Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विश्वकै सानो देश भ्याटिकन सिटीको बैंकिङ प्रणाली कस्तो छ?

२०८३ कार्तिक १३ गते

बैंकिङ खबर/ विश्वकै सबैभन्दा सानो स्वतन्त्र राष्ट्र भ्याटिकन सिटीको बैंकिङ प्रणाली अन्य देशको तुलनामा फरक छ। नेपालमा सर्वसाधारणलाई वित्तीय सेवा दिन दर्जनौँ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। तर भ्याटिकन सिटीमा व्यावसायिक वित्तीय गतिविधिका लागि अधिकृत संस्था एउटा मात्रै छ। त्यसलाई इन्स्टिच्युट फर द वर्क्स अफ रिलिजन (आईओआर) भनिन्छ, जुन ‘भ्याटिकन बैंक’ का नामले परिचित छ।

सन् १९४२ मा स्थापना भएको यो संस्था सामान्य वाणिज्य बैंकजस्तो सबै सर्वसाधारणका लागि खुला छैन। यसले मुख्यतः क्याथोलिक चर्च, धार्मिक संस्था र सम्बन्धित ग्राहकको वित्तीय सम्पत्ति व्यवस्थापन तथा रकम स्थानान्तरणसम्बन्धी सेवा प्रदान गर्छ।

भ्याटिकन बैंकले धार्मिक तथा परोपकारी कार्यका लागि राखिएको सम्पत्तिको व्यवस्थापन गर्नुका साथै अन्तर्राष्ट्रिय भुक्तानी, खाता सञ्चालन र लगानी व्यवस्थापनसम्बन्धी काम गर्दै आएको छ। यसको उद्देश्य चर्चसँग सम्बन्धित संस्थाको वित्तीय आवश्यकतालाई व्यवस्थित गर्नु हो।

एक वर्षमा ५१ मिलियन युरो नाफा

भ्याटिकन बैंकले सार्वजनिक गरेको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार संस्थाले उक्त वर्ष ५१ मिलियन युरो खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको ३२.८ मिलियन युरोको तुलनामा ५५.५ प्रतिशत बढी हो।

प्रतिवेदनअनुसार बैंकले व्यवस्थापन गरेको ग्राहकको कुल सम्पत्ति सन् २०२५ को अन्त्यसम्म ५.९ अर्ब युरो पुगेको थियो। अघिल्लो वर्ष यस्तो सम्पत्ति ५.७ अर्ब युरो थियो। त्यस्तै, बैंकको टियर–१ पुँजी अनुपात ७१.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

बैंकले कमाएको नाफाको केही हिस्सा चर्चका गतिविधि तथा परोपकारी कार्यमा सहयोग पुर्‍याउन प्रयोग गरिन्छ। सन् २०२५ मा पोपलाई २४.३ मिलियन युरो लाभांश वितरण गरिएको थियो।

बैंकको निगरानी गर्ने छुट्टै निकाय

भ्याटिकन सिटीमा बैंकिङ सेवा प्रदान गर्ने संस्था र वित्तीय गतिविधिको निगरानी गर्ने निकाय अलग-अलग छन्। भ्याटिकन बैंकले वित्तीय सेवा प्रदान गर्छ भने सुपरभाइजरी एन्ड फाइनान्सियल इन्फर्मेसन अथोरिटी (एएसआईएफ) ले वित्तीय गतिविधिको निगरानी तथा नियमन गर्छ।

सन् २०१० मा स्थापना भएको एएसआईएफले शंकास्पद कारोबारको पहिचान, सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा वित्तीय अपराध रोकथामसम्बन्धी काम गर्छ। यसले वित्तीय गतिविधिमा पारदर्शिता कायम गर्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निगरानी व्यवस्था प्रभावकारी बनाउन भूमिका खेल्छ।

एएसआईएफको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष संस्थाले ७८ वटा शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको थियो। तीमध्ये १६ वटा प्रतिवेदन न्यायिक निकायमा पठाइएको थियो। साथै, करिब ५ लाख २२ हजार युरो बराबरका तीन कारोबार रोकिएका थिए।

अन्य देशको बैंकिङ प्रणालीभन्दा फरक

भ्याटिकन सिटीमा एउटा मात्रै अधिकृत व्यावसायिक वित्तीय संस्था हुनु यसको बैंकिङ प्रणालीको प्रमुख विशेषता हो। यद्यपि, त्यसको अर्थ त्यहाँ बैंकिङसम्बन्धी अन्य निकाय छैनन् भन्ने होइन। वित्तीय नियमन र निगरानीका लागि छुट्टै संस्था सञ्चालनमा छ।

भ्याटिकन सिटीले युरो प्रयोग गरे पनि त्यहाँको बैंकिङ संरचना नेपालजस्ता देशको भन्दा फरक छ। भ्याटिकन बैंकलाई नेपाल राष्ट्र बैंकजस्तो केन्द्रीय बैंकका रूपमा बुझ्न मिल्दैन। यसले मौद्रिक नीति निर्माण गर्नेभन्दा पनि चर्चसँग सम्बन्धित वित्तीय सम्पत्तिको व्यवस्थापनमा केन्द्रित रहेर काम गर्छ।

विश्वकै सानो स्वतन्त्र राष्ट्रको बैंकिङ प्रणालीले सीमित संस्थामार्फत वित्तीय सेवा सञ्चालन गर्न सकिने देखाएको छ। तर यसको संरचना र कार्यक्षेत्र अन्य देशका वाणिज्य बैंकसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन।

 

Ad