Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको लाभांश लिन छुट्यो ? सेयरधनीलाई यस्तो आग्रह

२०८३ कार्तिक १९ गते

बैंकिङ खबर / नबिल बैंकले विगतका वर्षमा घोषणा तथा वितरणका लागि पठाएको नगद लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । बैंकले लाभांश भुक्तानी हुन नसकेका सेयरधनीलाई आफ्नो सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

बैंकका अनुसार सेयर अभौतिकीकरण नगरेका, डिम्याट खातामा बैंक खाता विवरण नमिलेका तथा सेयर धितोमा राखेका कारण केही सेयरधनीको लाभांश भुक्तानी हुन सकेको छैन । यस्ता सेयरधनीले आवश्यक विवरण अद्यावधिक गरी बाँकी लाभांश लिन सक्नेछन् ।

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । पारित लाभांशमध्ये १०.८० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । बैंकले उक्त नगद लाभांश असोज २२ गतेदेखि वितरण गर्न सुरु गरेको थियो ।

बैंकले चालु वितरण प्रक्रियामा मात्र नभई यसअघिका वर्षमा वितरणका लागि पठाइएका लाभांशसमेत केही सेयरधनीले नलिएको जनाएको छ । विशेषगरी साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंकका सेयरधनी तथा तिनका हकवालाले पनि बाँकी लाभांश प्राप्त गर्न सेयर रजिस्ट्रार कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीले आफ्नो विवरण तथा आवश्यक कागजातसहित नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गरी भुक्तानी प्रक्रिया अघि बढाउन सक्नेछन् ।

Ad