Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साउन १ गतेदेखि वित्तीय क्षेत्रमा आउँदैछन् धेरै परिवर्तनहरु (हेर्नुहोस् रिपोर्टमा)

admin २०७४ असार २७ गते
सेयर:

रुपा कोइराला । नयाँ आर्थिक वर्षदेखि नेपालको बैंक तथा वित्तीय क्षेत्रमा थुप्रै परिवर्तनहरु आउँदैछन् । सुधारोन्मुख स्थितीमा रहेको नेपालको बैंक तथा वित्तीय क्षेत्रले आर्थिक वर्ष २०७४।७५ सुरु भएसँगै प्रविधि लगायत थुप्रै सुधारमा फड्को मार्ने देखिएको छ । 

१० लाख माथिको रकम चेकमार्फत अनिवार्य 
साउन १ गतेदेखि एकैपटकमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नुपरेमा अनिवार्य रुपमा बैंकको प्रयोग गर्नुपर्ने व्यवस्था लागू हुँदैछ । जसअनुसार, कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै वस्तु वा सेवाको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ्ग उपकरण मार्फत गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार, वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न; वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न; वित्तीय संस्थाहरुबीचमा नगद कारोबार गर्न तथा कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन बैंक तथा वित्तीय संख्था अथवा बैंकिङ उपकरण अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ ।

सेयर खरीदमा आस्वा प्रणाली अनिवार्य
साउन १ गतेदेखि आस्वा प्रणाली पनि अनिवार्य हुँदैछ । गत माघ १ गतेदेखि ऐच्छिक रुपमा लागू भएको यो प्रणाली नयाँ आर्थिक वर्षदेखि अनिवार्य रुपमा नै लागू हुने भएको छ । धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिने छन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्ने भएकाले सेयर खरिद गर्नका लागि यो प्रणाली निकै नै लाभदायक हुन्छ । 

ब्रोकरको कमिसनमा १३ प्रतिशत भ्याट
नयाँ आर्थिक वर्षदेखि सबै सेयर ब्रोकरले पाउने कमिशनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । सरकारको अहिलेसम्म ब्रोकरले कमिशन वापतको प्राप्त गर्ने रकममा भ्याटलागएको थिएन, आयकरमात्र तिरे पुग्ने थियो । अब भने सो करका साथै भ्याट पनि थपिने भएको हो । महालेखा परिक्षकले विगत ३ वर्षदेखि ब्रोकरको कमिशनमा भ्याट असूल गर्नुपर्ने प्रतिवदेनका आधारमा राजस्वले ३ वर्ष अघिदेखि कै भ्याट तिर्न परिपत्र गरेको थियो । तर, पुरानो कारोबारको भ्याट बिल नभएकाले कमिशनमा भ्याट तिर्न नसक्ने भन्दै र राजस्वले भनेकै दिनदेखि कर तिर्न प्रणालीगत विकास भइनसकेको भन्दै ब्रोकरहरुले गत बिहीबार सेयर कारोबार ठप्प पारेका थिए । ब्रोकरहरुले शुक्रबार साँझ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर आफूहरु मर्कामा परेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका थिए । मन्त्री कार्कीले तत्कालै राजस्वसचिब शिशिर ढुंगानालाई समस्याको समाधान खोज्न निर्देशन दिएका थिए । राजस्व सचिव र ब्रोकरहरुको छलफलले सेयर कारोबार ठप्प पारेर समस्याको समाधान नहुने निष्कर्श निकाल्दै ब्रोकरले कारोबार थाल्ने र सरकारले सरोकारवालाहरुसँग छलफल गरेर समस्याको समाधान खोज्ने सहमति भएको थियो ।

अन्तरबैंक विद्युतीय प्रणालीबाट हुने कारोबारको महशूल घट्ने
नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस) बाट हुने कारोबारको महसुल घटाएको छ । यसअघि अधिकतम १०० रुपैंयासम्म शुल्क लाग्दै आएकोमा अब बढीमा १५ रुपैंया मात्र महसुल लाग्ने क्लियरिङ हाउसले जनाएको छ । यो महशूल दर साउन १ गतेदेखि लागू हुँदैछ । क्लियरिङ्ग हाउसका सदस्य बैंकहरुले अब नेपाली मुद्राको कारोबारमा दुई रुपैंयादेखि देखि १५ रुपैंयासम्म मात्र महशूल तिर्नुपर्नेछ । क्लियरिङ्ग हाउसका अनुसार साउन १ देखि पाँच सय रुपैंयासम्मको कारोबारमा दुई रुपैंया महसुल लाग्ने छ भने पाँच सयदेखि पाँच हजार रुपैंयासम्मको कारोबारमा पाँच रुपैंया शुल्क लाग्ने छ । त्यसै गरि पाँच हजारदेखि ५० हजारसम्म १० रुपैंया तथा ५० हजारभन्दा माथिको कारोबारमा १५ रुपैंया मात्र शुल्क लाग्ने क्लियरिङ हाउसले जनाएको छ । विदेशी मुद्रा कारोबारको हकमा भने प्रति कारोबार १५ रुपैंया महसुल लाग्ने बताइएको छ । बैंक वित्तीय संस्थाहरुको आन्तरिक व्यवस्था अनुसार सेवाग्राहीलाई तोक्ने महशुल दरमा भने फरक पर्न सक्ने कम्पनीले जनाएको छ । 

भारतमा बढेका सीएले मान्यता नपाउने
नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा सीए अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । आइक्यानले २०७५ साउन १ गतेदेखि लागू गरी यस्तो निर्णय गरेको हो । जसअनुसार, अब एकवर्षपछि भारतमा पढेका सीएले नेपालमा मान्यता पाउने छैनन् । हालसम्म दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन रहेको छ । तर, भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएपछि आइक्यानले पनि भारतका पढेका सीएलाई मान्यता नदिने निर्णय गरेको हो ।

बीमा शूल्क दर घट्दै
बीमा समितिले साउन १ गतेदेखि लागू हुने गरी निर्जिवनअन्तर्गतका विभिन्न बीमालेखको बीमाशूल्क दर घटाएको छ । नयाँ दर अनुसार भवन बीमातर्फ निजी आवास, होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बीमा शुल्क बीमांक रकमको प्रतिहजार बीमांक २० पैसा कायम गरिएको छ । यसअघि, यस्तो शूल्क २६ पैसा थियो । त्यस्तै वेयर हाउस तथा गोदाम बीमा तर्फको भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाम बीमामा बीमांक रकमको प्रतिहजार बीमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । अन्य स्थानमा रहेको बन्द वेयर हाउस वा गोदामको बीमामा बीमांक रकमको प्रतिहजार बीमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको समितिले जानकारी दिएको छ । रित्तो वा निर्माणको क्रममा रहेको भवन बीमाको प्रतिहजार बिमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ । त्यसैगरी,  भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको खुल्ला वेयर हाउस वा गोदाम बीमातर्फको बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ५२ पैसाबाट घटाएर ४० पैसा कायम गरेको समितिले जनाएको छ । अन्य स्थानमा रहेको खुल्ला वेयर हाउस वा गोदा बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ८० पैसाबाट घटाएर अब ६० पैसा कायम गरिएको छ । कलकारखाना बीमा तर्फको कलकारखाना÷म्यानुफ्याक्चरिङ्ग जोखिम तथा सोको परिसर भित्र रहेको भवन तथा सरसामान बीमामा बिमांक रकमको प्रतिहाजर बिमांकमा ५० पैसाबाट ४० पैसा कायम गरिएको छ भने पसल स्टोर (थोक वा खुद्रा) शो रुम र बजार बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा १ रुपैयाँ ४ पैसाबाट ८० पैसा कामय गरिएको छ । मनोरंजन स्थलतर्फको बीमामा चलचित्र भवन, प्रदर्शनी मण्डप, मेला वा मनोरञ्जन गर्ने पार्क, सर्कस बीमा शुल्क दर बिमांक रकमको प्रतिहजार बिमांकमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको छ । यस्तै संचार स्थल तर्फको बीमामा रेडियो÷टेलिभिजन स्टेशन वा प्रशारण स्थल र दूरसंचार बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा तोकिएको छ । बिद्युत स्टेशन सम्बन्धीको सार्वजनिक बिद्युत शक्ति स्टेशन, बिद्युत प्रसारण तथा बितरण प्रणाली बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । अग्नी बीमा अन्तर्गत हाल कायम रहेको द्धेशपूर्ण कार्यको बीमाशुल्क दर बीमाङ्कको १० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई घटाएर बीमाङ्कको ५ पैसा कायम गरिएको छ । गार्हस्थ बीमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्घेशपूर्ण कार्य र बिध्वंसात्मकरआतंककारी कार्यको जोखिमको संयुक्त बीमाशुल्क दर बीमाङ्कको २० पैसा प्रतिहजार कायम गरिएको छ भने आतंककारी तथा बिध्वंसात्मक कार्य को बीमाशुल्क दर पनि परिमार्जन गरिएको छ । जस अनुसार अग्नी बीमा अन्तर्गत बीमाङ्कको २० पैसा प्रतिहजार बीमाशुल्क दर कायम गरिएको छ भने इन्जिनियरीङ्ग बीमा अन्तर्गत बीमाङ्कको ४० पैसा प्रतिहजार बीमाशुल्क दर कायम गरिएको छ । ब्यक्तिगत दुर्घटना बीमालेख अन्तर्गत हाल १० लाख रुपैयाँसम्मको बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको १० पैसा प्रतिहजार र १० लाख रुपैयाँभन्दा बढी बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको २५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख रुपैयाँसम्मको बीमाङ्कमा १० पैसा प्रतिहजार र २० लाख रुपैयाँभन्दा बढीकोे बीमाङ्कमा २५ पैसा प्रतिहजार कायम गरिएको छ । सवारी साधन बीमा अन्तर्गत मोटर बीमादर सम्बन्धी निर्दे्शिका, २०७३ बमोजिम कायम गरिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।