August 4th, 2017

बैंकमा खाता कसरी खोल्ने ? खाता खोल्दा के के चाहिन्छ ? (हेर्नुहोस् विस्तृतमा)

खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ती वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ । पास बुकमा ग्राहकले कारोवार गरेको विवरण बैंकले भरिदिन्छ भने पछिल्ला दिनहरुमा कम्प्युटरबाट कारोवार गर्ने यस्ता बैंक वित्तीय संस्थाहरुले पासबुकको सट्टा आवश्यकता अनुसार बैंक स्टेटमेण्ट उपलब्ध गराउँदै आएका छन् । यसबाट आफ्नो कारोवार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याज र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम झिक्न सक्दछ । 

बैंक खाता खोल्न केके चाहिन्छ ?
बैंक खाता खोल्नको लागि नागरिकताको प्रमाणपत्र, फोटो, पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक छ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फाराममा दस्तखत आवश्यक पर्छ । यसका साथै खाता खोल्दा ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक विवरण, बाबु बाजेको नाम जस्ता विवरण दिनु पर्ने व्यवस्था गरिएको छ । 

बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यीमध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् । 
चल्ती खाताः आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापारी र कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाताः बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । विद्यार्थी, युवा, गृहस्थी, बुढाबुढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ ।

मुद्दती खाताः मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी बैंकहरुबाट कर्जा निकाल्न त मिल्छ । तर यसका लागि पनि रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आफूले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत वढी ब्याज बैंकलाई तिर्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]