
बैंकिङ खबर / बैंकहरूको नाफा बढेको छ। तर खराब कर्जाको समस्या पनि उत्तिकै गम्भीर बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५ प्रतिशतभन्दा बढीले बढेर १९ अर्ब रुपैयाँ नाघेको छ। तर यही अवधिमा बैंकहरूको औसत खराब कर्जा अनुपात पनि बढेको छ। अझ चासोको विषय त के छ भने बैंकहरूले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याउने रकम अर्थात् प्रोभिजनिङ भने उल्लेख्य रूपमा घटाएका छन्।
यसले बैंकहरूको नाफा वृद्धिको वास्तविक आधार के हो भन्ने प्रश्न उठाएको छ। के बैंकहरूको व्यवसाय विस्तार भएर नाफा बढेको हो, कर्जा असुलीमा सुधार आएको हो वा प्रोभिजनिङ घटेकै कारण नाफा बढेको हो?
बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ४५ प्रतिशतले बढेर १९ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले करिब १३ अर्ब रुपैयाँ खुद नाफा कमाएका थिए। यसपटक नाफामा उल्लेख्य सुधार देखिएको छ।
तर बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भने खासै ठूलो वृद्धि भएको छैन। गत वर्ष पहिलो त्रैमासमा करिब ४९ अर्ब १० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षको सोही अवधिमा करिब ४९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अर्थात् खुद ब्याज आम्दानीमा करिब एक प्रतिशतको मात्रै वृद्धि भएको छ।
बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानी करिब स्थिर रहँदा खुद नाफा भने ४५ प्रतिशतभन्दा बढीले बढ्नुले नाफा वृद्धिको अर्को आधार खोज्नुपर्ने देखिन्छ। त्यसको महत्वपूर्ण कारण हो—प्रोभिजनिङमा आएको गिरावट।
बैंकहरूले कर्जा प्रवाह गर्दा सबै ऋणीले समयमै साँवा तथा ब्याज भुक्तानी गर्छन् भन्ने निश्चित हुँदैन। ऋणीले ऋण तिर्न नसक्ने जोखिमलाई ध्यानमा राखेर बैंकहरूले कर्जाको प्रकृतिअनुसार निश्चित रकम छुट्याउनुपर्छ। यसलाई प्रोभिजनिङ अर्थात् कर्जा नोक्सानी व्यवस्था भनिन्छ।
कर्जा असुलीमा समस्या आएमा वा खराब कर्जा बढेमा बैंकले थप प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। यसरी छुट्याइएको रकमले बैंकको नाफा घटाउँछ। तर पहिले छुट्याइएको रकम आवश्यक नपर्ने अवस्था आएमा वा कर्जाको वर्गीकरणमा सुधार भएमा त्यसको केही रकम फिर्ता ल्याउन सकिन्छ। यसलाई प्रोभिजन राइटब्याक भनिन्छ। यस्तो रकम फिर्ता आउँदा बैंकको नाफा बढ्छ।
यसपटक बैंकहरूको प्रोभिजनिङ रकम उल्लेख्य रूपमा घटेको छ। गत वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि करिब २० अर्ब रुपैयाँ छुट्याएका थिए। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम घटेर करिब ११ अर्ब रुपैयाँमा सीमित भएको छ। अर्थात् प्रोभिजनिङमा करिब ४५ प्रतिशतको गिरावट आएको छ।
यसले बैंकहरूको नाफा वृद्धिमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। यसको अर्थ सबै बैंकले खराब कर्जाको जोखिमबाट मुक्ति पाएका छन् भन्ने होइन। केही बैंकमा वास्तविक कर्जा असुलीमा सुधार आएको हुन सक्छ। कतिपयले विगतमा छुट्याएको प्रोभिजन फिर्ता ल्याएका हुन सक्छन्। नियामकीय व्यवस्थाअनुसार कर्जा पुनर्तालिकीकरण वा पुनःसंरचना हुँदा पनि प्रोभिजनिङमा प्रभाव पर्न सक्छ।
निर्माण व्यवसायीले लिएको कर्जाको पुनर्तालिकीकरण तथा पुनःसंरचनाका लागि नेपाल राष्ट्र बैंकले दिएको नीतिगत सुविधाले पनि बैंकहरूको प्रोभिजनिङमा प्रभाव पारेको देखिन्छ। तोकिएका सर्त पूरा गरेर निर्माण क्षेत्रका कर्जाको भाका सार्न वा पुनःसंरचना गर्न सकिने व्यवस्थाले केही कर्जाको वर्गीकरण र त्यसबापत छुट्याउनुपर्ने रकममा परिवर्तन ल्याएको छ।
तर यसबीचमा अर्को महत्वपूर्ण तथ्य पनि छ। बैंकहरूको खराब कर्जा घटेको छैन, समग्रमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात करिब ५ देखि ६ प्रतिशतको हाराहारीमा पुगेको विभिन्न वित्तीय विवरणको विश्लेषणले देखाउँछ। अघिल्लो वर्षको तुलनामा यो बढेको हो।
केही बैंकको खराब कर्जा अझै उच्च छ। प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र हिमालयन बैंकजस्ता बैंकमा खराब कर्जाको अनुपात उच्च देखिएको छ। यसले बैंकिङ क्षेत्रमा कर्जा असुलीको चुनौती अझै कायम रहेको संकेत गर्छ।
त्यसैले अहिले उठाउनुपर्ने मुख्य प्रश्न हो—खराब कर्जा बढिरहेको अवस्थामा बैंकहरूको नाफा कसरी बढ्यो?
यसको जवाफ नाफाको स्रोत र प्रोभिजनिङको अवस्थालाई छुट्टाछुट्टै विश्लेषण गर्दा भेटिन्छ। बैंकको नाफा बढ्नु सधैँ नयाँ कर्जा लगानी बढेको, ब्याज आम्दानी विस्तार भएको वा समग्र व्यवसाय राम्रो भएको प्रमाण हुँदैन। पुरानो कर्जा असुली हुनु, पहिले छुट्याइएको प्रोभिजन फिर्ता आउनु, कर्जाको वर्गीकरणमा सुधार हुनु र नियामकीय सहुलियतले पनि नाफा बढाउन सक्छ।
अर्कोतर्फ, खराब कर्जा बढ्दै जाँदा त्यसको दीर्घकालीन असर बैंकको पूँजी, नगद प्रवाह र कर्जा लगानी क्षमतामा पर्न सक्छ। धितो राखिएको सम्पत्ति लिलाम गरेर पनि ऋण असुल गर्न नसक्ने अवस्था छ भने बैंकको जोखिम अझ जटिल बन्न सक्छ। त्यसैले खराब कर्जाको अनुपात मात्रै हेरेर पुग्दैन। बैंकले कति कर्जा असुल गर्यो, कति कर्जा पुनर्संरचना गर्यो, कति रकम राइटब्याक गर्यो र कति कर्जामा थप प्रोभिजनिङ गर्नुपर्ने अवस्था छ भन्ने विवरण पनि हेर्नुपर्छ।
बैंकहरूको नाफा बढेको भए पनि सबै बैंकको अवस्था समान छैन। नाफा कमाएका सबै बैंकले सेयरधनीलाई लाभांश बाँड्न सक्ने अवस्था पनि हुँदैन। बैंकको वितरणयोग्य नाफा, सञ्चित नाफा, नियामकीय व्यवस्था र अन्य वित्तीय सूचकले लाभांश क्षमतालाई निर्धारण गर्छन्। त्यसैले खुद नाफा बढेको तथ्यांकलाई मात्रै बैंकिङ क्षेत्रको स्वास्थ्य सुधारिएको निष्कर्षका रूपमा लिन मिल्दैन।
वास्तवमा अहिले बैंकिङ क्षेत्रमा दुईवटा विपरीत संकेत एकैपटक देखिएका छन्। एकातिर बैंकहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। अर्कोतिर खराब कर्जा उच्च छ र मुख्य ब्याज आम्दानीको वृद्धिदर कमजोर छ। त्यसमाथि प्रोभिजनिङमा आएको ठूलो गिरावटले नाफा वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ।
यसैले अब बैंकहरूको वित्तीय अवस्था मूल्यांकन गर्दा ‘कति नाफा कमाए?’ भन्ने प्रश्न मात्रै पर्याप्त हुँदैन। ‘त्यो नाफा कहाँबाट आयो?’, ‘कति नाफा नियमित बैंकिङ व्यवसायबाट कमाइयो?’, ‘कति रकम प्रोभिजन राइटब्याकबाट आयो?’ र ‘बढ्दो खराब कर्जाको जोखिम सामना गर्न बैंकसँग पर्याप्त व्यवस्था छ कि छैन?’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्।
बैंकहरूको नाफा बढ्नु सकारात्मक हो। तर खराब कर्जा बढिरहेको र प्रोभिजनिङ घटिरहेको अवस्थामा नाफाको गुणस्तरमाथि प्रश्न उठ्नु स्वाभाविक छ। बैंकिङ क्षेत्रको वास्तविक स्वास्थ्य बुझ्न नाफाको अंकभन्दा त्यसको स्रोत र खराब कर्जाको जोखिमलाई गहिराइमा हेर्नुपर्ने देखिन्छ।