fbpx

सामाजिक रुपान्तरणमा लघुवित्तको योगदान

August 31, 2018

उदय राज खतिवडा । नेपालको समाज विभिन्न खालका परिवेशले बाँधिएको छ । अझै ग्रामीण क्षेत्रका नवविवाहित महिला वा बुहारीले आफ्नो भुमिका सँधै भात भान्सा, चुलोचौको, घरधन्दा र घर परिवारमै रुमलिने हो भनेर बुझेका छन् । उनीहरु व्यवसायिक कामतर्फ चासो राख्दैनन् । केही महिलामा यस्तो सोच आए पनि विभिन्न अवरोध आइपर्छन् ।

व्यक्तिका आफ्ना हरेक रुचि, क्षमता, आर्थिक अवस्था, शैक्षिक योग्यता अनुसारका कार्यहरु हुन्छन् । महिला वा बुहारीको मनमा एउटा सानो घरमा टेलर राखेर सिलाई गर्छु भन्ने सोच्छिन् । डराईडराई भए पनि श्रीमान्लाई सुनाउँछिन् । तर, कसैको श्रीमान् म पाल्छु काम गर्नुपर्दैन भनेर टार्छन् त कसैले चुपचाप घरको काम गरेर बस्न निर्देशन दिन्छन् । त्यसमाथि सिलाई बुनाईको काम त दलितले गर्ने भन्ने मानसिकता भएको समाज छ ।  

सामान्यतयाः २०/२२ वर्षका महिलाहरुको विवाह २५/२६ वर्षको पुरुषसँग हुनेगर्छ । यस उमेरमा पुरुषहरु संर्घषको अवस्थामा हुन्छन् । उसँग पैसा हुँदैन । महिलाले सानो कामका लागि श्रीमानसँग माग्नुभन्दा पनि घरमुली ससुरासँग माग्नुपर्ने हुन्छ । अन्य सामाजिक तथा पारिवारिक अनुमति पनि महिला ससुराको मा जानुपर्ने हुन्छ । बुहारीको कमाई ससुराले खानुहुँदैन भन्ने सामाजिक मानसिकताका कारण ससुराबाट पनि कुनै व्यवसाय गर्ने अनुमति पाउँदिनन् । 

सामान्य सिलाई पसल गर्न ३० हजारदेखि ५० हजारसम्म लाग्छ । भन्नासाथ घरमा पैसा नहुन सक्छ । छ भने त समस्या नहोला । तर, छैन भने बाहिर खोज्न जानुपर्ने हुन्छ । बाहिर सहकारी तथा बैंकबाट घर, जग्गा  धितो राखेर बैंकको प्रक्रिया गरेर बुहारीको लागि ससुराले ४।५ दिन दुख गरेर, बैंकको प्रक्रिया गर्न धाएर ४०।५० हजार पैसाको जोहो गरिदिनेसम्मको सहयोगको अपेक्षा गर्ने स्थिती छैन । ससुराले आफ्नो घर, जग्गा धितो राखेर पैसा ल्याएर दिने अवस्था त झन् छैन । 

त्यस्तै, कतिपय ठाउँमा लघुवित्तहरुले समुहमा मिलेर आए पैसा दिन्छौँ भन्दाभन्दै पनि महिलाहरु समुहमा आउन नसक्ने वातावरण समेत देखिएको छ । श्रीमानले समुहमा जाने पनि होइन, पैसा लिने होइन र काम गर्ने होइन, नमाने खुट्टा भाँचिदिन्छु भन्ने जस्ता अवरोध समेत खडा भएका छन् । श्रीमती समुहमा बस्दा घर खेत जान्छ भनेर डराएर, नकरात्मक सोच भएर साक्षी बस्न नमान्ने र सपोर्ट नगरेको वातावरण छ । यसरी काम गर्छु भन्ने महिलाहरुलाई सामाजिक, आर्थिक, सांस्कृतिक अवरोधहरुले रोकिरहेको छ । यस कारणले महिलाहरुलाई अगाडी बढन धेरै गाह्रो भईरहेको छ । 

लघुवित्तहरुले सामाजिक, आर्थिक र सांस्कृतिक अवरोधलाई एकमुष्ट रुपमा पोको पारेर रद्धीको टोकरीमा फालेर महिलाहरुलाई अगाडी बढाएर लघुवित्तीय सेवा प्रदान गरिरहेका छन् । महिलाहरु मिलेर समुहमा बसेर हिम्मत, आँट, जोश, जाँगर र काम गर्ने चाहाना बोकेर आउनुुस्, हामी विना धितो कर्जा दिन्छौँ भनेर लघुवित्तहरुले भनिरहेका छन् । काम गर्ने चाहाना भएका महिलाहरुलाई लघुवित्त र लघुवित्तकै मोडेलले नै विनाधितो कर्जा प्रवाह  गर्छ । हरेक किसिमका अवरोधहरुलाई लघुवित्तहरुले समाधानतर्फ लगिरहेको छ । घरमा भएका सम्पूर्ण सदस्यहरुलाई सम्झाएर महिलालाई काम गर्न अनुमती दिनुस् भनेर लघुवित्तहरुले भन्दै आएका छन् । 

कुनै सानो व्यवसाय काम गर्दा एउटी महिलाको पहिचान हुनुका साथै केही रकम आम्दानी पनि हुन्छ । आम्दानीले घर खर्च चलाउन सहज हुछ । बालबच्चा खुसि हुन्छन्, बच्चाको भबिष्यका बाटोहरु खुल्छन् । लघुवित्तले विभिन्न खालका सेवाहरुको प्रवाहिकरणलाई बढाएर महिलाहरुलाई लाभान्वित गराईरहेका छन् । लघुवित्तले महिलाहरुको सोचमा वृद्धि गराईरहेको छ । महिलाहरुलाई सहयोगी वातावरण निर्माण गर्न सामाजिक, आर्थिक र सांस्कृतिक सपोट गर्ने हिसाबले परिवारहरुलाई सम्झाई रहेको छ । 

नेपाली समाजमा विवाहित महिलाहरु सितिमिति घरबाट बाहिर निस्कन अहिले पनि पाउँदैनन् । आफ्नो माइतीघर जानपरेमा समेत माइतीको विशेष सदस्य आएर उसको घरको सदस्यसँग अनुमति मागेर माइतीघरमा लग्नुपर्ने हुन्छ र जिम्मेवारी अनुसार पूर्याउनु पर्ने हुन्छ । लघुवित्तका कारणले बन्द समाजमा ससुराले नव विवाहित बुहारीलाई घर बाहिर निस्कन दिएका छन् । किनभने, बाबु छोरा मिलेर काम गरिरहेका छन् । महिलाको नामबाट कर्जा पाइन्छ र कर्जा लगेर आफ्नो व्यवसायिक कामलाई अगाडी बढाउन सकिन्छ भन्ने हिसाबले सोच्न थालेका छन् । यस्तो परिवर्तन देख्दा मलाई सामाजिक उन्नतिको काम गरिरहेका छौं भन्ने लागेको छ । 

एकपटक ढक्लेबरमा एउटी महिलाले कर्जा लिने क्रममा उनका श्रीमानले कुरा नबुझेर असहमति जनाएका थिए । तर, महिलाले सबै कुरा बुझेकाले कर्जाको प्रक्रिया अगाडी बढाईन् । त्यहाँ महिलाको आफ्नो आत्मनिर्णयको अधिकार लागु भएको थियो । महिलाले कर्जा लिएर कारोबार गरेपछि श्रीमान साक्षी बसेका थिए । 

परम्परागत समाजमा आज पनि पुरुषले कारोबार गर्छ, महिला साक्षी मात्र बस्छन् । परम्परागत भन्दा लघुवित्तले महिलाहरुलाई निणर्यको अधिकारहरु दिईरहेको छ । लघुवित्तले कर्जा र बैंकिङ सेवा मात्र नदिएर सामाजिक र आर्थिक हिसाबका सेवाहरु पनि दिईरहेका छन् । यस्ता सेवाको प्रवाहिकरणले महिलाको सोच परिवर्तन हुँदै गईरहेको छ । समग्रमा लघुवित्तहरुले महिलाहरुलाई अगाडी बढाईरहेको छन् । लघुवित्तहरुबाट संसारमा  ३० करोड महिलाहरुले सेवा लिईरहेका छन् । (खतिवडा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.