वित्तीय साक्षरता अभिवृद्धि र बैंकिङ पहुँच विस्तारका टिप्सहरु

September 21, 2018

नरबहादुर थापा । वित्तीय कारोबार गर्दा प्रयोगमा ल्याईने वित्तीय उपकरण र कारोबार गर्दा अबलम्बन गरिने प्रक्रियालाई वित्तीय साक्षरता भनिन्छ । वित्तीय संस्था वा वित्तीय उपकरणमा हिसाबकिताब लगायतका कुराहरु पर्छन् । 

जान्नुपर्ने कुरा
आफूसँग भएको पैसा बैंकमा निक्षेपको रुपमा जम्मा गर्नुपर्दछ । निक्षेप खाता पनि चल्ती, बचत र मुद्दती गरी तीन प्रकारका हुन्छन् । अहिले कल निक्षेप पनि संचालनमा रहेको छ । यसरी कुन खातामा पैसा जम्मा गर्दा के हुन्छ, बैंकमा पैसा राख्दा के फाइदा हुन्छ, कुनकुन प्रयोजनका लागि कुन खाता खोल्नुपर्छ, लगायतका विषयमा पनि जानकार हुन आवश्यक छ । त्यस्तै, व्याजसम्बन्धी कुराहरु पनि थाहा पाइराख्नुपर्छ । 

राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, वैदेशिक बचतपत्रमा नेपाली जनताले लगानी गरेर नेपाल सरकारले निष्कासन गर्छ । विदेशमा काम गर्नेहरुले वैदेशिक बचतपत्र एवम् अरु नेपालीहरुले राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्र खरिद गरिरहेका हुन्छन् । ८।९ प्रतिशत व्याजमा सरकारले यस्तो अफर गरिरहेको हुन्छ । व्याज वार्षिक हुन्छ तर, ६÷६ महिनामा व्याज पाईन्छ । यसरी सबै प्रकारको कारोबारको न्युनतम जानकारी लिनुपर्दछ । बैंक तथा वित्तीय संस्थाहरुले अफर गरेका निक्षेपबाट लाभ लिनको लागि वित्तीय साक्षरताको आवश्यक पर्दछ । 

त्यस्तै, कर्मचारी सञ्चयकोष, बीमा कम्पनीहरु, पूँजी बजार सम्बन्धी विभिन्न संस्थाहरु मर्चेण्ट बैंकहरु, क्यिरिङ हाउस लगायतका संस्थाहरुले अफर गर्ने सेवाहरु निक्षेप, कर्जा लगायतका विषयमा पनि ज्ञान लिनु जरुरी छ । बैंक तथा वित्तीय संस्थाहरुको बारेमा जानकारी भएन भने कुनै पनि व्यक्तिले उद्योग, व्यवसाय एंव शिक्षादिक्षा, स्वास्थ्य सम्बन्धी लगायतका कुरामा व्यक्तिको आफ्नो सम्पत्ति बिक्री गरेर गरिबीको रेखामुनि जानुपर्ने हुन्छ । त्यसैले वित्तीय साक्षरता व्यक्ति र समाजको लागि महत्वपूर्ण छ । 

वित्तीय साक्षरता अभिवृद्धि
वित्तीय साक्षरता बढाउनका लागि विभिन्न खालका वित्तीय कार्यक्रमहरुको आयोजना गरि देशव्यापी रुपमा फैलाउनुपर्दछ । उदाहरणका लागि चालु खाता निक्षेप विशेषगरि उद्योग, व्यापार र व्यसाय गर्ने व्यक्तिका लागि हो । यसमा साधारणतया व्याज हुँदैन । बचत खाता पनि दुई प्रकारको छन् । चालु खाता र मुद्दती खाता । चालु खातामा व्याज पाउनुका साथै आवश्यक परेको बेलामा तुरुन्तै पैसा झिक्न सकिने समेत सुविधा रहेको छ । मुद्दती खातामा निश्चित समय अवधि (७ दिने, ३ महिने, ६ महिने, १ वर्षे र २ वर्षे) को हुन्छ । अवधि तोकिएको निक्षेप हुनाले मुद्दती, आवधिक निक्षेप भन्ने गरिन्छ । मुद्दती निक्षेपमा तोकेको व्याज आर्जन गर्ने सुविधा हुनुका साथै व्याज पाइन्छ । छोटो समयमा आवश्यक पर्दा झिक्न सकिने खालको खाता कल निक्षेप हो । यस्ता विषयमा जानकारी फैलाउनुपर्छ ।

साधारणतया वाणिज्य बैंकहरु निक्षेप लिने र कर्जा दिने गर्दछन् । विदेशबाट पैसा ल्याउने, रेमिट गर्ने, ग्यारेन्टी बस्ने, जवानी बस्ने, एल्सी खोल्ने र विदेशी विनिमयको कारोबार गर्ने कामहरु वाणिज्य बैंकहरुले गरिरहेका छन् । विकास बैंकहरुले कृषि, उद्योग र विभिन्न क्षेत्रमा लगानी गर्ने कामहरु गर्दछन् । वित्त कम्पनीहरुले हाएर पर्चेज सम्बन्धी टेलिभिजन, कार, मोटरसाइकल लगायतका सामाग्री खरिद गर्दा फाइनान्सीङ गर्ने काम गर्दछन् । यदि, बीमा कम्पनीमा प्रिमियम, पशुपंक्षी, कृषि, शैक्षिक र स्वास्थ्य लगायतको बीमा गरियो भने समस्या पर्दा, स्वास्थ्य सम्बन्धी जोखिम हुदाँ, ठूलो पैसा चाहिएमा, छोराछोरीलाई पढानुपर्ने अवस्था आएमा यसमा प्रकारका उपकरणको ज्ञान हुँदा परिवार, समाजको उन्नति, प्रगति हुनुका साथै देशको पनि विकास हुन्छ । 

यसरी बैंक तथा वित्तीय संस्थाको प्रयोगले हुने फाइदाका विषयमा जानकारी गराई सर्वसाधारणलाई उत्प्रेरित गर्नुपर्छ ।

बैंकिङ पहुँचको अवस्था
नेपाल राष्ट्र बैंकको संलग्नतामा एउटा फिनिसकोप अध्ययन भएको थियो । उक्त अध्ययनले नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणको दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वित्तीय सेवा लिनेको जनसङ्ख्याको अनुपात ४० प्रतिशत मात्र रहेको देखाएको छ । यो आंकडा २।३ वर्ष पहिले सार्वजनिक भएको थियो । यस आंकडाले वित्तीय पहुँच विस्तार हुन सकिरहेको छैन भन्ने देखाएको थियो । आकंडालाई दृष्टिगत गरेर नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच कसरी अभिवृद्धि गर्ने, वित्तीय पहुँचको विस्तार कसरी गर्ने भन्ने मुद्दालाई सम्बोधन गर्न विविध उपायहरु अबलम्बन गरेको छ । 

शाखा विस्तार
वित्तीय पहुँच विस्तारको लागि शाखा विस्तार एउटा महत्वपूर्ण उपकरण हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्थाहरुलाई शाखा विस्तार गर्नको लागि अभिप्रेरित गरिरहेको छ । नेपालको संविधान २०७२ आईसकेपछि मुलुकमा ७५३ स्थानीय तहको गठन भएको छ । २०७४ असारमसान्तसम्म ७५३ स्थानीय तहहरुमध्ये २९६ स्थानीय तहमा मात्र वाणिज्य बैंकको उपस्थिती थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले एउटा पहल कदमी शुरु गरेको हो । बैंकर्स एसोसिएसनलाई बोलाएर ‘तपाईहरु ७५३ स्थानीय तहमा जानुस्, बाँकी रहेका स्थानीय तहमा शाखा खोल्नुस्’ भन्ने निर्देशन राष्ट्र बैंकले दिएको हो । २०७५ भदौ ६ गतेको तथ्यांकलाई आधार मान्दा ७५३ स्थानीय तहमध्ये ६३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती भईसकेको छ । एक वर्षको अवधिमा ३३५ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई एक वर्षमा ३३५ स्थानीय तहमा शाखा खोलाउनमा सफल भएको छ । ११६ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच र उपस्थिती हुन बाँकी रहेको छ । अबको २।३ महिनाको अवधिमा बाँकी रहेका ११६ स्थानीय तहमा शाखा खोल्न सकिने आँट नेपाल राष्ट्र बैंकले लिएको छ । (नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापासँग बैंकिङ खबर डट कमले गरेको कुराकानीमा आधारित)  

Leave a Reply

Your email address will not be published. Required fields are marked *