Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

थोरै पैसाले धेरै सेयर किन्न सकिने, के हो मार्जिन कारोबार ?

२०८३ मंसिर ११ गते

बैंकिङ खबर / सेयर बजारमा लगानी गर्न आफूसँग पर्याप्त पूँजी नहुँदा पनि ब्रोकरबाट ऋण लिएर सेयर खरिद गर्न सकिन्छ । आफूसँग भएको रकममा ब्रोकरबाट थप रकम जुटाएर आफ्नो पूँजीभन्दा बढी मूल्यको सेयर खरिद गर्ने प्रक्रियालाई मार्जिन कारोबार (Margin Trading) भनिन्छ ।

मार्जिन कारोबारमा लगानीकर्ताले सेयर खरिद गर्न आवश्यक कुल रकमको निश्चित हिस्सा आफैँले लगानी गर्नुपर्छ भने बाँकी रकम ब्रोकरले ऋणका रूपमा उपलब्ध गराउँछ । यसले सीमित पूँजी भएका लगानीकर्तालाई पनि तुलनात्मक रूपमा ठूलो रकमको सेयर कारोबार गर्ने अवसर प्रदान गर्छ ।

नेपालमा मार्जिन कारोबारलाई व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ । उक्त निर्देशिका २०८२ फागुन १ गतेदेखि लागू भएको हो ।

कसरी हुन्छ मार्जिन कारोबार ?

मार्जिन कारोबारमा लगानीकर्ताले सेयर खरिद गर्न चाहेको कुल रकमको कम्तीमा ३० प्रतिशत रकम प्रारम्भिक मार्जिनका रूपमा जम्मा गर्नुपर्छ । बाँकी रकम ब्रोकरले ऋणका रूपमा उपलब्ध गराउन सक्छ ।

उदाहरणका लागि, कुनै लगानीकर्ताले एक लाख रुपैयाँ बराबरको सेयर खरिद गर्न चाहेमा कम्तीमा ३० हजार रुपैयाँ आफैँले लगानी गर्नुपर्छ । बाँकी ७० हजार रुपैयाँ ब्रोकरबाट प्राप्त ऋण प्रयोग गरेर सेयर खरिद गर्न सकिन्छ ।

यसरी सीमित पूँजीबाट ठूलो रकमको सेयर कारोबार गर्न सकिन्छ । तर, ब्रोकरले लगानीकर्ताको जोखिम मूल्यांकन र बजारको अवस्थाका आधारमा ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिनसमेत माग गर्न सक्छ ।

सबै कम्पनीको सेयरमा पाइँदैन सुविधा

मार्जिन कारोबार सुविधा नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयरमा उपलब्ध हुँदैन । यसका लागि सम्बन्धित कम्पनीले निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ ।

मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर ( लकइन अवधिमा रहेका सेयरबाहेक ) नेप्सेमा सूचीकृत भएको हुनुपर्छ । त्यस्तै, कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नभएको, पछिल्लो तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको र आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

त्यसैले मार्जिन कारोबार गर्नुअघि लगानीकर्ताले आफूले खरिद गर्न चाहेको कम्पनीको सेयर योग्य सूचीमा समावेश भए वा नभएको जानकारी लिनुपर्छ ।

सेयरको मूल्य घटेमा आउँछ मार्जिन कल

मार्जिन कारोबारमा लगानीकर्ताले कारोबारपछि पनि न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्छ । बजारमा सेयरको मूल्य घट्दा लगानीकर्ताको मार्जिन निर्धारित सीमाभन्दा तल झर्न सक्छ ।

यस्तो अवस्थामा ब्रोकरले लगानीकर्तालाई थप रकम वा योग्य धितोपत्र जम्मा गर्न सूचना दिन्छ । यसलाई मार्जिन कल (Margin Call) भनिन्छ ।

मार्जिन कल आएपछि तोकिएको समयभित्र आवश्यक मार्जिन कायम गर्न नसकेमा ब्रोकरले लगानीकर्ताको खातामा रहेको सेयर बिक्री गरेर आफूले उपलब्ध गराएको ऋण असुल गर्न सक्छ । मार्जिन १५ प्रतिशतभन्दा तल झरेको अवस्थामा भने नेप्सेको कार्यप्रक्रियाअनुसार तत्काल सेयर बिक्री गर्न सकिने व्यवस्था छ ।

अवसरसँगै जोखिम पनि उत्तिकै

मार्जिन कारोबारको मुख्य आकर्षण सीमित पूँजीबाट ठूलो रकमको सेयर खरिद गर्न सकिने सुविधा हो । बजारमा सेयरको मूल्य बढेमा आफ्नै लगानीको तुलनामा बढी प्रतिफल प्राप्त गर्ने सम्भावना हुन्छ । तर, बजार घटेमा नोक्सानी पनि त्यही अनुपातमा बढ्न सक्छ ।

यसका अतिरिक्त ब्रोकरबाट लिएको ऋणको ब्याज तथा अन्य सेवा शुल्कसमेत तिर्नुपर्ने हुन्छ । सेयरको मूल्य घटिरहँदा थप रकम जम्मा गर्नुपर्ने अवस्था आउन सक्छ । आवश्यक मार्जिन कायम गर्न नसकेमा ब्रोकरले सेयर बिक्री गर्न सक्ने भएकाले लगानीकर्ताले थप आर्थिक क्षति बेहोर्नुपर्ने जोखिम रहन्छ ।

त्यसैले मार्जिन कारोबार गर्नुअघि ब्याजदर, सेवा शुल्क, प्रारम्भिक मार्जिन, सम्भार मार्जिन र मार्जिन कलसम्बन्धी व्यवस्था बुझ्न आवश्यक हुन्छ । सीमित पूँजीबाट ठूलो कारोबार गर्ने अवसर भए पनि पर्याप्त जोखिम मूल्यांकन नगरी मार्जिन कारोबार गर्नु उपयुक्त हुँदैन ।

 

Ad