November 26th, 2017

विकास बैंकहरुको चुनौती : तरलता र प्रतिष्पर्धा

गोविन्द प्रसाद ढकाल, बैंकर्स, पुँजीबृद्धिको नीतिले विकास बैंकहरु मर्जरमा गइरहेको हुँदा संख्यात्मक ढंगबाट घट्दो क्रममा रहेका छन् । तर शाखा संजालका हिसाबबाट वा विस्तारीत अबस्थाबाट हेर्ने हो भने विकसित र मजबुत भइरहेका छन् ।  

विकास बैंकका चुनौतीहरु 

विकास बैंकहरुको चुनौती तरलता र प्रतिष्पर्धा हो । नेपाल राष्ट्र बैंकले कायम गरेको स्प्रेड रेट वाणिज्य बैंक र विकास बैंकहरुको बराबर छ । यो विकास बैंकहरुको मूख्य चुनौती हो । किन भने विकास बैंकहरुको अन्य आम्दानी हुँदैन, ब्याज आम्दानी मात्रै हो । कमर्शियल बैंकहरुको बैंक ग्यारेन्टी लगायत अन्य थुप्रै माध्यमबाट पनि आम्दानी हुन्छ । यस्तो अवस्थामा कमर्शियल बैंक र विकास बैंकहरुलाई एउटै स्प्रेड रेट कायम गरिएको छ, यसले हामीलाई केहि अप्ठेरो परेको छ । त्यसबाहेक विकास बैंकको सञ्चालन खर्च पनि अलि बढीनै लाग्ने गर्दछ । किन कि हामीले ग्रामिण तथा स–साना ठाउँहरुमा पनि शाखा कार्यालयहरु स्थापना गरेको अवस्था छ । 

ग्रामिण क्षेत्रमा विकास बैंकको भूमिका महत्वपूर्ण 
अहिलेको तथ्यांक हेर्दा नेपालका करिब ६० प्रतिशत जनताले बैंकिङ सेवा पाउन नसकेको तथ्यांक छ । अहिले दुर्गम भेगहरु, जहाँ बैंकिङ पहुँच पुर्याउन सकिएको छैन, त्यस्ता ठाउँमा विकास बैंकका शाखाहरु धमाधम खुलिरहेका छन् । ग्रामीण क्षेत्रमा बैंक शाखा स्थापनाका लागि आधारभूत भौतिक पूर्वाधार तथा शान्ति सुरक्षा भयो भने विकास बैंकहरु बैंकिङ पहुँच विस्तारका लागि जुनसुकै ठाउँमा जान तयार छन् । त्यस्ता ठाउँको विकासका लागि त्यहाँका  जनतालाई उद्यमी बनाउनका लागि, निक्षेप कलेक्शन गर्नका लागि जुन क्षेत्रमा जान जुन विकास बैंकलाइ सहज हुन्छ हामी विकास बैंकहरु छलफल गरेर त्यस्ता ठाउँमा जान तयार छौं । बैंकिङ सेवा शहर केन्द्रीत हुनु हुँदैन ग्रामीण भेगमा पनि पुग्नु पर्छ भन्ने जुन नेपाल राष्ट्र बैंकको धारणा छ त्यसको कदर गर्दै हामी ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा दिन सदैव तयार छौं । अर्को कुरा ग्रामीण भेगका जनतालाई बैंकिङ कारोबारबारे चेतना फैलाउने भनेको विकास बैंक नै हो । हरेक विकास बैंकहरुले ग्रामीण भेगदेखि  शहरसम्म हिजो पनि सेवा प्रदान गरेका थिए र अहिले पनि गरिरहेका छन् । 

संघीय संरचनामा निर्माण भएका स्थानीय तहमा सरकारले वाणिज्य बैंकलाई मात्रै पठाउने भनिए पनि राष्ट्र बैंकको पहलमा अहिले विकास बैंकलाई पनि पठाउने भनिएको छ । कतिपय स्थानीय तहमा हाम्रा शाखा पुगिसकेका छन् । सरकारको नीतिको पालना गर्दै ग्रामीण भेगमा शाखा विस्तार गर्न विकास बैंक तयार छन् । अहिले वाणिज्य बैंकहरु सरह नै विकास बैंकहरु अघि बढेका छन् । विकास बैंकहरुको चुक्तापुँजी पनि हिजोका वाणिज्य बैंकहरुको जति पुगिसकेको छ । नेटवर्किङको हिसाबले त वाणिज्य बैंक भन्दा हामी अगाडी छौं । जुन बैंक भए पनि राज्यले हेर्ने दृष्टिकोण एउटै हुनुपर्छ भन्ने हाम्रो धारणा हो । सबै बैंकहरुलाई आ–आफ्नो क्षेत्रमा प्राथमिकता दिनुपर्छ । वाणिज्य बैंक जान नसकेको ठाउँमा विकास बैंक पनि जाँदैन । वाणिज्य बैंकलाई जुन पूर्वाधार चाहिन्छ, त्यो विकास बैंकलाई पनि चाहिन्छ । विजुली, बाटो, सुरक्षा चौकी, इन्टरनेट जस्ता पूर्वाधारहरु बैंकहरुका लागि महत्वपूर्ण हुन आउँछ । यी पूर्वाधारहरु बैंकिङ शाखा विस्तारका लागि अनिवार्य छन् ।  


मुलुकको अर्थतन्त्रमा विकास बैंक  
मूल्यांकन गर्ने सम्बन्धित निकायहरुले कसरी मुल्यांकन गर्नु भएको छ, हामीले बुझ्दा मुलुकको अर्थतन्त्रमा विकास बैंकको महत्वपूर्ण भूमिका छ । विकास बैंकहरुले स–सानो पूँजी ५ हजार, १० हजारदेखि लिएर ३० करोड रुपैयाँसम्म लगानी गरेको अवस्था छ । हामीले सानो एउटा कृषि पेशा, पसल व्यवसाय, उद्योग लगायत जसले स्वरोजगार बनाउन मद्दत गर्छ, जोसँग पूँजीको अभाव छ र सामथ्र्य छ भने त्यस्ता मानिसलाई बिना धितो कर्जा लगानी पनि गरेका छौं । नेपालका कमर्शियल बैंकहरु बढी शहर केन्द्रित छन् । ग्रामीण क्षेत्रमा धेरै सेवा दिने बैंक भनेको नै विकास बैंक हो । अन्य बैंक वित्तीय संस्थाको तुलनामा मुलुकको अर्थतन्त्रमा विकास बैंकको भूमिका धेरै छ ।

उत्पादनमूलक क्षेत्रमा लगानी 

उत्पादनशिल क्षेत्रमा बैंकहरुको लगानी नभएको होइन । आज गाउँ गाउँमा बैंकहरुको लगानी सुरु भएको छ । जो व्यक्तिले उत्पादनमुलक क्षेत्रमा काम गरेको छ त्यहाँ बैंकको लगानी अबस्य छ । म उत्पादनशील क्षेत्रमा लगानी गर्छु भनेर आउने मान्छेलाई हामीले कहीँ कतै रोकेका छैनौं । अन्य बैंकले पनि रोकेको जस्तो मलाई लाग्दैन । उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहनेलाई त्यही किसिमको वातावरण राज्यले पनि बनाईदिनुपर्छ । यहाँका जुनसुकै क्षेत्रका उद्योगीहरु छिमेकी मुलुक भारतका उद्योगीहरुसँग प्रतिष्पर्धा गर्न सक्ने अबस्थामा छैनन् । हाम्रो तराईमा तरकारी खेती हुन्छ । तर, हाम्रोमा भन्दा भारतबाट ल्याएको तरकारी सस्तो हुन्छ । यस विषयमा सरकारले ध्यान दिनुपर्छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंकहरु तयार छन् । तर भाषणमा, किताबमा, नारामा आएका कुराहरु जस्तो त्यति सजिलो भने छैन । ग्रामीण भेगका हाम्रा शाखाहरुमा पशुपालन, तरकारी खेती लगायतका लागि कर्जाको माग आएको पाईदैन । तथापी यी र यस्ता प्रपोजहरु आएको अबस्थामा बैंकहरुले रोकेका छैनन् । बैंकले कृषिमा लगानी गर्ने भनेर पैसा बाँड्दै हिँड्ने कुरा पनि भएन । बजार, सडक लगायतको अभावका कारण आफैँ उत्पादन गर्ने उद्देश्यले बैंकमा कर्जा माग गर्ने ग्राहक नै नआएपछि त कसरी लगानी गर्ने ? यो कुरालाई सरकारले पनि महत्व दिनु पर्छ । जस्कोृ लागि पूर्वाधारको विकास र बजारको विस्तार मुख्य कुरा हुन आउँछ । ढकाल डेभलपमेन्ट बैंकर्स एशोसियसनमा बरिष्ठ उपाध्यक्ष र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।  (कुराकानीमा आधारित )


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]