January 27th, 2017

गभर्नर डा. नेपाल भन्छन्– निक्षेप संकलनमा बैंकहरुको मनोमानी नियालिरहेका छौँ

पछिल्लो बैंकहरुको लगानी अनुत्पादक क्षेत्रमा बढेको छ । यसलाई हामीले सार्है राम्रो संकेतका रुपमा बुझेका छैनौँ । वाणिज्य बैंकको लगानी अलि गलत बाटोतिर पो गएको हो कि भन्ने हाम्रो बुझाई हो । मैले बारम्बार बैंक तथा वित्तीय संस्थाको कार्यक्रममा भन्ने गरेको छु कि बैंक तथा वित्तीय संस्था कुनै व्यक्तिको बिजनेस हाउस होइन । यस्ता संस्था निजी पनि हुँदैनन् । यी संस्थाहरु सर्वसाधारणबाट निक्षेप संकलन गरेर त्यसलाई सहि ठाउँमा सदुपयोग गर्ने बाचाका साथ केन्द्रीय बैंकको स्विकृति पाएर खोलिएका हुन्छन् । तर विडम्बना के छ भने, यस्ता संस्थालाई निजी संस्थाको रुपमै हेरिन्छ । र यी संस्थाले काम पनि त्यस्तै प्रवित्तिको गरेको महशुस हुन्छ । त्यसैले गलत तरिकाबाट हौसिएर बढी नाफाको लोभमा कसैले जनताको निक्षेपलाई गलत तरिकाबाट लगानी गर्छ भने त्यसलाई केन्द्रीय बैंकले त्यस्तालाई छाड्दैन । त्यो निश्चित छ । किन भने अहिले निक्षेपभन्दा लगानी जुन रुपमा बढ्यो यसमा हामी अत्यन्त सजक छौँ । यसमा पनि कुरा स्पष्ट छ कि वित्तीय स्थायित्वको लागि जुन सिलिङ २०–८० को तोकिएको छ त्यो सिलिङ कुनै स्थितिमा पनि परिवर्तन हुँदैन् । त्यो सिलिङ इन्टरनेशनल गाइडिङ सिलिङ हो । अन्तर्राष्ट्रिय स्तरमा गाइडेड त्यो सिलिङमा तलमाथी हुँदैन् । वाणिज्य बैंकहरुले निक्षेप संकलनमा जोड दिनुपर्छ । एउटा सामान्य व्यक्तिले अहिले बैंकमा कति २ देखि ३ प्रतिशतमा रकम राखेका छन् । ४–५ प्रतिशत बनाइदिने हो भने त्यो पैसा अनौपचारिक क्षेत्रमा जाँदैन ।

तर वाणिज्य बैंकहरुको मनोमानी के देखियो भने, संस्थागत लगानीकर्तालाई बढीभन्दा बढी व्याज दिन पनि तयार हुने तर साधारण निक्षेपकर्तालाई चाहिँ अत्यन्तै कम किन ? यस कुरालाई पनि हामीले निकै गम्भीरताका साथ हेरेका छाँै । केन्द्रीय बैंकले हेरिमात्रै रह्यो भनेर कसैले नसोचे हुन्छ । मनलाग्दी गर्ने काम पनि बन्द गर्न हामीले सचेत गराइरहेका छौँ । भविष्यमा केन्द्रीय बैंकको कडा भन्दा कडा निर्देशन आउन सक्ने स्थितिप्रति वाणिज्य बैंकहरु सजग रहनुपर्छ । बैंकमा काम गर्ने साथीहरुलाई म के सचेत गराउन चाहान्छु भने तपाईहरुको पैसा लगानी गर्दा, भायवल प्रोजेक्ट हेरेर गर्नुस । हतार गरेर आत्तिएर तुरुन्त लाभ खाने तरिकाले लगानी नगर्नुस् । स्वच्छ र स्वस्थ बैंक वित्तीय संस्था बनाउनका लागि यो पनि मैले मेसेज दिन खोजिरहेको छु ।

एकापटि एउटा बहस पनि छ कि तोकिएको समयभित्र बैंकहरुले चुक्ता पुँजी पुर्याउन सकेनन् भने नि ? ०६२ सालदेखि अहिलेसम्म २ अर्ब पनि पुर्याउन नसकेका बैंकलाई कति समय दिने ? उतापट्टि अर्बपति क्लब खोल्ने । यो त लज्जास्पद कुरा भएन र ? २ अर्ब पुर्याउन नसक्ने अर्बपति क्लब खोलेर हरेक साल अर्बभन्दा माथि नाफा हुने, संसारमा कुन व्यवसायमा शतप्रतिशभन्दा बढी नाफा हुन्छ ? केही नजान्ने मान्छेले भन्छ– हुँदैन भनेर । एकातिर अर्बपति क्लब खोल्ने अर्कोतिर पूँजी पुर्याउन नसक्ने । पूँजी पुर्याउ भन्यो भने अनेक हजकण्ड निकालेर आफू हट्नु पर्छ की सीईओ हट्नु पर्ने स्थिति आउँछ की ? वा आफ्नो बैंकमा लगानी गरेकोले त्यो लगानी आफूले पुर्याउन सक्दैन भनेर पूँजी पुर्याउँदा यस्तो हुन्छ भनेर अनेक रुपमा गलत कुराहरु बजारमा प्रचार गर्ने परिपाटी पनि मैले देखिरहेको छु । त्यसैले अन्तर्राष्ट्रिय समर्थन प्राप्त नेपालको केन्द्रीय बैंक यस्ता कुराहरुबाट कमजोर हुँदैन ।  केन्द्रीय बैंकको एउटै उद्देश्य वित्तीय स्थायित्व हो । देशभित्र वित्तीय स्थायित्वको लागि हामी कसैले भनेर, कसैको प्रभावमा परेर, कसैले पूँजी पुर्याउन नसकेर गर्ने अनेक कुरा गर्छन भन्दैमा केन्द्रीय बैंकले मतलव गर्दैन । केन्द्रीय बैंकको भनाई एउटै हुन्छ कि जनताको निक्षेप सुरक्षित हुनुपर्छ । त्यसको सदुयोग हुनुपर्छ । र अर्को कुरा स्वच्छ र पारदर्शी कारोवार हरेक बैंक वित्तीय संस्थाहरुमा हुनुपर्छ ।

वाणिज्य बैंकहरुले हामी नाफाकै लागि मात्रै हौँ, हामीले सामाजिक उत्तरदायित्व त पूरा गर्नपर्दैन, अरुले नै गरिहाल्छन् नि भन्ने कुरा सोच्नुहुँदैन । मुलुकको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका ठूलो हुन्छ । बैंक तथा वित्तीय संस्था भनेका ट्रष्टी हुन्छन् । त्यसैले ट्रस्टी संस्थाले नाफामात्रै खोज्ने होइन । जुन रुपबाट अर्थ व्यवस्था अगाडी बढ्छ र जुन रुपबाट केन्द्रीय बैंकले निर्देशन दिन्छ त्यहि रुपमा अगाडी जानुपर्छ । त्यो प्रेसर गर्ने वित्तिकै जथाभावि तरिकाले लगानी गरेर नाफा देखाउने कोसिस बैंकरले नगरुन भन्ने कुरामा म सचेत गराउन चाहान्छु । त्यसैले पछिल्लो समय वाणिज्य बैंकको लगानी जुन रुपले अघि बढेको छ । त्यसलाई केन्द्रीय बैंकले नजिकबाट राम्ररी नियालिरहेको छ । त्यसैले केन्द्रीय बैंकले प्राथमिकतामा राखेको क्षेत्रलाई वाणिज्य बैंकहरुले वेवास्ता नगरुन् । आगामी दिनमा वाणिज्य बैंकहरुको लगानी अत्यन्त विकट र दुर्गम स्थानमा पनि होस् । (गभर्नर डा. नेपालले राष्ट्रिय वाणिज्य बैंकको ५२ औँ वार्षिकोत्सवलाई गरेको सम्बोधनमा आधारित) 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]