August 5th, 2017

सम्पत्ति शुद्धीकरणका कारण समाजमा पर्ने प्रभावहरु 

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोवारको त्यस्तो पाटो हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो पक्ष हो जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोवारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध वनाउने प्रयत्न भएको हुन्छ । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स, एफ.ए.टी.एफ.) ले सम्पत्ति शुद्धीकरणलाई अपराध जस्तो नराम्रो स्रोतबाट प्राप्त आम्दानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणलाई वित्तीय कारोबारमा गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरिएको छ । 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट विभिन्न प्रयासहरु हुँदै आएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित काम एशिया प्रशान्त क्षेत्र समूह (ए.पी.जी.) ले गर्ने गरेको छ ।

सम्पत्ति शुद्धिकरणले समाजमा यस्ता प्रभावहरु पार्दछ :

  • सामाजिक, आर्थिक र कानूनी पक्षमा नकारात्मक असर पर्ने
  • राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण
  • बैंक तथा वित्तीइ संस्थाहरु धरासायी बन्न जाने
  • व्यापारिक फर्म तथा कम्पनीहरु प्रभावित बन्ने, अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने 
  • वैदेशिक लगानी तथा विप्रषण मुलुकभित्र नआउन सक्ने खतरा 
  • अर्थतन्त्र क्रमशः परनिर्भरतातर्फ उन्मुख बन्दै जाने
  • सुशासन र स्वच्छ अर्थतन्त्र निर्माणमा बाधा
  • राष्ट्रिय/अन्तर्राष्ट्रिय सुरक्षामाथी चुनौती सिर्जना
  • विदेशी विनिमय दुरुपयोग वढ्न जाने
  • वित्तीय प्रणाली, कानूनी सुरक्षा, सामाजिक न्याय र वैश्विक वित्तीय प्रणाली जस्ता क्षेत्रमा नकरात्मक प्रभाव पार्ने ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]