May 11th, 2018

जीवनयापनको मेरुदण्ड र विकासको अवधारणा हो बजेट

डा.रामप्रसाद दाहाल । बजेटका प्राथमिकता र सिद्धान्त संसदमा प्रस्तुत गर्दा वर्तमान अर्थमन्त्रीले व्यक्त गरेको अभिव्यक्ति भित्र नाराले हैन इमान्दारिताले मात्रै देश समृद्ध बन्छ भन्ने वाक्यांशले धेरै नेपालीलाई छोएको छ । यो सत्य तथ्यपरक सूक्तिलाई आत्मसात गरी अघि बढ्नु पर्ने औचित्यवादको सिद्धान्तले पनि पुष्टि गर्छ । 

अत्यन्त सकारामक र कटु सत्यलाई वरण गरेको यो पंक्तिको सम्प्रेषण नहुँदै आज आएर निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम उठाएर साँढे ६ अर्ब रुपियाँ सक्ने खेल सार्वजनिक भएको देख्दा धेरै नेपालीको मन स्तब्ध भएको छ । आगामी, असोज मसान्तसम्ममा भएपनि सक्ने गरी रकम निकासा हुनुपर्दछ भनेर प्रधानमन्त्री, अर्थमन्त्रीलाई दवाव दिन सांसादहरु समूह समूहमा लविङ गरिरहेको समाचार सार्वजनिक भइरहेको छ । जो सरर्सती हेर्दा र सुन्दा दुःखद छ । 

यता अर्थमन्त्री दिगो विकास र गरिबी निवारणको अन्त्यको लागि प्राथमिकताका साथ अघि बढ्ने, टुक्रे योजनामा रकम नछरेर भएपनि वृहत्तर हित र विपन्न तथा पिछडिएका सबैमा कम्तिमा औसत नेपालीको स्तरसम्म पु¥याउन आफू केन्द्रित हुने कुरा भनि रहँदा “हतपतको काम लतपत” भन्ने नेपाली उखान जस्तो सांसदहरु किन हतपत र लतपतमा निर्वाचन क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम लान खोज्दैछन् भनिरहन नपर्ला ? सचेत नागरिक आवश्य बुझ्ने छन् । त्यस भित्रको स्वार्थ निजी स्वार्थ । 

त्यसैले नैतिकता र इमान्दारितालाई आफैभित्र राख्ने हो भने यो अब जरुरी नपर्ला ? स्थानीय सरकार छ, प्रदेश सरकार छ, जनप्रतिनिधीहरु भरिभराउ छन्, कामको खोजीमा रुमलिइरहेको समाज छ । एक पेट खान र एक झुप्रो लाउन संघर्षरत नेपाली मनहरुलाई मलम लगाउन सक्नु पर्छ आफूले कोष लगे विकास हुने, प्रदेश र स्थानीयमा दिए नहुने आफूले भनेको मात्र विकास निर्माण भन्ने कुराबाट माथि उठेर सांसादहरु स्वच्छ पारदर्शी, गतिशील, सम्वृद्ध नेपाल नीति, निर्माण र कानुन तयार गर्ने तर्फ लागि दिए हुन्थ्यो ? नीतिगत भ्रष्टाचार, बिचौलिया दबदबा, प्रत्येक क्षेत्रमा उर्लंदो सिन्डिकेट प्रथा जस्ताको अन्त्यमा क्रियाशील बन्ने कानुन आएदिए कति राम्रो हुन्थ्यो ? तर के गर्ने दुर्भाग्य फौजदारी अभियोग लागे पनि निलम्बन नहुने कानुन तर्जुमामा तल्लिन सांसदबाट देशले के पाठ सिक्ने ? भावी पुस्ता कस्तो राजनीति गर्ने निर्माण गर्ने, आफूले अरुलाई पेल्ने, तर आफू नपेलिने कानुन बनाउनु तिर लाग्नु वास्तवमा अर्को दुर्भाग्य निम्त्याउनु हो । बजेटको बहस र छलफल भइरहँदा परिणाममुखी र प्राथमिकतामुखी आहा ! गरे छ है ? भन्ने सन्देश दिने कार्यक्रम आउनुपर्छ ।  

अर्थमन्त्री समाजिक सुरक्षाको कार्यक्रमका एकीकरण गनै खोज्दै हुनुहुन्छ ? निजी क्षेत्रलाई, सामाजिक जिम्मेवारी सहितको आर्थिक वृद्धिमा हातेमालो गराउन लाग्दै हुनुहुन्छ तर हामी फेरी ३३४ सांसद र १६५ सांसद भनी छुट्याएर १ अर्ब ६७ करोड ८४ अर्ब ९५ करोड माग्न तल्लीन छौं र हामी सांसद हौं हाम्रा वाचा हुन पैसा पाउँ हामीले भनेका कार्यकर्तालाई भनेको ठाउँमा पेटी कन्ट्याक्टर ठेक्का दिन्छौ – पिच नहोस् थिच होस्, सही बरु तर काम गह्रौँ भन्ने भावभित्र के यो इमान्दारिता शब्द रहला ? सोचौँ ! लिने दिने दुबै पक्षले सोच्नै पर्छ, अब बजेटको व्यवस्थापन कुशलतापूर्वक अर्थमन्त्रीले निर्वाह गर्नै पर्छ । मानको भन्दा पनि इच्छाको भन्दा पनि, आवश्यकताको पहिचान गरि काम गर्नुपर्ने बेला आएको छ । 

बजेटको जन्म कथा र इतिहासका बारेमा लम्कन र तन्कन चाहन्न, तर पनि प्रत्येक सचेत नागरिकका मनमा झडका हान्छ, बजेट भन्ने वित्तिकै मान्छेको सर्वाङ्गिण विकासको मूल आधार भन्ने बुझिन्छ । जीवनयापनको मेरुदण्ड र विकासको अवधारणा हो बजेट । जनतालाई प्रत्यक्ष आर्थिक सुधारको सङ्केतहरु दिने कार्य हो बजेट । विकासकै अवधारणा, आर्थिक विकास, आर्थिक वृद्धि, आर्थिक कल्याण, मानवीय विकास, सामाजिक विकास, आधारभूत आवश्यकता, परिपूर्ति गर्न केन्द्रित हुने रकमको बाँडफाँड र खर्चको तालिकाबद्ध कार्यान्वयन हो बजेट । सम्वृद्ध समाजको निर्माण गर्न, राज्यको चौतर्फी विकासका लागि नागरिकको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन सोचका टुक्रे योजनदेखि वृहत्त र वृहत्तर योजना पूरा गर्ने मार्ग चित्र हो बजेट । व्यवस्थित र औचित्यका आधारमा गरिने खर्च र त्यसको बाँडफाँड बजेटमा निहित हुन्छ ।

यो वर्ष पनि केही दिनमै आउँदैछ । विगतको बजेटको समिक्षा र वार्षिक आर्थिक रणनीतिले तर्जुमाको सार संसदमा पेश हुँदैछ । अर्थमन्त्री र उहाँको टिम क्रियाशील छ । बजेट निर्माणमा । संसदमा बजेट वहस भइरहेछ । सुझाव आइरहेछन् तर चुनावी घोषणा पत्रलाई गुरु मन्त्र बनाएर त्यसको वरिपरिमा रङ्गरोगन, डेन्टिङ्ग पेन्टिङ्ग गरेर पक्कै आउला बजेट । जुन बजेट जनमुखी हुने, जनहित मै समर्पित रहने आशा गरेका छन्, जनन्नाथको जनताले । नीतिगत र संस्थागत सुधारका निर्णयलाई अघि सारेर विनियोजित विधेयकको सिद्धान्तमा बजेट आउने कुरा अर्थमन्त्रीले सार्वजनिक गर्नु भएको छ । समग्र पक्षको कमी कमजोरी केलाई बजेट रणनीतिक योजना अनुसार नै तोकिएको समयमा तोकिएको कार्य पूरा गर्ने प्रतिबद्धता आउनु राम्रो हुनेछ । कार्यान्वयन प्रणालीलाई सहजीकरण गर्ने उपायहरु पनि आउनु पर्छ । सिद्धान्तलाई व्यवहारमा र जनताको घरदैलोमा सजिलै लैजान सक्ने उपायहरु र खाका स्पष्ट आउनुपर्छ ।     

बजेटका प्राथमिकतामा अर्थमन्त्रीले भनेको सौन्दर्य पक्ष भनेको आन्तरिक वचतलाई प्रोत्साहित गर्दै लगानीका लागि अनुकुल वातावरण श्रृजना गरी राष्ट्रिय पुँजीको सम्बद्र्धन  गर्ने ? जो ज्यादै सान्दर्भिक र औचित्यपूर्ण देखिन्छ । मुद्रास्फित दरलाई सीमा भित्र राखिने जनतामा सुशासनको अनुभूति हुने गरी सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने प्रतिबद्धता जुन व्यक्त भएको त्यो सह्रानीय छ । जो कार्यान्वायनमा आउन सक्नु पर्छ । 

समस्याको समाधान नै वास्तविक लक्ष्य हुनुपर्दछ । मन्दीको असर देखिनु हुन्न ? व्यवस्थापकीय दृष्टिकोण चुस्त हुनुपर्दछ । गौरब र गरिमा हामीले गरेको कामबाट निर्धो देखिनु हुन्न ? खरानीको थुप्रोमा आगोको फिलुङ्ग पनि हुन्छ भन्ने सम्झेर हामीले काम गर्न सक्नुपर्दछ । जसमा दुःखलाई मृत्यु ठान्नु र सुखलाई अमरता मान्नुको कुनै अर्थ छैन । विवाहको यज्ञ काण्डमा जस्तै झिलिमिली बजेट हुने तर दुलही अन्माएपछिको शुन्य घर जस्तो नहुने बनाउनका लागि एक मात्र उपाय भनेको अर्थमन्त्रीले भनेकै वाक्यांश दोहो¥याएर कार्यान्वयनको पर्खाइमा रहँदै नाराले हैन इमान्दारिताले मात्रै देश समृद्ध बन्छ भन्ने भाषामा यो टिपोटको अन्त्य गर्छु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]