बैंकिङ खबर विशेष ब्यूरो ।
नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता बढाउने उद्देश्य स्वरुप सञ्चालन भइरहेको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत आइतबार प्रदेश नम्बर ४ को पोखरामा बैंकिङ–बीमा एक्स्पो आयोजना गरिदैछ । लुम्विनीको रुद्रपुरबाट अघिल्लो वर्ष शुरु भएको यो अभियान प्रदेश नम्बर ७ को अत्तरिया, प्रदेश नम्बर ५को म्याग्दी, दरबाङ, प्रदेश नम्बर ३ को धादिङ तथा काभ्रेपलाञ्चोकको भकुण्डेवेसी लगायतका स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम साथै प्रदेश नम्बर एकको इटहरी र मुलुकको राजधानी काठमाडौंमा बैंकिङ–बीमा एक्स्पो सफलता पूर्वक सम्पन्न भइसकेको छ । आइतबार पोखरामा हुने एक्स्पोमा पनि बैंक, वित्त तथा बीमा कम्पनीहरुको उत्साह देखिएको छ । यसै सन्दर्भमा बैंकरहरुको हामीले प्रतिक्रिया ल्याएका छौं । अब हेरौ बैंकरहरुकै भाषामा एक्स्पो बारे प्रतिक्रिया :
‘बैंकको सेवाबारे बुझाउन एक्स्पोले मद्दत गर्नेछ’
भरतराज ढकाल
अध्यक्ष, विकास बैंकर्स संघ एवं सीईओ मुक्तिनाथ विकास बैंक
बचत, कर्जा, रेमिट्यान्स, बीमा लगायतका बैंक, वित्तले दिने सेवाले कस्तो राहत पुग्छ भन्ने कुरा आम मानिसले अझै बुझ्न नसकेको अवस्था छ । पोखरामा पहिलो पटक बैकिङ–बीमा एक्स्पो आयोजना गरिदैछ । पोखरामा धेरै मान्छेहरु बैंकिङ कारोबार गर्छन । तर पोखरा आसपासका क्षेत्रमा अझै पनि बैंकका सेवाबारे बुझाउन सकिएको छैन । हुनत मुलुकको इतिहास हेर्ने हो भने विकास बैंकबाट सेवालिने सर्वसाधारण पोखरा भन्दा अन्त धेरै छैनन् । पोखरा नै सबैभन्दा अग्रस्थानमा छ । यद्यपि सबैठाउँमा बैंकको सुविधाबारे चेतना पुग्ननसकेको हुँदा यस्ता कार्यक्रमहरुले धेरै राहत पुग्ने मेरो विस्वास छ ।
‘वित्तीय कारोबारबारे बुझाउन एक्स्पो सफल हुनेछ’
गोविन्द ढकाल
वरिष्ठ उपाध्यक्ष, विकास बैंकर्स संघ एवं सीईओ, गरिमा विकास बैंक
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा पहिलो पटक प्रदेश नम्बर ४ को राजधानी पोखरामा बैंकिङ–बीमा एक्स्पो आयोजना गरिदैछ । यसभन्दा अगाडी प्रदेश नम्बर १ को इटहरी र राजधानी काठमाडौंमा सम्पन्न भइसकेको छ । म आफै पनि ति कार्यक्रमहरुमा सहभागी भएको छु । मान्छेले वास्तवमा बैंकिङ सेवाको महत्व मज्जाले बुझ्न सकेका छैनन् । यस किसिमका कार्यक्रम आयोजना हुनु एकदमै राम्रो र यसको आवश्यकता धेरै छ । वित्तीय साक्षरताको महत्व बुझाउनका लागि यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।
‘गाउँगाउँमा आयोजना हुनु जरुरी छ’
रेशमबहादुर थापा
सचिव, विकास बैंकर्स संघ एवं सीईओ गण्डकी विकास बैंक
पोखरामा पहिलो पटक बैंकिङ–बीमा एक्स्पो आयोजना हुँदैछ । यस भन्दा अगाडी काठमाडौं र प्रदेश नम्बर एकको इटहरीमा सम्पन्न भइसकेको भन्ने मलाई जानकारी छ । प्रदेश नम्बर ४ को पोखरामा आयोजना हुन लागेको यस कार्यक्रमले वित्तीय चेता अभिवृद्धिका लागि ठूलो भूमिका खेल्ने मैले विस्वास लिएको छु । प्रदेश नम्बर ४ का सबैक्षेत्रलाई समेट्न अलि असम्भव छ । तर, पोखरा आसपासका क्षेत्रका स्थानीय जनताहरुलाई यस कार्यक्रमले राम्रै टेवा पुग्छ । यस किसिमका कार्यक्रमहरु गाउँगाउँमा आयोजना हुनु जरुरी छ ।
‘जनप्रतिनिधिलाई पनि यस्ता कार्यक्रममा सहभागी गराउनु पर्छ’
बिश्वमोहन अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ओम डेभलपमेन्ट बैंक
प्रदेश नम्बर ४ को पोखरामा पहिलो पटक बैंकि–बीमा एक्स्पो कार्यक्रम आयोजना गरिदैछ । यो पोखराबासीकै लागि खुसीको कुरा हो । आजको युगमा पनि वित्तीय साक्षरताको अवस्था एकदमै कमजोर छ । यो एकदमै दुःखको कुरा हो । यस्ता कार्यक्रमले वित्तीय साक्षरता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । अझ मेरो विचारमा वित्तीय साक्षरता बारे राजनीतिक नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत बुझाउनु पर्छ । जनप्रतिनिधिमा नै वित्तीय साक्षरताको कमी हुँदा थप समस्या देखिन्छ । उनीहरुलाई वित्तीय साक्षरताबारे बुझाउन सके अझ राम्रो हुने थियो ।
‘विद्यार्थीलाई लक्षित गरिएको छ यो एकदमै राम्रो कुरा हो’
राजकुमार गुरुङ
प्रमुख कार्यकारी अधिकृत, पोखरा फाइनान्स कम्पनी
पोखरामा आयोजना हुने बैंकिङ–बीमा एक्स्पो विद्यार्थीलाई लक्षित गरिएको छ । प्रदेश नम्बर ४ मात्रै नभएर समग्र मुलुकमा नै वित्तीय साक्षरताको अवस्था कमजोर छ । यस्तो अवस्थामा यस्ता प्रकारका कार्यक्रम आयोजना हुनु अत्यन्तै आवश्यकता छ । पोखरामा हुने एक्स्पोमा विद्यार्थीलाई लक्षित गरिएको छ । त्यो एकदमै राम्रो पक्ष हो । विद्यार्थीहरुलाई बुझाउन सक्यो भने विद्यार्थीको माध्यमबाट उनीहरुका अविभावकले बुझ्नेछन्ु । प्रदेश नम्बर ४ मा मैले देखेको बैंकिङ कारोबारलाई झण्झिटिलो मान्ने गर्छन । यहाँका स्थानीयहरु कर्जा लिने प्रक्रियाका लागि कागजात जम्मा गर्न गाह्रो मान्ने गर्छन । यसकारण एक्प्पाले साक्षरता बढाउन धेरै राहत पुग्छ ।




