Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

राष्ट्र बैंकको डिजिटल प्रदर्शनी : आफैँ आयोजक, आफ्नै कर्मचारी सहभागी !

२०८३ कार्तिक १७ गते

 बैंकिङ खबर / डिजिटल वित्तीय सेवाको प्रवद्र्धन, फिन्टेक नवप्रवर्तनको विकास र प्रविधिमा आधारित वित्तीय प्रणालीको विस्तार गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले काठमाडौंमा ‘NRB Fintech Innovation Showcase Event 2026’ आयोजना गर्‍यो । कार्यक्रममा वित्तीय संस्था तथा फिन्टेक कम्पनीका २७ वटा स्टल राखिए । डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा वित्तीय जोखिम व्यवस्थापनसँग सम्बन्धित प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिए ।

कार्यक्रमको उद्देश्य र विषयवस्तु हेर्दा यो नेपालको डिजिटल वित्तीय प्रणालीको विकासका लागि महत्वपूर्ण पहल हो । तर, यति महत्वपूर्ण विषयमा आयोजना गरिएको कार्यक्रमको स्वरूप र लक्षित सहभागितामाथि भने प्रश्न उठाउने ठाउँ देखिन्छ । डिजिटल वित्तीय सेवाको विस्तार अन्ततः आम नागरिकका लागि हो । बैंकिङ सेवा प्रयोग गर्ने ग्राहक, प्रविधि बुझ्न चाहने विद्यार्थी, युवा उद्यमी र डिजिटल कारोबारमा अभ्यस्त हुन खोजिरहेका सर्वसाधारण नै यसका वास्तविक उपभोक्ता हुन् । तर, उनीहरूलाई यस्तो कार्यक्रमको केन्द्रमा राख्न सकिएको देखिँदैन ।

डिजिटल वित्तीय सेवाको वास्तविक सफलता राष्ट्र बैंकका अधिकारीले कति प्रविधि प्रदर्शन गरे भन्नेमा होइन, आम नागरिकले ती प्रविधिबाट कति लाभ लिन सके भन्नेमा निर्भर हुन्छ ।

राष्ट्र बैंक आफैँ आयोजक, राष्ट्र बैंककै उच्च अधिकारी प्रमुख वक्ता र कार्यक्रममा सहभागी अधिकांश प्रतिनिधि बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक तथा फिन्टेक कम्पनीसँग सम्बन्धित हुनु आफैँमा अस्वाभाविक होइन । नियामक निकायले सम्बन्धित संस्थालाई एकै ठाउँमा ल्याएर प्रविधि, नीति र सम्भावनाबारे छलफल गर्नु आवश्यक पनि छ । तर, डिजिटल वित्तीय सेवाको प्रवद्र्धनलाई यतिमै सीमित राख्नु पर्याप्त हुँदैन ।

कार्यक्रममा एक हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको विवरण छ । तर, ती अवलोकनकर्तामध्ये सर्वसाधारण, विद्यार्थी र आम उपभोक्ताको सहभागिता कति थियो भन्ने स्पष्ट विवरण सार्वजनिक भएको छैन । कार्यक्रमको उपलब्ध विवरणमा सार्वजनिक सहभागिताका लागि छुट्टै व्यवस्था, विद्यार्थी लक्षित सत्र वा सर्वसाधारणलाई प्रविधि प्रयोग गरेर सिकाउने कार्यक्रमबारे पनि उल्लेख छैन । यसले कार्यक्रमको पहुँच र वास्तविक लक्षित वर्गबारे प्रश्न उठाएको छ ।

डिजिटल सेवा नागरिकका लागि, तर नागरिक नै केन्द्रमा किन छैनन् ?

आज बैंकिङ क्षेत्र तीव्र रूपमा डिजिटल बन्दै गएको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल वालेट, अनलाइन कर्जा आवेदन तथा अन्य प्रविधिमा आधारित सेवाले वित्तीय कारोबारको स्वरूप परिवर्तन गरिरहेका छन् । बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थालाई प्रविधिले सहज बनाएको छ । तर, डिजिटल सेवाको विस्तारसँगै ग्राहक ठगी, अनधिकृत कारोबार, व्यक्तिगत विवरण चोरी, ओटीपी दुरुपयोग, फिसिङ तथा साइबर अपराधका जोखिम पनि बढिरहेका छन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकले आयोजना गर्ने फिन्टेक प्रदर्शनी केवल बैंक तथा वित्तीय संस्थाका अधिकारीले नयाँ प्रविधि हेर्ने थलो मात्र बन्नु हुँदैन । सर्वसाधारणले पनि आफूले दैनिक प्रयोग गर्ने डिजिटल वित्तीय सेवाबारे प्रत्यक्ष जानकारी पाउने अवसर पाउनुपर्छ । कुन प्रविधि कसरी प्रयोग गर्ने, डिजिटल कारोबार गर्दा के कुरामा सावधानी अपनाउने, अनलाइन ठगीमा परेमा कहाँ उजुरी गर्ने र आफ्नो बैंकिङ विवरण कसरी सुरक्षित राख्ने भन्ने विषयमा व्यावहारिक जानकारी दिन सकिन्छ ।

२७ वटा स्टलमा विभिन्न प्रविधि तथा सेवाहरू प्रदर्शन गरिएको थियो । ती स्टल सर्वसाधारणका लागि पनि खुला गरिएको भए नागरिकले नयाँ प्रविधिबारे प्रत्यक्ष बुझ्ने र प्रयोग गर्ने अवसर पाउन सक्थे । बैंकिङ सेवाका ग्राहकले आफ्ना जिज्ञासा सम्बन्धित संस्थाका प्रतिनिधिसँग राख्न सक्थे । डिजिटल कारोबारमा समस्या भोगिरहेका नागरिकले समाधानका उपाय बुझ्न सक्थे । तर, कार्यक्रमको उपलब्ध विवरणमा यस्तो नागरिक केन्द्रित सहभागिताको पक्ष प्राथमिकतामा परेको देखिँदैन ।

विद्यार्थीलाई जोड्ने अवसर पनि छुट्यो

फिन्टेक आज बैंकिङ क्षेत्रको विषय मात्र होइन, प्रविधि र उद्यमशीलतासँग जोडिएको उदीयमान क्षेत्र पनि हो । यसमा सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, डेटा विश्लेषण, डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणजस्ता अनेक सम्भावना छन् । भविष्यमा यही क्षेत्रमा रोजगारी खोज्ने र नयाँ व्यवसाय सुरु गर्ने युवा तथा विद्यार्थी हुन् ।

राष्ट्र बैंकले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीलाई विशेष रूपमा आमन्त्रण गर्ने, कलेज तथा विश्वविद्यालयसँग सहकार्य गर्ने वा उनीहरूका लागि छुट्टै अवलोकन तथा अन्तरक्रिया सत्र सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्थ्यो । विद्यार्थीले फिन्टेक कम्पनीले विकास गरेका प्रविधि प्रत्यक्ष हेर्न, विज्ञसँग प्रश्न गर्न र आफ्ना नवीन विचार प्रस्तुत गर्न पाउने थिए । यसले नेपालको फिन्टेक इकोसिस्टममा नयाँ पुस्ताको सहभागिता बढाउन मद्दत पुर्‍याउन सक्थ्यो ।

अझ, विद्यार्थीबीच फिन्टेकसम्बन्धी नवप्रवर्तन प्रतियोगिता, डिजिटल वित्तीय सुरक्षा कार्यशाला र नयाँ प्रविधि विकाससम्बन्धी अन्तरक्रिया सञ्चालन गर्न सकिन्थ्यो । यस्ता गतिविधिले कार्यक्रमलाई एकदिने प्रदर्शनीभन्दा माथि उठाएर भविष्यका प्रविधि विकासकर्ता तयार गर्ने अवसरसमेत बनाउन सक्थ्यो ।

नियामकको जिम्मेवारी नीतिमा मात्रै सीमित हुनुहुँदैन

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको नियमन र सुपरिवेक्षण गर्ने जिम्मेवारीसँगै वित्तीय पहुँच, वित्तीय साक्षरता र सुरक्षित डिजिटल भुक्तानी प्रणालीको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । फिन्टेक रणनीति जारी गर्नु, डिजिटल वित्तीय नवप्रवर्तनलाई प्रोत्साहन गर्नु र Regulatory Sandbox तथा NRB Fintech Nexus जस्ता संयन्त्रलाई प्रभावकारी बनाउने प्रयास सकारात्मक छन् ।

तर, नीतिगत रणनीति र कार्यक्रमको वास्तविक उपलब्धि नागरिकको जीवनमा देखिएको परिवर्तनबाट पनि मापन हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधि विकास गरे वा फिन्टेक कम्पनीले नयाँ सेवा सार्वजनिक गरे भन्दैमा आम नागरिकले त्यसको लाभ स्वतः पाउँदैनन् । त्यसका लागि नागरिकलाई प्रविधिबारे जानकारी, प्रयोग गर्ने सीप, सुरक्षित कारोबार गर्ने ज्ञान र सेवाप्रति विश्वास आवश्यक हुन्छ ।

डिजिटल वित्तीय सेवाको प्रवद्र्धन गर्ने कार्यक्रमले प्रविधि विकासकर्ता, नियामक र सेवा प्रदायकलाई मात्रै जोडेर पुग्दैन । सेवा प्रयोग गर्ने नागरिकलाई पनि उत्तिकै महत्व दिनुपर्छ । अन्यथा डिजिटल वित्तीय नवप्रवर्तनको चर्चा संस्थागत तहमा सीमित हुने र यसको वास्तविक लाभ सर्वसाधारणसम्म पुग्ने प्रक्रिया कमजोर रहने जोखिम हुन्छ ।

राष्ट्र बैंकले आगामी दिनमा Fintech Workshop, Hackathons र Innovation Challenges जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यी कार्यक्रमलाई पनि बैंक तथा वित्तीय संस्थाका अधिकारी र प्रविधि कम्पनीबीचको छलफलमा मात्र सीमित नगरी विद्यार्थी, युवा उद्यमी, अनुसन्धानकर्ता र सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न सकिन्छ ।

अन्ततः डिजिटल वित्तीय सेवाको विकास भनेको बैंकका प्रणाली आधुनिक बनाउनु मात्र होइन, नागरिकको वित्तीय जीवन सहज, सुरक्षित र पहुँचयोग्य बनाउनु पनि हो । राष्ट्र बैंकले आयोजना गरेको फिन्टेक प्रदर्शनी प्रविधि प्रवद्र्धनको सकारात्मक प्रयास भए पनि त्यसलाई अझ व्यापक र नागरिक केन्द्रित बनाउन सकिने अवसर थियो । आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा सार्वजनिक प्रवेश, विद्यार्थी सहभागिता, व्यावहारिक प्रशिक्षण र वित्तीय साक्षरताका गतिविधिलाई समेत प्राथमिकतामा राख्नु आवश्यक छ ।

Ad