April 17th, 2018

बैंकिङ पहुँचमा प्रदेश नं. १ अगाडी, कुन प्रदेशमा कति छन् बैंक शाखा ?

बैंकिङ खबर । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुले थप २० स्थानीय तहमा शाखा विस्तार गरेका छन् । फागुन महिनाभरिमा बैंकहरुले २० स्थानीय तहमा शाखा स्थापना गरी संचालनमा ल्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । प्रदेश नं. १मा पाँच वटा, प्रदेश नं. २मा चार वटा, प्रदेश नं. ३मा एउटा, प्रदेश नं. ४मा चार वटा, प्रदेश नं. ५मा दुई वटा, प्रदेश नं. ६ मा तीन वटा र प्रदेश नं. ७मा एउटा शाखा थप भएका हुन् । 

फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको स्थानीय तहको संख्या तीन सय ९४ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । माघ मसान्तमा तीन सय ७४ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको उपस्थिती रहेको थियो । तथ्यांक अनुसार, बैंकहरुको सबैभन्दा धेरै उपस्थिती प्रदेश नं. १ मा रहेको छ भने सबैभन्दा कम उपस्थिती प्रदेश नं. ६ मा रहेको छ । 

प्रदेश नं. १का १३७ स्थानीय तहमध्ये, ७६ वटामा वाणिज्य बैंकका शाखा पुगेका छन् । त्यस्तै, १३६ वटा स्थानीय तह रहेको प्रदेश नं. २का ६७ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् भने प्रदेश नं. ३का ११९ स्थानीय तहमध्ये ७२वटा वाणिज्य बैंकका शाखा खुलेका छन् । प्रदेश नं. ४का ८५मध्ये ४९ वटा स्थानीय तहमा बैंक शाखा खोलिएका छन् । त्यसैगरी, १०९ वटा स्थानीय तह भएको प्रदेश नं. ५ मा ६८, ७९ वटा स्थानीय तह रहेको प्रदेश नं. ६मा २८ र ८८ वटा स्थानीय तह भएको प्रदेश नं. ७ मा ३४ वटा बैंक शाखा संचालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]