Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

१५ लाखको बीमा दाबीमा नेपाल लाइफको अडान, बीमितको प्रश्न– ‘बीमा गरेर के फाइदा ?’

२०८३ मंसिर ८ गते

बैंकिङ खबर  /  बीमा दाबी भुक्तानीसम्बन्धी विवादमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सर्वोच्च अदालत पुगेपछि बीमितको असन्तुष्टि थप चुलिएको छ । नेपाल बीमा प्राधिकरण र उच्च अदालत पाटनबाट बीमितकै पक्षमा निर्णय आए पनि दाबी रकम प्राप्त नभएको भन्दै बीमितले प्रश्न उठाएका छन्- बीमा गरेर जोखिमको समयमा नै रकम नपाइने हो भने बीमाको औचित्य के ?

यो विवाद स्याङ्जाका इन्द्रबहादुर रिजालको १५ लाख रुपैयाँको घातक रोग बीमा दाबीसँग सम्बन्धित छ । रिजालले २०७२ असार २२ गते नेपाल लाइफमा जीवन बीमा गरेका थिए । त्यसको पाँच वर्षपछि २०७७ असार ३० गते उनले बीमालेखमा घातक रोगसम्बन्धी सुविधा थप गरेका थिए । २०७८ पुस ३० गते हृदयघात भएपछि उनले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएका थिए । उपचारपछि उनले बीमालेखमा उल्लेखित घातक रोग सुविधाअन्तर्गत १५ लाख रुपैयाँ दाबी गरेका थिए ।

तर, बीमा गर्नुअघि नै स्वास्थ्यसम्बन्धी समस्या रहेको र त्यसबारे पर्याप्त जानकारी नदिइएको आधारमा नेपाल लाइफले उनको दाबी भुक्तानी अस्वीकार गरेको थियो । कम्पनीको निर्णयपछि रिजाल न्यायका लागि नेपाल बीमा प्राधिकरण पुगेका थिए ।

प्राधिकरणले २०८१ पुस ४ गते रिजाललाई घातक रोग बीमाबापत १५ लाख रुपैयाँ भुक्तानी गर्न नेपाल लाइफलाई आदेश दिएको थियो । उक्त निर्णयविरुद्ध कम्पनी उच्च अदालत पाटन पुगे पनि अदालतले २०८२ चैत १० गते प्राधिकरणकै निर्णय सदर गर्दै कम्पनीको पुनरावेदन खारेज गरेको थियो ।

दुई निकायबाट आफ्नो पक्षमा निर्णय आए पनि दाबी रकम प्राप्त नभएको रिजालको गुनासो छ । लामो समयदेखि भुक्तानीका लागि कानुनी प्रक्रिया सामना गर्नुपरेपछि बीमा दाबीको उद्देश्य र कम्पनीको जवाफदेहितामाथि उनले प्रश्न उठाएका छन् ।

उच्च अदालतको निर्णयपछि पनि विवाद टुंगिनुको सट्टा नेपाल लाइफ सर्वोच्च अदालत पुगेको हो । कम्पनीले सार्वजनिक गरेको धारणाअनुसार उक्त विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । कम्पनीले सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णय पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

यस प्रकरणले बीमा दाबी अस्वीकृत भएपछि बीमितले न्याय पाउनुपर्ने प्रक्रियामा लाग्ने समय र खर्चबारे गम्भीर प्रश्न उठाएको छ । बीमा कम्पनीले बीमालेखका सर्त र जोखिम मूल्यांकनका आधारमा दाबीको निर्णय गर्न पाउने भए पनि दाबी अस्वीकृतिको आधार स्पष्ट हुनुपर्छ । त्यस्तै, नियामक निकाय र अदालतबाट भएका निर्णयको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

बीमाको मुख्य उद्देश्य नै जोखिम परेको समयमा बीमितलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो । तर, दाबी भुक्तानीका लागि बीमितले वर्षौँसम्म नियामक निकाय र अदालत धाउनुपर्ने अवस्था आएमा त्यसले बीमा क्षेत्रप्रतिको विश्वास कमजोर बनाउन सक्छ । त्यसैले नेपाल लाइफ र रिजालबीचको यो विवादको अन्तिम निर्णयसँगै बीमा दाबी प्रक्रिया कति पारदर्शी, सहज र बीमितमैत्री छ भन्ने विषय पनि बहसमा आएको छ ।

Ad