
बैंकिङ खबर / नेपालको डिजिटल भुक्तानी प्रणालीमा विदेशी पर्यटकलाई समेत जोड्ने गरी नयाँ सेवा सुरु भएको छ । फोनपेले नबिल बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ नामक डिजिटल भुक्तानी एप सार्वजनिक गरेको छ । यससँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले पनि नेपाली क्यूआर प्रणालीमार्फत दैनिक कारोबार गर्न सक्ने भएका छन् ।
नेपाल नाउ एपमार्फत विदेशी पर्यटकले देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् । यसले होटल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यवसायमा सामान र सेवा खरिद गर्दा डिजिटल माध्यमबाटै रकम तिर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
एप प्रयोग गर्न पर्यटकले वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) का आधारमा दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रिया पूरा भएपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत एपमा रकम लोड गर्न सकिनेछ । त्यसपछि फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि नेपालको क्यूआर भुक्तानी प्रणाली मुख्यतः स्वदेशी बैंक तथा वित्तीय संस्थाका ग्राहकमा केन्द्रित थियो । नेपाल नाउले अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्तालाई समेत नेपालको विद्यमान डिजिटल भुक्तानी सञ्जालमा जोड्नेछ । यसबाट विदेशी पर्यटकले दैनिक कारोबारका लागि नगद बोकेर हिँड्नुपर्ने र पटक-पटक मुद्रा सटही गर्नुपर्ने निर्भरता कम हुने अपेक्षा गरिएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालको डिजिटल भुक्तानी पूर्वाधारलाई अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्ने उद्देश्यले नेपाल नाउ सार्वजनिक गरिएको बताएका छन् । उनका अनुसार यस पहलले पर्यटकको भुक्तानी अनुभव सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा मर्चेन्टलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिने थप अवसर सिर्जना गर्नेछ ।
नेपालमा क्यूआर भुक्तानीको प्रयोग र पहुँच विस्तार भइरहेका बेला विदेशी पर्यटकलाई समेत यस प्रणालीमा जोड्ने पहललाई डिजिटल वित्तीय सेवा र पर्यटन क्षेत्रबीचको सहकार्यका रूपमा हेरिएको छ । यसले पर्यटकको भुक्तानी सहज बनाउनुका साथै स्थानीय व्यवसायमा डिजिटल कारोबारको प्रयोग विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल नाउ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध रहेको छ ।