
बैंकिङ खबर / नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब १८ महिनासम्म ब्याज र सेवाशुल्क नतिरी किस्ताबन्दीमा सामान खरिद गर्न पाउने भएका छन् । बैंकले ग्राहकलाई डिजिटल भुक्तानी तथा सहज खरिद सुविधा उपलब्ध गराउने उद्देश्यले फिन्तारा सोलुसन्स प्रालिसँग सहकार्य गर्दै ‘बाइ नाउ पे लेटर’ (Buy Now Pay Later-BNPL) सेवा सुरु गरेको हो ।
बैंकको ९०औँ वार्षिकोत्सवको अवसर पारेर सुरु गरिएको यो सुविधाअन्तर्गत नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सम्बन्धित प्लेटफर्ममा आबद्ध व्यवसाय तथा विक्रेताबाट सामान खरिद गर्दा भुक्तानीलाई अधिकतम १८ महिनासम्म किस्तामा विभाजन गर्न सक्नेछन् । यस सुविधामा ग्राहकले ब्याज तथा अतिरिक्त सेवाशुल्क तिर्नुपर्ने छैन ।
यससम्बन्धी सम्झौतामा २०८३ कार्तिक १६ गते काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
बीएनपीएल अर्थात् ‘अहिले खरिद गर्ने, पछि भुक्तानी गर्ने’ अवधारणामा आधारित यो सेवाले ग्राहकलाई तत्कालै सामान खरिद गरेर त्यसको रकम निश्चित अवधिमा किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा दिन्छ । यसबाट एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता कम हुनुका साथै क्रेडिट कार्डको प्रयोगलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल बैंक लिमिटेड आगामी कार्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएको बैंकले पछिल्लो समय आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार तथा ग्राहक सुविधालाई प्राथमिकता दिँदै आएको छ ।
नयाँ किस्ताबन्दी सुविधाले बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई खरिद र भुक्तानी व्यवस्थापनमा थप विकल्प उपलब्ध गराउने देखिन्छ ।