Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ७१३ युनिट रक्तदान

२०८३ मंसिर ८ गते

बैंकिङ खबर  / गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ । बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदानसहित विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गरेको हो ।

बैंकले मंसिर ७ गते काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित देशका विभिन्न आठ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

नौ स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमबाट कुल ७१३ युनिट रगत संकलन भएको हो । संकलित रगतले रगतको अभावमा उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान तथा अन्य सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी, बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुखहरूलाई नगद पुरस्कार तथा ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ ।

बैंकले वार्षिकोत्सवकै अवसरमा खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित मंसिर ५ गते काठमाडौंमा ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा एक हजार ४०० भन्दा बढी धावकको सहभागिता रहेको थियो ।

स्वस्थ जीवनशैली प्रवर्द्धन, शारीरिक सक्रियता अभिवृद्धि तथा खेलकुदप्रति सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ । स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले आफ्नो यात्रामा साथ र सहयोग गर्ने सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार क्षेत्र, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवलाई रक्तदान, उत्कृष्ट शाखा सम्मान र खेलकुद प्रतियोगितामार्फत मनाएको छ ।

Ad