नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरुले थुप्रै ग्राहकलाई उद्यमी बनाएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका ५३ लघुवित्त वित्तीय संस्थाहरुले विनाधितो ऋण प्रवाह गरेर पुँजीको अभावमा कुनै व्यवसाय गर्न नसकेका सर्वसाधारणलाई उद्यमी बनाएका थुप्रै उदाहरणहरु हामीले देख्दै, सुन्दै र भोग्दै पनि आएका छौँ ।
म्याङलुङ्ग जिल्लामा २०५९ सालमा भएको भीषण आगलागीमा परी पूर्ण रुपमा नष्ट भएको शुभद्रा राजभण्डारीको ढाका व्यवसायलाई स्वावलम्बन लघुवित्त विकास बैंकले ऋण दिएर पुनः व्यवसायी बनायो । २०६३ सालमा पहिलोपटक आठ हजार रुपैयाँ कर्जा लिई पुनः ढाका व्यवसाय गर्न थालिन् । विस्तारै आम्दानी बढ्दै गयो । फलस्वरुप, दुई वटा तानबाट शुरु भएको घरेलु उद्योग १० वटा तानमा परिणत भयो । साथसाथै पसलले पनि पुँजी वृद्धिमा थप गति लिँदै गयो । आफ्नो रातदिनको मेहनत, संघर्ष र व्यवसायप्रतिको मोहले यो अवस्थासम्म आईपुगेको संरचनामा पुनः दोस्रो पटक २०७० साल असोज महिनामा म्याङलङ्गमा भीषण आगलागी भयो । जसबाट उनले करिब डेढ लाख बराबरको क्षति व्यहोर्नुपर्यो । उनको निरन्तर मेहनतबाट आर्जित १० वटा तानको उद्योग मात्र बाँकी रहेको थियो । व्यवसाय पुनः सुचारु गर्ने सिलसिलामा २०७० पौष महिनामा स्वावलम्बन लघुवित्त विकास बैंक लि. बाट डेढ लाख रुपैयाँ कर्जा लिईन् र अन्य आर्थिक स्रोतहरु जुटाई व्यवसायलाई निरन्तरता दिईन् । त्यसै क्रममा थप पुँजीको रुपमा २०७० चैत्रमा तीस हजार रुपैयाँ मौसमी कर्जा लिई व्यवसायलाई थप गतिशील बनाउँदै लगिन् र पुनः पुँजी तथा व्यवसाय बृद्घिको क्रममा निरन्तर लागिपरिन् । ढाका व्यवसायको साथसाथै सात वटा खसी बाख्रा र छ वटा बंगुर समेत पालन गरी उनीहरुले अन्यलाई समेत मेहनत र कर्मको पाठ सिकाइरहेकी छिन् । एक छोरा र एक छोरीसहित चार जनाको सानो र सुखी परिवार भएको दम्पतिले छोरालाई ९ कक्षा र छोरीलाई ८ कक्षामा बोर्डिङ्ग स्कुलको शिक्षा प्रदान गरिरहेका छन् । हाल उनीहरुसँग ४ आना घडेरी छ, जसको हालको मूल्य अनुमानित १० देखि १२ लाख रुपैयाँसम्म हुन्छ । म्याङलुङ्ग बजारमा १० वटा तानमार्फत १० जना र गाउँमा ६ वटा तान मार्फत ६ जनालाई गरी जम्मा १६ जनालाई प्रत्यक्ष रोजगारी समेत दिइरहेकी छिन् ।
रौतहतको चन्द्रनिगाहपुरमा एउटा निम्न आयस्तर भएको परिवारमा जन्मिएकी सुमित्रा दर्जीको यस्तै अटुट नाता छिमेक लघुवित्त विकास बैंकसँग छ । मिठो सपना बोकेर वि.सं. २०५० सालमा काभ्रेको वडा नं.४ पाँचखालमा बस्ने टेकबहादुर दर्जीका छोरा मोतिरामसंग विवाह बन्धनमा बाँधिएकी उनी सानो पानी चुहिने घर, त्यसमा पाँच जना दाजुभाई, आफ्नै खेतीपाती नभएको, बिहान–बेलुका हातमुख जोड्नै मुस्किल हुने परिवारको सदस्य बन्न पुगिन् । विवाहको केही वर्ष्भित्रै मेरा २ छोरा र २ छोरी भए । त्यसपछि दुःख अझै थपियो । गरीब भएका कारण छोरो विरामी हुँदा समेत कसैले ऋण नपत्याएपछि छोरो गुमाउनुपरेको पीडाले अझै पनि उनको छाती चिरिन्छ । यसरी सबैको असहयोगबाट पीडित दर्जीलाई छिमेक लघुवित्तले पत्यायो । छिमेक लघुवित्त विकास बैंक पाँचखालमा पुग्दा त्यहाँको कर्मचारीले गाउँका १५ जना महिलालाई जम्मा गर्न सल्लाह दिए । सुरुमा दुःखका साथ केही दिदीबहिनी जम्मा गरी उनले ७ दिनको तालिम लिइन् र २०६५ साल साउन १० गते सोही बैंकको सदस्य बनिन् । उनी फिरे सुमित्राका दिन । आफ्नो हातमा सीप भएपछि श्रीमान/श्रीमती मिलेर बजारमा सिलाई व्यवसाय गर्ने निधो गरे । पहिलो पटक छिमेक लघुवित्त बैंकबाट १० हजार रुपैयाँ कर्जा लिएर सिलाई मेसिन खरिद गरी व्यवसाय गर्न सुरु गरे । सिलाई व्यवसाय पनि राम्रो चल्दै गयो । पुनः २०६६ साल आसारमा २० हजार रुपैयाँ कर्जा लिई उनले सोही व्यवसायमा लगानी बढाइन् । पुनः अनुशासन कर्जा ३३ हजार रुपैयाँ थप गरी कपडा समेत राख्न थालिन् । यसरी पटकरपटक कर्जा लिँदै किस्ता तिर्दै कपडा तथा मेसिन थप्दै गरेर व्यवसाय बढाउँदै लगिन् । हाल उनको पसलमा ३ जना अन्य व्यक्तिले समेत रोजगारी पाएका छन् । छोरारछोरीलाई बोर्डिङमा पढाएकी छिन् । २५ लाख बराबरको सामान भएको पसलमा दैनिक कम्तीमा २० हजार रुपैयाँ बराबरको ब्यापार हुने गरेको उनी बताउँछिन् । यही व्यवसायबाट कमाई गरी हाल १७ लाख ५० हजार रुपैयाँ बराबरको एउटा घडेरी समेत बजारमा किनेको र व्यवसायलाई अझ व्यवस्थित गर्न धितो राखेर हाल यही बैंकबाट ५ लाख कर्जा लिई थप लगानी गरेको उनले बताइन् । यतिमात्र हैन उनले पहिले गाउँघरमा ३÷४ हजार नपत्याउनेलाई सर–सापट चलाई ‘वैगुनीलाई गुनको पैंचो’ समेत तिरेकी छिन् । कुनै अन्य संस्थाको सदस्यमा नभएको कारण छिमेकी लघुवित्त बैंकको गोल्डेन सदस्यमा परी आफ्नो आवश्यकता अनुसार कर्जा सुविधा र आकस्मिक तथा स्पेशल कार्ड समेत उनले पाएकी छिन् ।
२०७२ सालको बैशाख महिनाको महाभुकम्पले विचलित बनाएको सिन्धुपाल्चोकका खाडीचौरबासीलाई एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सम्हाल्यो । एनएमबिबाट विनाधितो कर्जा लिएर यहाँका थुप्रै महिलाहरु आर्थिक रुपमा स्वाबलम्बी बनेका छन् । मांखा गा.वि.स.को वडा नं. ४ स्थित पुरानो गाउँमा २०७० पौषमा गठन भएको केन्द्र नं. ३० मा १७ जना सदस्यहरु रहेकोमा १६ जना सदस्यले ऋण लिई आयमुलक कार्यमा संलग्न भएका छन् । केन्द्रकी सदस्य चरिमाया तामाङले सुरुमा ३० हजार रुपैयाँ कर्जा लिएर सुरु गरेको वाख्रापालनले अहिले व्यवसायिक रुप लिइसकेको छ । उनको घरमा हाल २५ वटा बाख्राहरु रहेका छन् । ब्यवसायसँगै उनले कर्जाको आकार पनि वृद्धि गर्दै गएकी छिन् । हाल एनएमबि माइक्रोफाइनान्सबाट उनले ९० हजार रुपैयाँ कर्जा लिएकी छिन् । ‘सुरुसुरुमा किस्ता तिर्न गाह्रो भएको थियो,’ उनी भन्छिन्, ‘अहिले बेलाबेलामा केही बाख्राहरु विक्री गरी किस्ता लगायत घरायसी खर्चहरु टार्ने गरेको छु ।’
सोही केन्द्रकी अर्की सदस्य काली तामाङले ५० हजार रुपैयाँ कर्जा लिएर बाख्रापालन सुरु गरेकी थिइन् । हाल उनीसँग आठ वटा बाख्रा र एउटा गाई छन् । यसै केन्द्रकी सदस्य श्रीमाया तामाङले पनि ५० हजार रुपैयाँ कर्जा लिएर नौ वटा बाख्रा पालेकी छिन् भने सुकुमाया तामाङले गाउँमा नै किराना पसल थापेकी छिन् । साथमा चार वटा बाख्रा र दुई वटा गाईवस्तु समेत पालेकी छिन् । उनी भन्छिन, ‘‘सुरुमा त ऋण लिन नै डर लाग्थ्यो । सरले ऋणको महत्व बुझाइदिनु भयो र काम गर्ने हिम्मत जुटाइदिनुभयो । अहिले पसल सानो छ, अब पसलमा सामानहरु थप गर्छु ।”
एनएमबिले जस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पाँचखालको जोकीथुम्काका महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएको छ । तीन वर्षदेखि गठित समूह नं.१०७१ मा ३३ जना सदस्य रहेको समूहमा सबै उद्यमी बनिसकेका छन् । सो समूहकी संयोजक विन्दा कार्कीले स्वरोजगार लघुवित्तबाट ऋण मात्र पाइनन्, साथमा भैँसी र गाईपालन तालिम पनि पाइन् । सीप र कर्जाको सदुपयोग गर्दै उनले चार वटा गाई किनेर पाल्न सुरु गरिन् । अहिले दैनिक ४० लिटर दूध बेच्ने गरेको उनी बताउँछिन् । ‘मैले बाख्रा र कुखुरा पनि बैंकबाटै ऋण लिएर पालेकी छु ।’ उनी गर्वका साथ सुनाउँछिन्, ‘दूधबाट वार्षिक ५ लाखदेखि साढे ५ लाख, बाख्रापालनबाट वार्षिक ५० हजार र कुखुरापालनबाट वार्षिक ४० हजार कमाउँछु । साथै, कम्पोष्ट मलबाट समेत वार्षिक ५० हजार कमाउँछु ।’ आफूले गाउँमा झन्डै ६ लाख ५० हजार त एकै वर्षमा कमाउने गरेको र वार्षिक साढे ३ लाखदेखि ४ लाख त बैंकमा नै जम्मा गर्ने गरेको उनी सुनाउँछिन् । बाँकी पैसा भने वस्तुलाई पराल, दाना, ढुटोपिठो र घरखर्चमा लगायतमा खर्च हुने गरेको छ ।
सोही समूहमा सदस्य रहेकी अञ्जु तामाङले स्वरोजगारबाट एक लाख रुपैँया ऋण लिएर दुई वटा भैँसीपालन सुरु गरिन् । अहिले उनी मासिक १० हजार रुपैँयाभन्दा बढी कमाउने भइसकेकी छिन् । उनले एक पटक लिएको ऋण भैँसी पालेरै तिरिसकिन् । अर्कोपटक लिएको ऋणको किस्ता तिर्दै छिन् । भैँसीपालनबाट पाएको सफलताले अब उनलाई बाख्रापालनतर्फ पनि लाग्ने प्रेरणा मिलेको छ । स्वरोजगारबाट ऋण लिँदा बीमा पनि सँगै हुने भएकाले झन् सहज भएको उनी बताउँछिन् । केही वर्षअघि आफ्नो एउटा भैँसी मर्दा बीमावापत ५६ हजार रुपैयाँ पाएको उनले बताइन् । अहिले उनले महिनामा ३ सय केजी ढुटो, १ सय केजी दाना, १ सय केजी पिठो र पराल खरिद गरेर पनि मासिक १२ देखि १३ हजार चोखो कमाइ गरिरहेकी छिन् । अब बाख्रा र लोकल कुखुरा पनि पाल्ने उनको योजना छ ।
यी त प्रतिनिधि पात्र मात्रै हुन्, यस्ता थुप्रै महिलाहरु पछिल्लो समय लघुवित्तले दिएको ऋणबाट उद्यमी बनेका छन् । पुरुषहरु विदेशमा पसिना बगाइरहँदा स्वदेशमै बसेर नारीहरु उद्यमशीलताको उदाहरण बनिरहेका छन् । यसरी नै विदेशबाट पठाएको रेमिट्यान्सलाई पनि मोबाइल र टिभीमा मात्रै खर्च नगरेर कुनै उत्पादनमूलक व्यवसायमा लगाउन सके कसैको परिवारले पनि विपन्न भनेर हेपिनुपर्ने थिएन ।


