महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उपाध्यायले असार १८ गते डेपुटी गभर्नर सिवाकोटीसमक्ष शपथ ग्रहण गरी आफ्नो कार्यभार सम्हालेका हुन् । हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ ।
साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड तथा महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडमा नयां संचालक समितिको गठन भएको हो । मर्जर पश्चात बैंकको चुक्ता पूंजी २ अर्ब ६३ करोड पुग्न गएको छ भने निक्षेप रु. २४ अर्ब २१ करोड र कर्जा सापट रु. २० अर्ब २६ करोड पुग्न गएको छ । देशभर बैंकको ६५ वटा शाखा रहेको छन् भने् ३ लाख ६४ हजार ग्राहक आधार रहेको छ ।