October 22nd, 2018

सेयर नामसारी गर्न पहिलेभन्दा सजिलो : यस्तो छ प्रक्रिया

बैंकिङ खबर । सेयर नामसारी प्रक्रिया पहिलेको भन्दा सजिलो भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीलाई तेस्रो पटक संशोधन गर्दै सेयर नामसारी प्रणालीलाई सहज बनाएको छ । सिडिएससीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र नामसारी सम्बन्धी विनीयमावली तेस्रो संसोधन गर्दै सो विनियमाली असोज २३ गते देखि कार्यान्वयनमा ल्याएको हो ।

जसअनुसार अब सेयर लगानीकर्ताले घरयासी र मृत्यु नामसारीका लागि आफूले हितग्राही खाता खोलेको लाइसेन्सप्राप्त निक्षेप सदस्य (डीपी) बाटै आवश्यक प्रक्रिया पूरा गरेर नामसारी सेवा लिन सक्नेछन् ।  यसअघि सेयरधनीले एकाघर परिवारको सेयर नामसारीका लागि नेपाल स्टक एक्सचेञ्जको कार्यालय धाउनुपर्ने बाध्यता थियो । घरयासी सेयर नामसारीका लागि नासमारीमा संलग्न हुने व्यक्तिहरु स्वंयम नेप्सेको कार्यलयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो ।

यस्तो छ सेयर नामसारी प्रक्रिया
घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्युपछि एकाघरको परिवारमा सेयर नामसारि गर्नका लागि हकवालाले धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संसोधन) विनीयमावली २०७५ अनुसारको फारम भरी धितोपत्र नामसारी हुने व्यक्तिको विवरण सहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य आवश्यक पर्ने शूल्क सहित निवेदन दिनुपर्छ । आवश्यक पर्ने कागजात सहित निवेदकले दिएको निवेदन तथा संलग्न कागजात रुजु गरि निक्षेप सदस्य (डिपी) ले सिडिएससीको प्रणालीमा प्रविष्ट गर्ने गर्दछ । यसरी प्रणालीबाट उपलब्ध हुने विवरण सहित डिपी सदस्यले निवेदन तथा आवश्यक सम्पूर्ण कागजात सहित सिडिएससीमा पेश गर्नुपर्छ ।

अभौतिक सेयरको हस्तान्तरणका लागि धितोपत्र नामसारी गरिदिन चाहेको व्यक्तिको धितोपत्र रहेको खाताको विवरणसहित र भौतिक रुपमा रहेको सेयर हस्तान्तरणका लागि धितोपत्रको प्रमाणपत्र सहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ निवेदन आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ निवेदन दिनुपर्छ । 

तर मृत्यु पश्चात हुने नामसारीको हकमा भने मृत्यु भएको धितोपत्रधनीको नाममा रहेको धितोपत्रको विवरण र आफूले पाउने विवरण सहित निवेदन दिनुपर्ने छ । मृत्यु पश्चात हुने नामसारीका लागि अन्य कसैको हकदाबी गर्नका लागि सिडिएससीको वेभसाइटमा ३५ दिने सूचना प्रकाशित गरेर समय प्रदान गर्नुपर्ने छ ।  यसपछि मात्र हक हस्तारण गर्नुपर्ने संशोधित विनियमावलीमा उल्लेख छ । यसरी निक्षेप सदस्यबाट प्राप्त हुने निवेदन र कागजातको आवश्यक जाँचबुझ गरि उपयुक्त देखिएमा सिडिएससीले हक हस्तान्तरण गर्दछ ।

हक हस्तान्तरण गर्दा भौतिक रुपमा धितोपत्र रहेको भए हस्तान्तरण हुने सेयर अभौतिक रुपमा निवेदकको खातामा जम्मा गरिदिन सूचीकृत संस्था र सो संस्थाको सेयर रजिष्ट्रारको निवेदन दिनुपर्ने व्यवस्था छ । 

आवश्यक कागजातहरु
घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्युपछि एकाघरको परिवारमा सेयर नामसारि गर्नका लागि नामसारी लिने वा दिने दुवैले नागरिकताको प्रतिलिपि, नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि तथा मञ्जुरीनामा आवश्यक पर्छ ।
मृत्यु पश्चात हुने धितोपत्र नामसारीका लागि भने मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि तथा हकवालाको नागरिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र तथा उल्लेखित सम्पूर्ण हकवालाको नागरिकताको २।२ प्रति प्रतिलिपि चाहिन्छ ।

कति लाग्छ दस्तुर ?
हस्तान्तरण गर्न चाहने व्यक्तिले निवेदन दिने निक्षेप सदस्यलाई आवश्यक दस्तुर बुझाउनुपर्छ । घरयासी वा अंशबण्डाबाट गरिने हक हस्तान्तरणको लागि धितोपत्रको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम दुई सय रुपैयाँ शूल्क तिर्नुपर्छ ।

धितोपत्र धनीको मृत्यु भएपछि हकवालामा पर्ने धितोपत्रको हक हस्तान्तरणका लागि धितोपत्र चुक्ता रकमका आधारमा निक्षेप सदस्यले लिने शूल्क निर्धारण गरिएको छ । जसअनुसार एक लाख रुपैयाँसम्मको धितोपत्र हस्तान्तरण गर्नका लागि न्यूनतम २५ रुपैयाँ वा एक लाखको ०.५ प्रतिशतले हुने अधिकतम ५०० रुपैयाँसम्म बुझाउनुपर्छ । 

त्यस्तै एक लाखदेखि पाँच लाखसम्म न्यूनतम ५०० रुपैयाँ वा ०.२ प्रतिशतका आधारले अधिकतम एक हजार रुपैयाँसम्म दस्तुर तिनुपर्ने व्यवस्था छ । चुक्ता रकम पाँच लाख भन्दा माथि १० लाख रुपैयाँसम्म रहेको धितोपत्रको हक हस्तान्तरणका लागि न्यूनतम एक हजार रुपैयाँ वा चुक्ता रकमको ०.१५ प्रतिशतले हुन आउने अधिकतम १५०० रुपैयाँसम्म शूल्क लाग्छ ।

चुक्ता रकम १० लाख भन्दा माथिको मृत्यु नामसारी गर्नका लागि न्यूनतम एक हजार ५०० वा चुक्ता रकम अनुसारको ०.१ प्रतिशतले हुन आउने बराबरको रकम हक हस्तान्तरण शूल्क वापत निक्षेप सदस्यलाई बुझाएर नामसारी गर्न सक्दछन् ।

निक्षेप सदस्यले लिने हक हस्तान्तरण शूल्कको ६० प्रतिशतले हुने रकम सिडिएससीलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]