ब्रोकर कम्पनीहरुले अब चुक्तापुँजी दुई करोड रुपैयाँ पुर्याउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ब्रोक्रर कम्पनीको चुक्ता पुँजी २० लाख रुपैयाँबाट १० गुणा बढाएर दुई करोड रुपैयाँ पुर्याएको हो । बोर्डले नेपाल सरकारको स्वीकृतिमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा संशोधन गर्दै चुक्ता पुँजी बढाएको हो ।
यसबाहेक, संशोधित नियमावलीमा बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने उल्लेख छ । त्यस्तै बोक्रर कम्पनीको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ ।