April 19th, 2018

बैंकिङ प्रविधिमा सबैभन्दा बढी डेबिट कार्डको प्रयोग

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा दर्जनौँ प्रविधिहरु भित्रिसक्दा पनि प्रयोग भने ज्यादै न्युन हुने गरेको छ । बैंकिङ  पहुँच र वित्तीय साक्षरताको अवस्था नै कमजोर रहेको अवस्थामा बैंकिङ प्रविधिको प्रयोग गर्नेको संख्या अति नै कम रहेको छ । सर्वसाधारणमा प्रविधिसम्बन्धी जानकारीको कमी हुँदा बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकहरु क्यासलेश ट्रान्ज्याक्सनमा जाने योजना बनाइरहेका छन् । सर्वसाधारणहरु बैंकिङ कार्डहरुको प्रयोगमा समेत झन्झट मान्छन् । बैंकिङ प्रविधिले  जुनसुकै स्थानमा बसेर पनि विभिन्न बिलहरु तिर्ने, हातमा कागजी नोट नबोकी सपिङ गर्ने, बैंकमा नपुगी मोबाइलबाटै कारोबार गर्नेसम्मका सुविधाहरु प्रदान गरेका छन् । यद्यपि, कतिपय सर्वसाधारणलाई यसबारेमा जानकारी नै छैन । 

अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, व्रान्चलेस बैंकिङ, अनलाइन बैंक खाता, अनलाइन आस्वा सेवा, भाइबर बैंकिङ लगायत विभिन्न प्रविधिहरु  नेपालका बैंकहरुले भित्र्याइरहेका छन् । प्रयोगकर्ता भने बढ्न सकेका छैनन् ।

हालसम्म नेपालमा भित्रिएका प्रविधिहरुमध्ये, डेबिट कार्डको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ । प्रविधिको नाममा एटीएममा गएर पैसा निकालेर अन्य कारोबार गर्नेसम्मको काम भइरहेको छ । साथमा धेरै पैसा बोकेर हिँड्नुभन्दा डेबिट कार्ड बोकेर हिँड्ने र काम पर्दा एटीएममा गएर पैसा निकाल्न सर्वसाधारणलाई सहज भएको छ । बैंकहरुले पनि आफ्ना हरेक शाखा कार्यालयमा एटीएम राखेका छन् । शाखा नभएका स्थानह रुमा पनि एटीएमको सुविधा दिएका छन् । त्यसमाथि, आफ्नो खाता भएको बैंकको एटीएममात्र नभएर जुनसुकै बैंकको एटीएमबाट पनि सस्तो शूल्क तिरेर पैसा निकाल्न सकिने सुविधाले डेबिट कार्डप्रति सर्वसाधारणको आकर्षण तुलनात्मक रुपमा बढि रहेको छ । नेपालमा मात्र नभएर कतिपय बैंकका डेबिट कार्डहरु विदेशमा समेत चल्ने हुन्छन् । 

हुन त इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङको प्रयोग पनि बढी नै हुने गरेको छ । यद्यपि, यी प्रविधिहरुको उपयोग ब्यालेन्स हेर्ने काममा मात्रै भइरहेको छ । डेबिट कार्ड भने बैंकमा खाता खोलेका प्रायः ग्राहकले बोक्ने गरेका  छन् । 

डेबिट कार्ड के हो ? कसरी गर्ने प्रयोग ?
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।

नेपालमा क्यासलेश ट्रान्जेक्शनको आवश्यकता महशूस गरिएको छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलन नेपालमा छ । हामीले डिजिटल फाइनान्सको प्रयोग गर्न सके मात्रै क्यासलेश ट्रान्जेक्शनको सम्भव छ । अहिले हामीे एटिएममा गएर पैसा निकाल्ने र पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने गरिरहेका छौँ । यस्तो प्रवृत्तिले डिजिटल फाइनान्सको अर्थ हुँदैन । डिजिटल फाइनान्स अर्थपूर्ण त्यतिबेला हुन्छ, जब हाम्रो तलव, भत्ता पनि बैंक खाताबाटै आउँछ, इन्टरनेट बैंकिङ अथवा कार्डबाट पेमेन्ट गर्छौँ, मोवाइलमा रिचार्ज गर्छौँ,  डोमेष्टिक मनि ट्रान्सफर गर्छौँ, इन्स्योरेन्सको पेमेन्ट पनि इन्टरनेट बैंकिङबाटै गर्छौँ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]