Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकले आर्जन गर्यो ३७ करोड रुपैयाँ मुनाफा

२०७३ माघ ९ गते

मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोसो त्रैमासमा ३७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ दशमलव ९२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मेगाले २२ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

चार अर्ब एक करोड २० लाख रुपैयाँ चुक्तापुँजी भएको मेगा बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य प्रगती गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ७९ दशमलव १६ प्रतिशतले बढेर ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा एक सय नौ दशमलव १२ प्रतिशतले बढेर ५२ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा मेगाले ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब एक करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलनमा ६३ दशमलव ७१ प्रतिशत र कर्जा प्रवाहमा ६६ दशमलव २० प्रतिशत वृद्धि गरेको हो । 

निष्कृय कर्जा शुन्य दशमलव ४४ प्रतिशतले घटाएर शुन्य दशमलव ४४ प्रतिशत पुर्याएको बैंकको जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ४३ प्रतिशतले बढेर १३ दशमलव ३५ प्रतिशत पुगेको छ । बैंकले जगेडाकोषमा एक अर्ब ३० करोड ७६ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा १३ करोड ४२ लाख रुपैयाँ राखेको जनाएको छ । यो अवधिमा मेगाले पाँच करोड रुपैयाँ खराब कर्जा उठाएको छ ।

पुस मसान्तसम्ममा मेगा बैंकको प्रतिसेयर आम्दानी नौ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ४३ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३२ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ३१ प्रतिशत रहेको छ ।