
बैंकिङ खबर / अर्थ मन्त्रालयले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी सुविधा लिन पाउने अवधि थप गरेको छ। यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको उक्त सुविधाको म्याद अर्थ मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्याइएको हो।
सम्बन्धित कानुनले तोकेको समयभित्र विवरण पेस नगरेका, कम्पनी नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले यो सुविधा प्राप्त गर्नेछन्।
मन्त्रालयको व्यवस्थाअनुसार कारोबार सञ्चालनलाई निरन्तरता दिन चाहने वा कम्पनीको दर्ता खारेज गर्न चाहने दुवै प्रकृतिका कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउनुपर्नेछ। साथै, आवश्यक विवरणसमेत २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ। तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीलाई यसअघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ।
म्याद थपसँगै लामो समयदेखि विवरण नबुझाएका, नवीकरण नगरेका तथा कानुनी दायित्व पूरा नगरेका कम्पनीलाई आफ्नो अवस्था नियमित गर्ने वा दर्ता खारेज गर्ने थप अवसर प्राप्त भएको छ।