Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबीआईको नाफा ५५ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ६० करोड

२०८३ कार्तिक १६ गते

बैंकिङ खबर / नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा बढे पनि बैंकको ब्याज आम्दानी भने घटेको छ । कर्जा नोक्सानी व्यवस्थाबापतको खर्चमा आएको कमी तथा शुल्क र ट्रेडिङ कारोबारबाट हुने आम्दानीमा भएको सुधारले नाफा वृद्धिमा साथ दिएको देखिन्छ ।

बैंकको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ५५ करोड २२ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअनुसार बैंकको खुद नाफा एक वर्षमा १०.१० प्रतिशतले बढेको हो ।

तर नाफा बढ्नुको अर्थ बैंकको नियमित आम्दानीका स्रोत पनि विस्तार भएका छन् भन्ने होइन । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको हो । यस अवधिमा कुल ब्याज आम्दानी ७ प्रतिशत र ब्याज खर्च ८.७९ प्रतिशतले घटेको छ ।

बैंकको कुल आम्दानीमा भने सामान्य वृद्धि मात्रै देखिएको छ । समीक्षा अवधिमा कुल आम्दानी ०.१० प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी घटिरहेको अवस्थामा सञ्चालन नाफा भने ९.४६ प्रतिशतले बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने खर्च घटेपछि सञ्चालन नाफामा सुधार आएको हो । यसले चालु त्रैमासको नाफा वृद्धिमा आम्दानी विस्तारभन्दा खर्च व्यवस्थापनको भूमिका बढी रहेको संकेत गर्छ ।

बैंकको शुल्क तथा कमिसन र ट्रेडिङ कारोबारबाट हुने आम्दानीमा पनि सुधार देखिएको छ । यद्यपि, उपलब्ध वित्तीय विवरणमा यी शीर्षकको छुट्टाछुट्टै रकम नखुलेका कारण तिनको योगदानलाई परिमाणमा तुलना गर्न सकिँदैन ।

वितरणयोग्य मुनाफाका हिसाबले भने बैंकको वित्तीय अवस्था सकारात्मक देखिएको छ । असोज मसान्तसम्म बैंकको कुल सञ्चित वितरणयोग्य मुनाफा १ अर्ब ६० करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ५० करोड ९७ लाख रुपैयाँको हाराहारीमा थियो । यसअनुसार कुल सञ्चित वितरणयोग्य रकम ६.२७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै बैंकले ३५ करोड २८ लाख ४६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा थपेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २७ करोड ९५ लाख २७ हजार रुपैयाँ थियो । यसरी चालु त्रैमासको वितरणयोग्य मुनाफा २६.२३ प्रतिशतले बढेको छ । कुल सञ्चित रकममा आर्थिक वर्षको सुरुवातमा रहेको १ अर्ब २५ करोड १६ लाख रुपैयाँ र बिमाङ्कीय नोक्सानीसम्बन्धी १५ करोड ६९ लाख रुपैयाँको सकारात्मक नियामकीय समायोजनसमेत समावेश छ ।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १७ रुपैयाँ ७० पैसाबाट बढेर १९ रुपैयाँ ४९ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप संकलनमा कर्जाको तुलनामा उच्च वृद्धि गरेको छ । गत असार मसान्तको तुलनामा निक्षेप १२.५५ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह ३.०३ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।

कर्जा गुणस्तरमा भने सुधारभन्दा केही दबाब देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.०१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३.१९ प्रतिशत पुगेको छ । अर्कोतर्फ, निष्क्रिय कर्जाको तुलनामा कायम गरिएको कर्जा नोक्सानी व्यवस्थाको अनुपात १३३.३२ प्रतिशतबाट बढेर १३४.४५ प्रतिशत पुगेको छ ।

बैंकको कोषको लागत घटेर ३.६९ प्रतिशतमा आएको छ । अघिल्लो वर्ष यस्तो लागत ४.४२ प्रतिशत थियो । औसत आधारदर पनि ५.९६ प्रतिशतबाट घटेर ५.०८ प्रतिशत कायम भएको छ । तर ब्याजदर अन्तर भने ३.४६ प्रतिशतबाट घटेर ३.०६ प्रतिशतमा सीमित भएको छ ।

११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी पर्याप्तता अनुपात १३.६२ प्रतिशत कायम भएको छ ।

Ad