Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिलको पाँच वर्षे सामाजिक उद्यमशीलता अभियान : ३१८ उद्यम, १९ हजारलाई रोजगारी

२०८३ मंसिर ११ गते

बैंकिङ खबर  /  नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता प्रवर्द्धन कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले पाँच वर्षको अवधिमा ३१८ वटा सामाजिक उद्यम स्थापना गर्न सहयोग गरेको छ । यी उद्यममार्फत १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएका छन् ।

सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले पाँच वर्षमा १ हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान गरेको बैंकले जनाएको छ । सामाजिक समस्या पहिचान गरी उद्यमशीलताको माध्यमबाट दिगो समाधान खोज्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । फेलोसिपका छ समूहबाट ११३ जना प्रशिक्षित भएका छन् । उनीहरूको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भएका छन् । त्यस्तै, विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालित सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन् । उनीहरूको सहभागितामा २२५ वटा उद्यम स्थापना भएका छन् ।

नबिल एसएसईले युवाका नवीन सोचलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्न आवश्यक ज्ञान, सीप, परामर्श तथा व्यावसायिक सञ्जाल उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सहभागीलाई व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मापन र लगानी आकर्षणलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिन्छ ।

कार्यक्रमबाट प्रशिक्षित उद्यमीहरूले कृषि, पर्यटन, प्रविधि, हस्तकला, सूचना प्रविधि तथा मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा उद्यम सञ्चालन गरिरहेका छन् । स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गर्दै सामाजिक, आर्थिक तथा वातावरणीय समस्या समाधान गर्ने उद्यमलाई कार्यक्रमले प्राथमिकता दिँदै आएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पाँच वर्षको उपलब्धिले सामाजिक उद्यमशीलताको माध्यमबाट दिगो परिवर्तन सम्भव रहेको देखाएको बताएका छन् । उनका अनुसार उचित ज्ञान, मार्गदर्शन र अवसर पाए नेपाली युवाले आफ्ना नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय तथा राष्ट्रको विकासमा योगदान दिन सक्छन् ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको नबिल एसएसई फेलोसिप छ महिनाको क्षमता विकास कार्यक्रम हो । यसमा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, व्यावसायिक मोडल विकास र लगानीकर्तासमक्ष व्यावसायिक योजना प्रस्तुत गर्नेलगायत गतिविधि समावेश छन् ।

बैंकका अनुसार हाल फेलोसिप कार्यक्रमको सातौँ समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साथै, विभिन्न साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्स समूह सञ्चालन भइरहेका छन् ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र समावेशी आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

Ad