक- निजी-साझेदारी मोडलमा २०७४ मा स्थापना भएको बैंकले २०७५ जेठमा अनुमति माग गर्दै नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो। राष्ट्र बैंकले गएको भदौमा बैंकलाई सैद्धान्तिक सहमति दिएको थियो।

२० अर्ब चुक्ता पुँजी बैंकमा सरकारले १० प्रतिशत शेयर हालेको छ। निजी क्षेत्रले ५० प्रतिशत सेयर हालेको छ भने बाँकी ४० प्रतिशत सेयर बैंक खुलेपछि सर्वसाधारण तथा विदेशी कम्पनीहरुले पाउने छन्। 
 

के काम गर्छ बैंकले ?
धेरैलाई लाग्न सक्छ कि बैंकले सर्वसाधारणको निक्षेप संकलन गर्ने, ऋण दिने लगायतका काम गर्छ। यो बैंक निक्षेप संकलन तथा ऋण दिनका लागि होइन। विकासका आयोजनाहरुका लागि रकम जुटाउने सो रकमको सही रुपमा परिचालन गर्नका लागि खोलिएको बैंक हो। 

बैंकले देशको पूर्वाधार विकाससम्बन्धी परियोजनामा ऋण लगानी गर्ने, सञ्चालन गर्ने, कम्पनीको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालनको प्रतितपत्र खोल्ने तथा जमानत पत्र जारी गर्ने काम गर्छ। 

त्यस्तै  राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ कारोबारलगायतका काम गर्ने प्रस्ताव गरिएको छ।

Ad