
बैंकिङ खबर / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कात्तिक १९ गते बसेको २३२औँ बैठकले बराललाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका बरालले विभिन्न बैंक तथा बीमा कम्पनीको सञ्चालक समितिमा रहेर काम गरिसकेका छन् । उनले नेपाल बैंक, राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीमा सञ्चालकको जिम्मेवारी सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका बरालले बैंकिङ व्यवस्थापन, कर्जा व्यवस्थापन, जोखिममा आधारित लेखापरीक्षण, सम्पत्ति शुद्धीकरण निवारण तथा वित्तीय संस्थाको अनुपालनसम्बन्धी विभिन्न तालिम र व्यावसायिक कार्यक्रममा सहभागिता जनाएका छन् ।
सार्वजनिक तथा निजी वित्तीय संस्थाको सुशासनसम्बन्धी सन् २०२४ मा अमेरिकाको टेक्सासमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा समेत उनको सहभागिता रहेको थियो ।
बरालको नियुक्तिसँगै संस्थाको सञ्चालक समितिमा बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव थपिएको छ । उनको अनुभवबाट संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र रणनीतिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने संस्थाले अपेक्षा गरेको छ ।