Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सनराइजमा विलय भयो एनआईडीसी क्यापिटल, सुरु भयो एकीकृत कारोबार

२०७३ माघ २८ गते

सनराइज बैंक लिमिटेडले एनआइडीसी क्यापिटल मार्केट्स लिमिटेडलाई खरिद गरेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । माघ १३ गते एक्विजिसनका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको बैंकले सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । कम्पनी रजिष्ट्रार कार्यालयले एक्विजिसनका लागि गत सोमबार स्वीकृति दिएको थियो । सनराइजले एनआडीसीलाई एक्वायर गर्ने सम्बन्धमा दुवै संस्थाको पुस २५ मा सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाबाट विशेष प्रस्ताव पारित भएको थियो । 

एनआइडीसीलाई एक्वायर गरेपछि यस संस्थाको सम्पूर्ण सम्पति तथा दायित्व सनराइज बैंकले स्वीकार्ने छ । सनराइजसँग एनआइडीसी क्यापिटलको स्वाप रेसियो ६५ प्रतिशत कायम गरिएको छ । यसआधारमा एनआइडीसीको एक सय कित्ता सेयर हुनेले अब सनराइज बैंकको ६५ कित्ता पाउनेछन् । 

हाल सनराइज बैंकको चुक्तापुँजी तीन अर्ब ९७ करोड रुपैयाँ छ भने एआईडीसी क्यापिटल मार्केटको चुक्तापुँजी २० करोड रुपैयाँ छ । आगामी असार मसान्तसम्ममा आठ अर्ब चुक्तापुँजी पुर्याउने दौडमा रहेको सनराइज बैंकले गत आर्थिक वर्षको कमाईबाट ३३.३३ प्रतिशत बोनस सेयर दिँदैछ । बैंकले हाल एक्विजिसनअघिको चुक्तापुँजीको ३३.३३ प्रतिशत बोनस सेयर दिन लागेको हो । उक्त एक्विजिसन र बोनस सेयरपश्चात् सनराइज बैंकको चुक्तापुँजी साढे पाँच अर्ब पुग्नेछ ।  सनराइजले यसअघि नारायणी नेशनल फाइनान्सलाई एक्वायर गरेको थियो ।