Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वाबलम्न र महुली सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा, महुलीले हकप्रद पनि जारी गर्ने

२०७४ आश्विन २२ गते
सेयर:

आइतबार दुई वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । स्वाबलम्बन लघुवित्त र महुली सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न लागेका हुन् ।  

स्वाबलम्बन लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको शुक्रबार बसेको २७४औँ वैठकले उक्त निर्णय गरेको हो । जसअनुसार, बैंकका सेयरधनीले चार करोड ८५ लाख ११ हजार पाँच सय पाँच रुपैयाँ नगद लाभांश र आठ करोड ३७ लाख ९२ हजार छ सय रुपैयाँ बराबरको आठ लाख  ३७ हजार नौ सय २६ कित्ता बोनस सेयर पाउनेछन् । स्वाबलम्बन लघुवित्तको चुक्तापुँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि लघुवित्तको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको शनिबार बसेको संचालक समितिको ६७औँ वैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सोही बैठकले बोनसपछि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ । हाल महुलीको चुक्तापुँजी चार करोड रुपैयाँ रहेको छ । बोनस र हकप्रदपछि लघुवित्तको चुक्तापुँजी नौ करोड रुपैयाँ पुग्नेछ ।

दुवै लघुवित्तको संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । महुलीले हकप्रद सेयर निष्काशन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ ।