Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जलविद्युत्मा लगानी गर्ने सुनौलो अवसर, छ करोडभन्दा बढी कित्ता सेयर खुल्दै

२०७४ असार १ गते

जलविद्युत् कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो नै तपाईँको लागि उपयुक्त अवसर हुन सक्छ । किनकि, यतिबेला सात वटा जलविद्युत् कम्पनीहरु सर्वसाधारणका लागि सेयर जारी गर्ने तरखरमा छन् । बुटवल पावर कम्पनीले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्दैछ भने हिमालयन पावर पार्टनर, सान्जेन, पञ्चकन्या माई, रसुवागढी र मध्य भोटेकोसी जलविद्युत् आयोजनाले सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । जसअनुसार, छिटै नै छ करोड १५ लाख ९२ हजार सात कित्ता सेयर निष्काशन हुनेछन् । हेरौँ, कुन कम्पनीको सेयर कहिले आउँदैछ ?  

असार १ देखि हिमालयन पावर पार्टनरको आईपिओ 
हिमालयन पावर पार्टनरले २१ लाख ३० हजार कित्ता साधारण सेयर असार १ गतेदेखि निष्काशन गर्नेछ । असार ५ गतेसम्म निष्काशन खुला रहने सेयरमा कम्तीमा ५० किक्त्रादेखि बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 

यसअघि नै स्थानीयका लागि १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर जारी गरि बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । जसमध्ये, कम्पनीले ४२ हजार छ सय १७ कित्ता कम्पनीका कर्मचारी र एक लाख छ हजार पाँच सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा इच्छुक व्यक्तिहरुले सेयर रेजिष्ट्रारका साथमा ग्लोबल आइएमईृ क्यापिटल जमल, हिमालयन पावर पार्टनर पानिपोखरी, ग्लोबल आइएमई बैङ्कका शाखा कार्यालयहरु आर्दशनगर, वीरजञ्ज पर्सा, न्यूरोड, पोखरा, कास्की, नेपालगञ्ज, बाँके, विराटनगर, मोरङ, मिलनचोक बुटवल, धनगढी, कैलाली, महेन्द्र नगर कञ्चनपुर, विर्तामोड र झापा रहेको छ भने त्यसैगरी, काठमाडौं क्यापिटल मार्केट, प्रभु क्यापिटल मार्केट, सिबिआईएल क्यापिटल, रिलायवल क्यापिटल, एनआइसि एशिया क्यापिटल, सानिमा क्यापिटल, एस क्यापिटल, सिभिल क्यापिटल, भिवोर क्यापिटल  काठमाडौं, सिद्धार्थ बैङ्क, कुमारी बैङ्क लिमिटेडका साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा भएका संस्थाहरुबाट आवेदन दिन तथा दरखास्त बुझाउन  सकिन्छ । 

हाल हिमालयनको चुक्तापुँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब छ करोड ५४ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशत कायम हुनेछ । 

हिमालयनले लमजुङको दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत्त आयोजना निर्माण गर्देछ । कुल चार अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको यो आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ ।

प्रतिकित्ता ५१८ रुपैयाँमा बुटवल पावर कम्पनीको एफपिओ
बुटवल पावर कम्पनीले प्रतिकित्ता ५१८ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत ४१८ रुपैयाँ थपगरी ५१८ रुपैयाँमा एफपिओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये, पाँच प्रतिशत अर्थात दुई लाख चार हजार ५० कित्ता सेयर आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई छुट्याइएको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेडले पाएका छन् । 

एफपिओबाट संकलित रकम निर्माणाधीन आयोजनामा लगानी गरिने बताइएको छ । कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । साथै बीपीसी एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पूरा गरिसकेको छ ।

चिलिमेका सहायक दुई कम्पनीले पनि सेयर जारी गर्ने
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडमा मूख्य सहायक कम्पनीहरु सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि सेयर जारी गर्दैछन् । सान्जेनले ८७ लाख ६० हजार कित्ता सेयर ऋणदाता संस्थाका कर्मचारी, संस्थापक सेयरधनी, संस्थाका कर्मचारी र कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि निष्काशन गर्न लागेको छ भने रसुवागढीले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सावधान कोषका सदस्यहरू र कर्जा प्रदायक संस्थाका कर्मचारीहरूका लागि निष्काशन गर्न लागेको छ ।  

सान्जेनको सेयर निस्कासनका लागि नागरिक लगानी कोषले सह–निष्काशन कम्पनीहरु एनसिएम मर्चेन्ट बैकिङ, सिभिल क्यापिटल मार्केट, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलसँग सम्झौता गरेको छ भने रसुवागढीको सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

दुवै कम्पनीले सेयर निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डको अनुमति पाएपछि मिति तय गरेर यी कम्पनीले सेयर निष्काशन गर्नेछन् । 

पञ्चकन्या माई हाइड्रोपावरले स्थानीयका लागि सेयर जारी गर्ने
पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले इलामका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता सेयर निष्काशन गर्दैछ । कुल २७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि एक सय रुपैयाँ अंकित दरमा ११ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । त्यसपछि, कम्पनीले सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित दरमा १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीले एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । पञ्चकन्या पनि सेयर निष्काशनका लागि नेपाल धितोपत्रबो बोर्डको अनुमतिको पखाईमा रहेको छ । 

इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ भने ६.१ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको दुई करोड ९४ लाख कित्ता आईपिओ आउँदै
मध्य भोटेकोशी जलविद्युत कम्पनीले दुई करोड ९४ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा संस्थापकबाहेक अन्य समूहलाई छुट्याइएको ४९ प्रतिशत सेयरमध्ये १९.५ प्रतिशत कर्मचारी सञ्चय कोषका संचयकर्र्ता, ३.५ प्रतिशत संस्थापक सेयरधनी र १ प्रतिशत ऋण प्रदायक कम्पनीका कर्मचारीका लागि आईपिओ निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सेयरधनीका लागि २१ लाख कित्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता साधारण सेयर बिक्री गर्नेछ ।

मध्य भोटेकोशीले दोस्रो चरणमा स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशतले हुने ६० लाख कित्ता सेयर निष्काशन गर्नेछ भने तेस्रो चरणमा जारी पुँजीको १५ प्रतिशतले हुने ९० लाख कित्ता आईपिओ सर्वसाधारण र कर्मचारीका लागि निष्काशन गर्ने बताएको छ । आइपीओ बिक्रीका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सीबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । 

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

राधी विद्युत् कम्पनीले पनि दियो धितोपत्र बोर्डमा निवेदन
गत वैशाख पहिलो साता आयोजना प्रभावित लमजुङ बासीका लागि सेयर निष्काशन गरेको राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणसका लागि सेयर जारी गर्ने प्रक्रिया पनि अघि बढाएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ २९ गते बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार पाँच सय ५० हजार कित्ता सेयर निष्काशन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । ६० करोड रुपैयाँमा सम्पन्न भएको राधी विद्युत् कम्पनीमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन् । कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ । साथै कम्पनीेले दोलखामा निर्माण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

Ad