Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लगानीयोग्य रकमको अभावले बैंकहरुको ऋण प्रवाह घट्यो 

२०७५ पुष १ गते

बैंकिङ खबर । लगानीयोग्य रकमको अभाव भएपछि वाणिज्य बैंकहरुबाट प्रवाह हुने ऋण रकममा कमी आएको छ । कात्तिक महिनामा मात्रै ३७ अर्ब ऋण प्रवाह गरेका बैंकहरुले मंसिरको २१ गतेसम्म थप २० अर्ब मात्रै दिन सकेका छन्।

कात्तिक मसान्तदेखि मंसिर तेस्रो सातासम्म बैंकहरुले संकलित निक्षेपभन्दा आधा रकम मात्रै कर्जा प्रवाह गरेका हुन्। सो अवधिमा कुल ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। जवकि २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। कात्तिक महिनामा ४२ अर्ब निक्षेप थपिँदा बैंकहरुले ३७ अर्ब कर्जा प्रवाह गरेका थिए । 

कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल २५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर २१ गतेसम्म यो बढेर २६ खर्ब ७ अर्ब पुगेको छ। 

मंसिर १६ गते स्थानीय तहको खातामा रहेको ३९ अर्ब रुपैयाँ निक्षेपका रुपमा जम्मा भएसँगै निक्षेपमा उच्च वृद्धि देखिएको हो। कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुबाट कुल २२ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर २१ गतेसम्म बढेर २३ खर्ब ३ अर्ब पुगेको छ।

धेरैजसो बैंकहरुको सिसिडी रेसियो उच्च रहेकाले कर्जा प्रवाह गर्न सक्ने क्षमतामा छैनन्। बैंकहरुमा कर्जाका लागि उच्च आवेदन परे पनि लगानीका लागि रकम नहुँदा बैंकहरुले दिन नसकेका हुन् ।

रकम अभाव भएकै कारण बैंकर्स संघले बैंकहरुको विरोध थेग्न नसक्दा व्यक्तिगत मुद्दतीमा समेत सीमा हटाएको छ। जसले गर्दा बैंकहरुबीच धेरै व्याज दिएर निक्षेप तान्ने होडबाजी चलिरहेको छ। 

स्थानीय तहको खाताबाट बैंकको निक्षेपमा सारिएको रकममध्ये झण्डै २० अर्ब रुपैयाँ सरकारी स्वामित्वका बैंकहरु कृषि विकास, नेपाल र राष्ट्रिय वाणिज्यमा मात्रै गएको छ।

ति बैंकहरु सिसिडीका आधारमा पहिलेदेखि नै सहज अवस्थामा छन्। सरकारी बैंकबाट प्रवाह हुने कर्जा न्यून रहने र अन्यलाई सिसिडीको बाध्यताले प्रवाह गर्न सक्ने क्षमता नहुँदा समग्र कर्जा प्रवाह घटेको हो ।