२०७३ माघ ११ गते

ओम डेभलपमेन्ट बैंकले गर्यो कमालको प्रगती, झन्डै तीन गुणाले बढ्यो खुद मुनाफा

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ओमले छ करोड ३९ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

ओमले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि कमालको प्रगती हासिल गरेको छ, जसले खुद मुनाफा वृद्धिमा सहयोग गरेको छ । बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुबै गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा साढे दुई गुणा बढेको छ । जसअनुसार, बैंकको खुद व्याज आम्दानी १२ करोड ८५ लाख रुपैयाँबाट बढेर ३५ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० करोड चार लाख रुपैयाँबाट बढेर २८ करोड २४ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा साढे दुई गुणाले बढेका छन् । बैंकको निक्षेप पाँच अर्ब ३३ करोड २५ लाख १४ हजार रुपैयाँबाट बढेर १२ अर्ब ९९ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी चार अर्ब ४४ करोड ६९ लाख ८१ हजार रुपैयाँबाट बढेर ११ अर्ब ४३ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुगेको छ । 

चालू आवको दोस्रो त्रैमासमा बैंकको जगेडा कोष २ गुणा बढेर ४५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । निष्कृय कर्जा १ दशमलव २६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.४२ प्रतिशत थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १.९६ प्रतिशत रहेको थियो । पुस मसान्तसम्ममा ओम डेभलपमेन्ट बैंकको प्रतिसेयर नेटवर्थ एक सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ भने तरलता अनुपात २६.३२ प्रतिशत रहेको छ ।