दिपक वस्नेत । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । तपाईं हामी सबै मानिस भोली अर्थात भविष्यका बारेमा अनविज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । यसरी भोलिका दिनमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा संचालन हुने तथा विदेशी ठुला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।
जीवन बीमा
मानिसको जीवनमा बीमा अपरिहार्य रहन्छ । बीमा समिति (बीमा क्षेत्रको नियामक निकाय) ले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
क) आजीवन जीवन बीमा : बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै (बीमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।
ख) सावधिक जीवन बीमा : निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुष्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटीएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
ग) म्यादी जीवन बीमा : सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।
नेपालमा बीमाको सुरुवात
नेपालमा बीमा व्यवसायको सुरुवातका सम्बन्धमा बीमा विज्ञ चन्द सिंह साउद लेख्छन–‘नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरुले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टर (कम्पनिको प्रतिनिधि) मार्फत नेपालमा बीमा व्यवसाय चालएका थिए । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ । बैंकिङ कारोबारको बृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।
नियामक निकाय
बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । उक्त नियामक निकायले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा र समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने हुँदा बीमा कम्पनिहरुले आफूखुसी काम गर्न सक्दैनन् । जसले गर्दा उनीहरुप्रतिको विश्वास कायम गरहन्छ ।


