महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराई हुन् । नेपाल बैंकमा एक्टिङ मेनेजरको रुपमा लामो समयसम्म काम गरेका भट्टराईले एसियन लाईफ इन्स्योरेन्स तथा महालक्ष्मी फाइनान्सको सिइयो तथा नेपाल वीमक संघको नेतृत्व समेत सम्हालिसकेका छन् । पर्साको विरगञ्जमा प्राथमिक स्तरको शिक्षा हासिल गरेका उनले विरगञ्जकै ठाकुराम कलेजबाट उच्च शिक्षा हासिल गरे । स्नातकोत्तर अध्ययनका लागि काठमाडौं प्रवेश गरेका भट्टराईले शंकदरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरेका थिए । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको अधिकृत स्तरबाट बैंकिङ करियर शुरु गरेका भट्टराई हाल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । ३ वटा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएर बनेको महालक्ष्मी बैंक सफल विकास बैंकमध्येको एक हो । महालक्ष्मी विकास बैंकको अहिले चुक्त पूँजी सवा अर्ब रुपैयाँ छ । थप कसरत गरे आगामी असार मसान्तसम्ममा बैंकले राष्ट्रिय स्तरको विकास बैंकको चुक्ता पूँजी पुर्याउन सक्ने आकलन गरिरहेका बेला यति विकास बैंकसँग मर्जरमा जाने सहमति गरिसकेको छ । मर्जरपछि बैंकको नाम महालक्ष्मी विकास बैंक हुने र सिइओ पनि उनै भट्टराई हुने सम्झौता गरिएको छ । यसै सन्दर्भमा महालक्ष्मी विकास बैंकका सिइओ भट्टराईसँग बैंकिङ खबर डककमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था बारे वताइदिनोस न ।
महालक्षमी विकास बैंकको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ छ । अब ७.० प्रतिशत बोनस सेयर दिँदा हाम्रो करिब १ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी हुन्छ । त्यसमा हाम्रो १२ अर्बको हाराहारीमा डिपोजिट छ । १० अर्ब जति कर्जा लगानी रहेको छ । पौष मसान्तमा हामीले १२ करोड नेट प्रोफिट गरेका छौँ । अहिले २ लाख ४५ हजार जति हाम्रो क्लाइण्ट छन् । देशका विभिन्न स्थानहरुमा हाम्रो ४५ वटा शाखा कार्यालयहरु छन् । हाम्रा बिभिन्न शाखा कार्यालयहरुमा ३ सय ५५ कर्मचारीहरु कार्यरत छन् ।
अलि कसरत गर्नुभएको भए यस बैंकले चुक्ता पूँजी पुर्याउन सक्ने देखिएको थियो, किन मर्जरको बाटो रोज्नु भयो ?
मर्जर भनेको बाध्यता हो कि आवश्यकता भन्ने बुझ्नु जरुरी छ । जसले चुक्ता पूँजी पुर्याउनै सक्दैनन, जसले लगानीकर्ताले चाहे जस्तो रिटर्न दिन सक्दैन, जो राष्ट्र बैंकले निर्दिष्ट गरेको सुशासनमा रहन सक्दैनन्, तिनीहरु बाध्यताले गर्दा मर्जरमा जानु पर्ने हुन्छ । मर्जरमा जानुको विकल्प नभए पनि के गर्ने ? तर, हामी बाध्यताले मर्जरमा गएका होइनौं । हामीले यसलाई आवश्यकता रुपमा परिभाषित गरेका छौँ । पूँजी बृद्धि गर्न सबै हाम्रा संस्थापकहरु सक्षम थिए । पूँजी बृद्धि गर्दैमा हामीले त्यो अनुसारको म्यानेज गर्न सकेनौ भने रिटर्न राम्रो दिन सक्दैनौं । अहिले मुद्दतीभन्दा बढी रिटर्न दिन सकेनौँ भने इमेज राम्रो नहुने हुन्छ ।
मर्जर पछि कर्मचारी व्यवस्थापनमा समस्या हुँदैन ?
नेपालमा मात्रै होइन संसारमा नै मजरमा जाँदा प्रविधि र एचआरमा समस्या हुने गर्दछ । त्यसमा प्रविधिलाई त नयाँ इन्भेष्टमेण्ट प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ तर विभिन्न संस्कार र तरिकाबाट कार्य गरिरहेका कर्मचारीहरुलाई एकिकृत गर्न धेरै चुनौति हुन्छ । त्यो चुनौति हामीले पनि विगतमा फेस गरेका छौँ । तर, म खुलेर भन्छु अब हुने हाम्रो मर्जरमा एच आर सम्बन्धी कुनै पनि समस्या छैन ।
मर्जर पछि देखिने अन्य चूनौतिहरु के-के हुन ?
मूख्य रुपमा मर्जर पछिका चुनौति भनेका प्रविधि र एचआर मेनेजमेन्ट नै हो । किन भने तीनवटा वित्तीय संस्थाहरु मर्जर भएर भर्खरै ठीक ठाउँमा आएका थियौँ । अब झन समान तहको दुई वटा संस्था मर्जर गर्दा त्यहाँ जटिल रुपमा देखा पर्ने भनेको एचआर मेनेजमेन्ट नै हो । कुन तहका कर्मचारीहरुलाई कसरी व्यवस्थापन गर्ने, केन्द्रीय कार्यालयका डिपार्ट हेडहरुलाई कसरी मेनेज गर्ने भन्ने चुनौति छ । यति र महालक्षमीको पूँजी लगायत सबै कुरा समान तहमा छ । हामीले स्टाफहरुलाई कुनै मार्का नपर्ने गरी व्यवस्थापन गर्नेछाँै ।
मर्जर प्रक्रिया अहिले कहाँ पुग्यो त ?
मर्जर प्रक्रियामा हामीले चैत्र १ गते एमओयू गर्यौ, २ गते हामीले नेपाल राष्ट्र बैंकमा एलओआईको लागि निवेदन दियौँ । मैले भर्खरै बुझे अनुसार नेपाल राष्ट्र बैंकले आगामी आषाढ मसान्त भित्रैमा मर्जर प्रक्रिया सक्ने गरी फाष्ट ट्राकमा काम गरिरहेको छ । आउदो साता सम्ममा हामीले अन्तिम स्वीकृति पाउँछौँ भन्नेमा मलाई बिश्वास छ ।
तपाईको विचारमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको लगानी कत्तिको सुरक्षित रहेको छ ?
बैंक तथा वित्तीय संस्थाहरुको लगानी नेपालको सन्दर्भमा त म सुरक्षित नै देख्छु । अहिले बैंक वित्तहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक बलियो रुपमा प्रस्तुत भएको छ । विगतका दिनहरुमा बैंकिङ क्षेत्रहरुमा जुन विकृति देखा परेको थियो, त्यसलाई ठीक ठाउँमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकले माइक्रो मेनेजमेन्ट गरिरहेकाले यहाँका बैंक तथा वित्तीय संस्थाहरु पनि सुरक्षित छन र बैंक तथा वित्तीय संस्थाहरुले गरेको लगानी पनि सुरक्षित नै छन् ।
अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने सम्भावना प्रवल हुन्छ होइन ?
अनुत्पादक क्षेत्रमा गएको लगानी हाई रिक्स त हुन्छ नै त्यसमा दुईमत छैन । अनुत्पादक क्षेत्रमा धेरै लगानी गरेकाले बिभिन्न नकरात्मक संकेतहरु देखापरिसकको थियो । तर, नेपाल राष्ट्र बैंकले बेलैमा त्यसलाई बिचार गरेर अनुत्पादक क्षेत्रमा हुने लगानी माथी कडाई गरिसकेको छ । राष्ट्र बैंकको यो अभ्यासले मेरो बिचारमा अब त्यो समस्या भविष्यमा हुँदैन ।
महालक्ष्मी विकास बैंकले उत्पादनशिल क्षेत्रमा कत्तिको लगानी गरेको छ ?
हामीले उत्पादनशिल क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको भन्दा पनि बढी लगानी गरेका छौँ । हामीले उद्योग, व्यापार र कृषिमा विशेष प्राथमिकताका साथ लगानी गरेका छौँ ।
नेपालका बैंकहरुको प्रविधि त्यति सुरक्षित छैन भनिन्छ, महालक्ष्मी विकास बैंकका प्रविधिहरु कत्तिको सुरक्षित छन् ?
प्रविधि भनेको संसारका कुनै पनि शतप्रतिशत सुरक्षित छैनन । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा त्यहाँको प्रविधिहरु ह्याक भएको खबर तपाई हामीले सुनेकै हौँ । त्यसकारण हामी पनि पूर्ण सुरक्षित छौँ भन्दिन । पछिल्लो समय बिभिन्न संघसंस्थाहरुले प्रवधिलाई कसरी सुरक्षित राख्न सकिन्छ, एटिएम पनि अहिले चिप्स बेसमा आएको छ । हिजोको भन्दा आज प्रविधिहरु सुधारिएका छन् । अहिले हाम्रा विभिन्न सफ्टवेयर प्रविधिहरु बाहिरबाट दुरुपयोग अथवा मिसयुज नहोस भनेर विभिन्न सावधानिहरु अपनाएका छौँ ।
अबको ५ बर्षभित्रमा सबै बैंक एकै किसिमको हुन्छ भन्ने कुरा उठेको छ, यो अभ्यासलाई तपाई के भन्नुहुन्छ ?
सरकार र राष्ट्र बैंकले ५ बर्षे रणनीति तयार गरेको भन्ने सुनेको छु । यसमा युनिभर्शल बैंकिङ लागु गर्ने भनेर पनि कुरा भइरहेको छ । युनिभर्शल बैंकिङ अन्तर्राष्ट्रिय मूल्यांकन अनुसार सबै वित्तीय संस्थाहरुलाई एकै किसिमको बनाउने नियम हो । पूँजी अनुसार सबै बैंहरुलाई काम गर्न दिएमा राम्रै प्रभाव पार्छ जस्तो मलाई लाग्छ ।
नेपाल राष्ट्र बैंकले फोर्स मर्जर ल्याउने बहस पनि छ, यो कत्तिको आवश्यक छ ?
विगतका दिनहरुमा बैंक वित्तीय संस्थाहरु जुन लहरको रुपमा खुले, एक हिसाबमा यो राम्रै कुरा हो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिले चाहेको जस्तो बैंकहरुको संख्या नघटेकाले फोर्स मर्जर नीति ल्याउँदा त्यति फरक पर्दैन भन्ने मेरो सोचाई छ ।
समग्रमा विकास बैंकहरुका चुनौतिहरु के–के हुन् ?
विकास बैंकको हालका चुनौति भनेको सहकारी, लघुवित्त, फाइनान्स तथा विकास बैंकले एकै किसिमको कारोबार गर्ने हुँदा यो अलि चुनौतिको रुपमा देखा परेको छ । विकास बैंकले गर्ने कार्य सबै अन्य वित्तीय संस्थाहरुले गर्नु त्यति उचित होइन होला । तर, विकास बैंकमा मैले त्यति ठूलो चुनौतिहरु देखेको छैन । सबैले लगानीको रिटर्न दिइरहेका छन् ।
सरकारले नगद कारोबारको सीमा निर्धारण गरेको छ, यसमा तपाईको धारणा के छ ?
छिमेकी मूलुक भारतले क्यासलेस ट्रान्जेक्शन नीति ल्यायो भने नेपालले १० लाखको सीमा निर्धारण गर्नु नराम्रो कुरा होइन । १० लाख होइन, अझै ५ लाख सीमा निर्धारण गर्नु पर्ने । यो नीतिले अबैध कारोबार र कालो धन्दालाई निरुत्साहित पार्छ । सरकारले तोकेको नगद कारोबार सिमा निर्धारणले क्षणिक होइन दुरगामी फाइदा पुग्छ । यो राम्रो कुरा हो ।
नेपाल राष्ट्र बैंकले अहिले घर तथा गाडी कर्जामा कडाई गरेको छ, यो कडाईले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पार्छ ?
नेपालको अर्थतन्त्र हेर्ने हो भने अहिले आयातमूखि अर्थतन्त्र छ । भविष्यका लागि यो शुभ संकेत होईन । सरकारको राजस्व उत्पादनशिल क्षेत्रबाटै बढी प्राप्त भयो भने मूलुकको आर्थिक विकास दिगो हुन्छ । राष्ट्र बैंकले अनुत्पादनशिल क्षेत्रहरु घर तथा गाडी कर्जामा गरेको कडाईलाई म राम्रै मान्छु ।
नेपाल राष्ट्र बैंकको नयाँ नीति पछि उत्पादनशिल क्षेत्रमा प्रगति होला ?
बैंकहरु बढी नाफामूखी भएका छन् । बैंकरहरु छान्दा पनि कसले बढी नाफा दिन सक्छ भनेर छान्ने गरिन्छ । राष्ट्र बैंकको पछिल्लो नीतिले क्षणिक रुपमा नकारात्मक असर गरे जस्तो देखिए पनि लामो समस सम्मका लागि भने सकरात्मक प्रभाव पार्छ ।
राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ?
अर्थतन्त्रको विकास र शुसासनका लागि राजनीति स्थिर हुनु आवश्यक छ । राजनीतिक स्थिरता भएन भने बिदेशी लगानीहरु भित्रिन सक्दैनन । त्यसैले नेपालमा राजनीतिक स्थायित्व हुनु आवश्यक छ ।
तपाई लामो समय बैंकिङ क्षेत्रमा हुनुहुन्छ, तपाईको बिचारमा नेपालको अर्थतन्त्रलाई बलियो बनाउन के गर्नुपर्ला ?
नेपाल एउटा सानो देश हो । तर आर्थिक समृद्धिका लागि नेपालमा सम्भावनाहरु प्रशस्तै छन् । राजनीतिक अस्थिरताका कारण सम्भावना हुँदाहुदै पनि मूलुक आर्थिक रुपमा समृद्ध हुन सकेको छैन । नेपालको नेतृत्व गर्ने एक सक्षम र राम्रो व्यक्ति आउने हो भने पाँ बर्षमा नेपालमा कायापलट हुनेछ । नेपालको आर्थिक विकास गर्न धेरै सजिलो छ । पर्यटन, जडीवुटि, खानीजन्य उद्योग, विजुली, सडक लगायतमा विशेष ध्यान दिएर लगानी गर्ने हो भने नेपालको आर्थिक स्तोरोन्नती चाडो हुन्छ ।


