बैंकिङ खबर । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामानिर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा पाँच वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएको छ । लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा पाँच वटा बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत पाँच अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गर्ने गरी कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको छ ।
कुन बैंकको कति लगानी ?
उक्त आयोजनामा लक्ष्मी बैंकले एक अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ । त्यस्तै, कुमारी बैंकले एक अर्ब रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको ७५ करोड रुपैयाँ, प्रभु बैंकले ४० करोड रुपैयाँ र जलविद्युत लगानी तथा विकास कम्पनीले ८० करोड रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् ।
२८.१ मेगावाट उत्पादन क्षमता
उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले झण्डै १७०.८४ गेगावाट प्रतिआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ । २०७३ साल पौष १४ गते श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो । उक्त आयोजना निर्माणको लागि कम्पनीले उर्जा मन्त्रालयबाट मिति २०७२ साल चैत्र २८ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेका छन् ।