November 27th, 2017

सम्भव छ लघुवित्तबाट समृद्धि, हेर्नुस यी उदाहरणीय नारीहरु

बैंकिङ खबर । विश्वभर नै गरिबी निवारणको लागि लघुवित्त कम्पनीहरुले प्रभावकारी भूमिका खेल्दै आएका छन् । नेपालमा पनि लघुवित्त संस्थाहरु सशक्त रुपमा स्थापित भइसकेका छन् । वित्तीय सेवा विपन्न वर्गको  घरदैलोसम्म पुर्याउनका लागि लघुवित्त कम्पनीहरुको अग्रणी भूमिका रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका तथा आर्थिक र सामाजिक दृष्टिकोणले कमजोर तथा विपन्न तहका महिलाहरुको आर्थिक तथा सामाजिक विकासलाई परिलक्षित गरी नेपालमा करिब ३ दशक अघिदेखि चितवनबाट लघुवित्त कार्यक्रमको सुरुवात भएको थियो । हाल नेपालमा ५३ वटा लघुवित्त विकास बैंकहरु, २५ वटा गैर सरकारी संस्थाहरु, १ सय ५० वटा सहकारी संस्था सञ्चालनमा छन् । नेपालमा करिब १८ लाख परिवारले लघुवित्त सेवा लिइरहेका छन् । यीमध्ये अधिकांश महिलाहरु छन् । लघुवित्तबाट ऋण लिएर धेरै महिलाहरु आत्मनिर्भर बनिसकेका छन् । यसै विषयलाई मध्यनजर गर्दै लघुवित्त कम्पनीहरुबाट ऋण लिएर समृद्ध बनेका केहि महिला उद्यमीहरुको सफलताको कथालाई समेटेर बैंकिङ खबर डटकमका लागि सहकर्मी शिवहरि घिमिरेले तयार पारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ :

२० हजार ऋणले समृद्ध भएँ
ज्ञानु नेपाली (लमजुङ धमिलीकुवा ४)
मलाई लघुवित्त संस्था थाहा नहुँदासम्म परिवारको आर्थिक खर्च धान्न मुस्किल परेको थियो । जब लघुवित्त संस्था झोले बैंक बनेर गाउँ गाउँमा स्थापना भए त्यसपछि मैले लघुवित्तलाई राम्रोसँग बुझ्ने अवसर पाए । त्यति मात्र होइन विस्तारै लघुवित्तसँग कारोबार पनि गर्न थाले । लघुवित्त कम्पनीका सरहरुले हामीलाई ठूलो सहयोग गर्नुभएको छ । पैसै नभएको मान्छेलाई ऋण दिएर सम्पन्न पार्नुभएको छ । उहाँहरुलाई धन्यावाद दिन चाहन्छु । केहि पैसा जम्मा गर्नुस्, पछि तपाईहरुको दुःखको सहारा बन्न सक्छ भनेर उहाँहरुले भन्नुभएको थियो । त्यसैअनुरुप मैले सुरुमा २० हजार ऋण लिएर १ सय वटा कुखुरा पाल्न सुरु गरे । अहिले म यो क्षेत्रमा समृद्ध भइसकेकी छु । सिर्जना लघुवित्त कम्पनीबाट २० हजार ऋण लिएर अहिले म लाख कमाउन सक्ने भएकी छु । अहिले मेरो ५ हजार कुखुरा पाल्न सक्ने हैसियत बनेको छ । मैले गरेको काममा श्रीमान् र छोराछोरीहरुको सहयोग पनि राम्रो छ । यदि परिवारले सर्पोट गर्ने हो भने महिलाहरुले पनि परिवारलाई आत्मनिर्भर बनाउन सक्छन्, जस्तो लाग्छ मलाई । 

लघुवित्तबाट ऋण लिएर दाइजो दिनुपर्ने बाध्यता
विना कुस्वाहा (रौतहट, श्रीनर ५)
लघुवित्त संस्थाबाट धेरै महिलाहरु सक्षम बनेका छन् । पहिला घरबाट बाहिर निस्कन नसक्ने महिलाहरु अहिले लघुवित्त संस्थाकै कारणले गर्दा सक्षम बनिसकेका छन् । महिलाहरुको जमघट र समुहमा बसेर कुराकानी गर्न पाउँदा महिलाको समस्याहरु पनि समाधान भएका छन् । तर कतिपय महिलाले लघुवित्तबाट पैसा लिएर अन्य क्षेत्रमा खर्च गरेका पनि छन् । खासगरी तराईका महिलाहरु घरभित्रकै काममा सिमित हुने भएकोले महिलाहरुले  लघुवित्तबाट ऋण निकालेर श्रीमान्लाई खर्च गर्न दिएका छन् । त्यस्तै हाम्रो समुदायमा क्यान्सर रोगभन्दा पनि भयानक रोग बनेर गडेको छ दाइजो प्रथा, जसले गर्दा गरीब र विपन्न वर्गका मानिसले जर्बजस्ती लघुवित्तबाट ऋण निकालेर दाइजो दिने गरेका छन् । तराईमा लघुवित्तबाट पैसा निकालेर व्यवसायह होइन दाइजो दिइन्छ । थोरै व्यक्तिले मात्र लघुवित्तको पैसा उद्यमी क्षेत्रमा प्रयोग गर्छन तर अधिकांशले दाइजोलाई नै प्राथमिकतामा राख्छन् । मैले पनि गत बर्षमात्रै छोरीको बिहे गरिदिएँ । दाइजो नदिए छोरीको विहे नै हुँदैन । दिउँ भने खानलाउनको समेत दुःख छ । तराईका समुदायको चलन नै त्यस्तै भएकोले लघुवित्तबाट झिकेको पैसा दाइजोमा खर्च गरेकी थिए । यसरी निकालेको पैसा अनावश्यक क्षेत्रमा खर्च गर्दा धेरै नै दुःख लाग्छ । त्यसकारण मेरो लघुवित्त संचालकहरुलाई यसप्रति नयाँ नीति ल्याउन आग्रह गर्छु । महिलाले चाहेर पनि उद्यमशील क्षेत्रमा लगानी गर्न पाउँदैनन् । मैले लघुवित्तबाट ३० हजार लिएर औषधि पसल खोलेँ । यसबाट विस्तारै आम्दानी बढ्दै गएको छ । अहिले ल्याब पनि छ । ३ जनालाई रोजगारी पनि दिएकी छुु । त्यस्तै मैले रोकिएको पढाईलाई पूरा गर्ने मौका पनि पाएकी छु । 

१५ हजार ऋण लिएर गाई पाल्न थालेँ    
प्रेमकान्ति चौधरी (दाउन्नेदेवी ५ गंगाबस्ती नवलपरासी)    
लघुवित्त संस्थामा आबद्ध भएपछि मेरो परिवारको दुःख हटेको छ । पहिला परिवारको पेट पाल्न पनि धौधौ थियो । मैले नवप्रतिभाबाट १५ हजार पैसा निकालेर गाईपालन गर्न थालेँ । १५ हजारबाट थालनी गरेको व्यवसायबाट अहिले महिनामा लगभग १ लाखको हाराहारीमा आम्दानी लिन सक्ने भएकी छु । अहिले मैले उर्मिला गाई भैसी फार्म दर्ता नै गरेकी छु । १० वटा गाई भैँसी छन् मेरो फार्ममा । मैले गरेको व्यवसायमा परिवारको साथ र सहयोग भएकै कारण आज म सक्षम भएकी छु । आफ्नो व्यवसायलाई विस्तार गर्ने आट र जागँर पलाएको छ ममा । यसमा श्रीमान्को पनि ठूलो सहयोग छ ।  हामी दुईजना मिलेर नै फार्मलाई सञ्चालन गरेका छौँ । परिवारसँगै बाहिरी कामदारलाई पनि रोजगारी दिएका छौँ । लघुवित्तबाट लिएको १५ हजारले मेरो जीवनमा खुशी ल्याएको छ । यदि साना लघुवित्त कम्पनीहरु नभएको भए हामी जस्तो दुःखी र गरीब समुदायका मानिसहरुको लागि बाँच्ने आधार नै जुट्दैनथ्यो होला । 

व्यक्तित्व नै बदलिदियो १० हजार ऋणले     
नरि गुरुङ (खर्वाङ, बाग्लुङ)
लघुवित्तले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । म आज आर्थिक रुपमा सक्षम भएकी छु । यसको साथसाथै सामाजिक र व्यक्तित्व परिवर्तनमा पनि ठूलो योगदान पुर्याएको छ लघुवित्तले । मैले चारतारे लघुवित्त कम्पनीबाट ऋण लिएर व्यवसाय गरेकी थिएँ । साँच्चै नै चारतारे लघुवित्तबाट ल्याएको रमकले मेरो जीवनमा तारा जस्तै चम्किलो परिवर्तन ल्याएको छ । २०६६ सालसम्म मलाई के गर्ने होला ? कसो गरी परिवार धान्ने होला ? भन्ने पीर थियो । तर, लघुवित्तका सरहरुले मलाई लघुवित्तमा लाग्नुस भनेर सुझाव दिनुभयो । उहाँहरुको सुझाव अनुसार लघुवित्तमा लागेँ । घरमा कुटोकोदालो गरेर परिवार धानेकी थिएँ । जब यस लघुवित्तबाट १० हजार ऋण लिएर बाख्रा पाल्न सुरु गरेँ, त्यसपछि मेरो दैनिकी सुध्रिँदै गयो । अहिले बार्षिक ७ लाख आम्दानी गर्न सफल भएकी छु । त्यसको साथसाथै मैले कुटानी पिसानीको लागि मिल पनि सञ्चालन गर्दै आएकी छु । अहिले बिहानमा बाख्राको स्याहार र दिउँसोमा मिल सञ्चालन गर्दै आएकी छु । छिमेकीले मेरो काम र मेहनत देखेर प्रशंसा गर्छन् । यो परिणामको हसली हकदार लघुवित्त नै हो ।

११ वर्ष भयो लघुवित्तबाट ऋण लिन थालेको
कल्पना सिवाकोटी (जलेश्वर महोत्तरी)
सुरुमा मैले स्वाबलम्बन विकास बैंक जलेश्वरबाट १० हजार रुपैँया ऋण लिएर दाउरा व्यापार सुरु गरे । विस्तारै आफ्नो व्यवसायलाई निरन्तरता दिँदै जाने क्रममा लगानी र आम्दानी पनि बढाएँ । अहिले म सक्षम बनिसकेकी छु । यसका अलावा बाख्रा व्यवसाय पनि गर्दै आएकी छु । मेरो काममा श्रीमान् र छोरीको सहयोग पनि सन्तोषजनक नै छ । मेरो काममा परिवारको साथ र सहयोग मिलेकोले नै मैले आफ्नो व्यवसायबाट यस्तो प्रतिफल पाउन सफल भएँ । म यहाँसम्म आउन सक्नुमा लघुवित्तको देन छ । ११ बर्ष भयो लघुवित्तबाट ऋण लिन थालेको । अहिले डेढ लाख ऋण लिएकी छु । यसबाटै लिएको ऋणबाट दाउरा र बाख्रा व्यवसाय गरेर एउटा छोरो इन्जिनियर र छोरीलाई डिग्री पढाउँदै छु । नेपालका राजनीतिक दलका नेताहरुले सिकाउन नसकेको कुरा लघुवित्तले सिकाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]