September 23rd, 2018

‘बीमा क्षेत्रमा सुशासनलाई मजबुद बनाउँदै छौँ’

चिरञ्जिवी चापागाईँ । हाम्रो भौतिक जीवनमा वा सम्पत्तिका भएको जोखिम अनिश्चित हुन्छ । यस्ता जोखिमबाट हुन सक्ने आर्थिक क्षतिलाई हस्तान्तरण गर्ने कार्य बीमा हो । बचत परिचालनको एउटा अभिन्न अंग पनि हो बीमा । बीमा जीवन र निर्जिवन गरी दुई प्रकारका हुन्छन् ।

जीवन बीमा
जीवन बीमा एउटा निश्चित समयका लागि गरिन्छ । उक्त निर्धारित समयभित्र बीमा गरेको व्यक्तिलाई क्षति भयो भने त्यो क्षतिवापतको रकम बिमित वा उसको परिवारलाई बीमा गरिएको बीमा कम्पनीले उपलब्ध गराउँछ । यसका लागि आफ्नो आम्दानीको केही अंश बीमा कम्पनीलाई प्रिमियमको रुपमा बुझाउनुपर्छ । नेपालमा अहिले बच्चाहरु बीमा गर्ने प्रचलन धेरै रहेको पाइन्छ । यो प्रक्रिया बढ्र्द गइरहेको छ, जुन एक सकारात्मक पाटो हो । यद्यपि, जीवन बीमा गर्दा आम्दानीकर्तालाई प्राथमिकतामा राख्नुपर्छ । 

निर्जिवन बीमा
मानिस आफैँलाई मात्रै नभएर हाम्रा भौतिक सम्पत्तिमाथि पनि जोखिम आइपर्छन् । जस्तै, हिमाली तथा पहाडी क्षेत्रमा पहिरो, आगलागी र भुकम्पको जोखिम अत्याधिक रहन्छ । तराईमा विशेषगरी आँधी तथा बाढीको जोखिम रहन्छ । यसबाट घर, बाली, पशुधन लगायतको क्षति हुन सक्छ । तर, हामीले यी कुराहरु बीमा गरेका छौँ भने प्राकृतिक प्रकोपबाट हुने क्षतिवापतको रकम बीमा गरिएको कम्पनीबाट पाउँछौँ । 

बीमाको आवश्यकता र महत्व
नेपालमा पछि आउने सम्भावित जोखिमका लागि फोकटमा पैसा किन दिने भन्ने मानसिकता अधिकांशको रहेको छ । यसरी तिरेको पैसा बीमा कम्पनीले खाइदिन्छ भन्ने अविश्वासको वातावरण समेत रहेको पाइन्छ । बीमाको सुरुवात सामुद्रिक बीमाबाट भएको थियो । त्यसपछि जर्मनीमा सेनाको भर्ती गर्ने क्रममा एउटा बास्केट फण्ड बनाएर पैसा राख्न लगाइयो । पछि त्यो बास्केट फण्डमा पैसा राखेका सदस्य सैनिकहरुको उपचारको लागि प्रयोग गरियो । यसरी, धेरै जना मिलेर थोरै थोरै पैसा जम्मा गर्यो भने आवश्यक पर्दा प्रयोग गर्न सकिन्छ भन्ने कुराको महशूस गरि बीमाको विकास गरिएको हो । त्यसैले, बचत हुने २० रुपैयाँमध्ये १५ रुपैयाँ बैंकमा राखेर पाँच रुपैयाँको बीमा गर्नुहोस् । सानो अंशको बचतले भोली गएर हामीलाई ठूलो जोखिम परेको बेलामा राहत दिन्छ । कृषि बीमामा झन् सरकारले प्रिमियमको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । यसबाट फाइदा उठाउनुहोस् ।  

दाबी र भुक्तानी
कतिपय बिमितहरुले बीमा गराउने तर दाबी भुक्तानी दिने बेला बीमा कम्पनीहरुले झुलाउने गरेको गुनासो पोख्ने गरेका छन् । यसका लागि हामीले दाबी प्रक्रियाको लागि चाहिने कागजात र प्रक्रिया क्रमगत रुपमा बिमितलाई बुझाइदिनुहोस् र यदि नीतिअनुसार प्रक्रिया पूरा भएको छ भने तत्काल भुक्तानी दिनुहोस् भनेर बीमा कम्पनीका सीईआका साथै शाखा प्रबन्धकहरुलाई समेत निर्देशन दिएका छौँ । कतिपय ठाउँमा काल्पनिक घटना घटाएर बीमा रकमको दाबी गरेको समेत पाइएका कारण अनुसन्धान नगरी दाबी भुक्तानी दिइँदैन । आगामी दिनहरुमा दाबी प्रक्रिया समयमा नै हुने अपेक्षा गरिएको छ । 

नियामक निकाय : बीमा समिति
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति हो । समितिले बीमा कम्पनीहरुको लाइसेन्सिङ, नियमन, सुपरीवेक्षण र दाबीको सेटलमेन्ट गर्ने जिल्ला अदालतको अंगको रुपमा समेत काम गर्छ । त्यसैले, कम्पनीबाट दाबी परिसकेपछि पहिले उक्त दाबी बीमा सिद्धान्तभित्र भए नभएको हेरेर मात्रै दाबी भुक्तानी गरिन्छ । सिद्धान्तभित्र छैन भने निरुत्साहित गर्छौँ । आवश्यक परेमा अदालतको सरह फैसला गर्छौँ । उक्त फैसलाले चित्त नबुझेमा बिमितले उच्च अदालतमा जान पाउने व्यवस्था छ ।

अभिकर्ताको भूमिका
हामीले संसारको परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ । पहिले पहिले बीमा कम्पनीको वितरण प्रणाली अभिकर्तामुखी थियो भने अहिले बैंकहरुले बीमा पोलिसी बेचिरहेका छन् । अब त बीमा डिजिटल डिस्ट्रीब्युसनको जमाना समेत आइसकेको छ । त्यसैले, हामी पनि जसरी हुन्छ थोरै लागतबाट धेरैभन्दा धेरै जनतालाई सुविधा दिनेतर्फ लाग्नुपर्छ । अहिले पूर्ण रुपमा बैंकास्योरेन्स भइसकेको छैन । अहिले बीमा अभिकर्ताहरुकै कारण बीमा पहुँच एक वर्षमा नै सात प्रतिशतबाट बढेर ११ प्रतिशत पुग्न सफल भएको छ । जापान लगायतका केही विकसित देशहरुमा शतप्रतिशत मानिसको बीमा गरिएको हुन्छ । नेपालमा यो अवस्था छैन । आगामी दिनमा सरकारको गाउँगाउँसम्म बीमाको पहुँच पुर्याउने योजनालाई शाखा विस्तार, बैंकास्योरेन्स लगायत ग्रामीण भेगसम्म बीमा पहुँच पुर्याउने कुरामा स्थानीय निकायसँग सहकार्य गरेर अगाडी बढिरहेका छौँ । 

सुशासन
सुशासन सबैले मान्नुपर्ने कुरा हो । यसको कमीले ठूला कम्पनीहरु पनि फेल हुन्छन् । कुनै समयमा  सेयरमूल्य उच्च भएको नेपाल बंगलादेश बैंकमा सुशासनको अवस्था कमजोर हुँदा समस्यामा परेको थियो । अहिले राम्रो भएर आएको छ । त्यसैले हामीलाई बीमा क्षेत्रमा सुशासनलाई मजबुद बनाउँदै छौँ । प्रत्येक बीमा कम्पनीमा प्रत्येक वर्ष निरीक्षण गर्ने गरेका छौँ ।

दक्ष जनशक्ति
बीमा क्षेत्रमा दक्ष जनशक्ति छैन । प्रतिष्पर्धी जनशक्ति कि त सरकारी जागीरमा जान्छन् कि त बैंकमा । बीमा कम्पनीमा आउँदैनन् । ४।५ वटा बीमा कम्पनीमा लागि सीईओ समेत नपाएको अवस्था छ । यसलाई मध्येनजर गर्दै बीमा कम्पनीहरु र बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम केन्द्रको आयोजना गरिएको छ । यसले जनशक्तिको आवश्यकता परिपूर्ति गर्नेछ ।

अस्वस्थ प्रतिष्पर्धा
नेपालको सीमाक्षेत्रमा नेपालीहरु धमधम भारतीय बीमा कम्पनीमा बीमा गराइरहेका छन् । अब हामीले हाम्रै देशका बीमा कम्पनीमा बीमा गर्ने वातावरण बनाउनुपर्छ । अस्वस्थ प्रतिष्पर्धालाई अन्त्य गर्नुपर्छ । (बीमा समितिका अध्यक्ष चापागाईँद्धारा मिडिया इन्टरनेशनलद्धारा आयोजित एक कार्यक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]