बैंकिङ खबर । यस आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढाएका बैंकहरु त्यसपछिका महिनामा भने संयम देखिएका छन्।
कात्तिक, मंसिर र पुसको मध्यसम्म बैंकहरुमा थपिएको निक्षेपभन्दा कर्जा प्रवाह कम देखिएको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार कात्तिक महिनामा कुल ४३ अर्ब निक्षेप थपिँदा ३७ अर्ब कर्जा प्रवाह भएको छ।
त्यस्तै मंसिरमा ५४ अर्ब निक्षेप थपिएकोमा ३१ अर्ब कर्जा प्रवाह भएको छ। यस महिनामा स्थानीय तहको रकम बैंकहरुमा थपिँदा निक्षेपमा उल्लेख्य वृद्धि देखिएको हो।
त्यस्तै पुस १३ गतेसम्म बैंकहरुमा १२ अर्ब निक्षेप थपिएको छ भने १२ अर्ब रुपैयाँ नै कर्जा प्रवाह भएको छ। साउनमा १५ अर्ब निक्षेप घट्दा ४ अर्ब कर्जा प्रवाह भएको थियो भने भदौमा ४७ अर्ब थपिँदा ५९ अर्ब ऋण प्रवाह भएको थियो। असोजमा २१ अर्ब थपिँदा ७२ अर्ब कर्जा प्रवाह भएको थियो।
(चार्टमा हेर्नुहोस् वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहको स्थिति )
गत आर्थिक वर्षदेखि पेन्डिङ मा रहेका ऋण प्रस्तावहरु भदौ र असोज महिनामा छिनोफानो गर्दा सो अवधिमा ऋण प्रवाह उच्च देखिएको हो।
पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाहमा संयम हुन आग्रह गर्नु र कर्जाका लागि आउने प्रस्ताव समेत घट्दा बैंकहरुको ऋण विस्तारमा कमी देखिएको हो।
भदौ र असोजमा बढेको उच्च कर्जा प्रवाहले केही बैंकको सिसिडी रेसियो समेत सीमाबाहिर पुगेको थियो। मुद्रा तथा पुँजी बजार समस्या समाधान समितिले तत्कालका लागि सिसिडीमा राहत दिएपछि ति बैंकहरु कारबाहीबाट जोगिएका छन्।
पुस महिनामा निक्षेप टाइट
पुसको पहिलो १३ दिनसम्म बैंहरुमा जम्मा १२ अर्ब निक्षेप थपिएको छ। यस अवधिमा त्यति नै कर्जा प्रवाह भएको छ। पुसको अन्तिममा राजश्व बुझाउनुपर्ने भएकाले यस अवधिमा निक्षेप झनै टाइट हुने बैंकर बताउँछन्।
बैंकिङ प्रणालीबाट राजश्व रकम सरकारी खातामा जाने गर्छ। जसकारण निक्षेप उल्टै घट्न सक्ने छ। उद्योगी व्यवसायीहरुले बैंकबाटै संकलित निक्षेप वा ऋण नै गरेर भए पनि राजश्व बुझाउने हुँदा यस अवधिमा कर्जा प्रवाह निक्षेपको तुलनामा बढ्ने अनुमान छ।
'सरकारी खातामा राजश्व गएको अनुपातमै पुँजीगत खर्च पनि बढ्यो भने त्यो चाँडै नै बैंकिङ प्रणालीमा आउँछ, तर पुँजीगत खर्च त लक्ष्यअनुरुप हुन सकेको छैन' एक बैंकरले भने 'आर्थिक वर्षको अन्तिममा मात्रै खर्च हुने परिपाटीले पनि असन्तुलन देखिएको हो।'